नमूना बन्दै उरहरी स्वास्थ्य चौकी
सुवास डाँगी
तुलसीपुर,२२ साउन । तुलसीपुर उपमहानगरपालिका– ११ स्थीत उरहरी स्वास्थ्य चौकीप्रति स्थानीय सेवाग्राहीको बिश्वास बढ्दै गएको छ । स्वास्थ्य चौकीमा आयोजित वार्षिक समिक्षा तथा भाबी कार्ययोजना निर्माण कार्यक्रममा सेवाग्राही तथा बक्ताहरुले स्वास्थ्यकर्मीहरुले पछिल्लो समय दिइरहेका सेवाको खुलेरै प्रशंसा गरेका हुन् ।
वडा अध्यक्ष तथा स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज चित्र वलीले तुलनात्मक रुपमा सेवाग्राहीको चाप बढीरहेको जानकारी दिएका हुन । उनका अनुसार पछिल्लो २ बर्षको तथ्यांकलाई तुलना गर्दा स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राहीहरुको संख्या करिव दोब्बर बढेको बताए ।
आर्थिक बर्ष २०७४÷७५ मा सेवा क्षेत्रको कुल जनसंख्याको ४१ प्रतिशत अर्थात ६४०२ बिरामीले उपचार सेवा लिए भने आर्थिक बर्ष २०७५÷७६ मा ६५ प्रतिशत अर्थात् ६४८७ बिरामीले सेवा लिएका छन् । त्यस्तै पछिल्लो आर्थिक बर्ष २०७६÷७७ मा ७१ प्रतिशत अर्थात् ७०६७ जना बिरामीले उपचार सेवा लिएका हुन । त्यसैगरी महिलाहरुले खोप तथा सुत्केरी सेवा समेत लिएको स्वास्थ्य चौकी प्रमुख वलीले बताए ।
स्थानीय सरोकारवालासंगको सहकार्यसँगै जनचेतनामूलक कार्यक्रमलाई बढाएपछि तुलनात्मक रुपमा सेवाग्राही बढेको उनले बताए । स्वास्थ्यचौकीका एचएहरु यज्ञ केसी, शेरबहादुर बिसीलगायतले ल्याबलगायतका सेवाहरु थप गरिएको र सेवाग्राहीहरुलाई सन्तोष पार्न ब्यबहारदेखि अन्य कार्ययोजना निर्माण गरि सक्रियता बढाएको बताए ।
कार्यक्रममा महिला अधिकारकर्मी सुष्मा गिरी, कांग्रेसका प्रतिनिधि अर्जुन बहादुर केसी, नेकपाका प्रतिनिधी डिल्ली बस्नेत, राप्रपाका लिलाधर बस्नेत, समाजसेवी तिलकबहादुर बस्नेत, प्रहरी चौकी जसपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक कृष्ण पुजारा, वडा सदस्यहरु सुबास डाँगी, निर्मा चौधरी, अमर मावि उरहरीका प्रतिनिधि पदम वली, आधारभुत विद्यालय कटाहाका प्रअ टंक भण्डारी, टोल बिकास समितिका प्रतिनिधिहरु बिरबहादुर बस्नेत, महेन्द्रकुमार सेन, सेतु जैशी, बिन्दु चौधरी,उर्मिला आचार्यलगायतले आम सर्बसाधारनको मन जित्न सफल भएको बताएका थिए ।
उरहरी स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकीको रुपमा स्थापित गर्न स्वास्थ्यकर्मी टोलीलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्यचौकीका एचए यज्ञ केसीले गरेका थिए ।
भेलाका सहभागीले द्रुत प्रतिकार्य समूहलाई सक्रिय बनाई सम्भावित बिपत्तिको सामना गर्न तयारी गर्ने, कोभिड १९ बाट बच्न थप सचेतना तथा सतर्कता अपनाउने तथा केहि अपराधिक मनोवृत्तिका ब्यक्तिहरुले केहि दिन अघि स्वास्थ्यकर्मीमाथि गरेको व्यबहारप्रति आपत्ती जनाउदै स्वास्थ्यकर्मीलाइ सुरक्षाको कुनै कमी हुन नदिने गरि स्थानीयबासीहरुले सहयोग गर्ने निर्णय गरेको बैठक पछि स्वास्थ्य चौकी इन्चार्ज चित्र वलीले जानकारी दिएका थिए ।
