सन्दर्भ विश्व स्तनपान दिवस : महत्व नबुझ्दा स्तनपान गराउने संख्यामा कमी

  •   
  •  

बालाराम खड्का

तुलसीपुर, १९ साउन । यस बर्ष पनि साउन १७ गतेदेखि स्तनपान सप्ताह शुरु भएको छ । विभिन्न सरोकार निकायहरुले जिल्लामा औपचारिक तथा अनौपचारिकरुपले स्तनपान सप्ताह मनाउने गरेका छन् ।

स्तनपानको महत्व नबुझ्दा तथा महिलाहरूको कामकाजी तथा अन्य कारणले पनि पर्याप्त मात्रामा शिशुलाई स्तनपान गराउनेहरुको संख्या भने घट्दै गएको छ । ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइरहेको बेला शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने चेतनासमेत सबैमा नभएको पाएको छ ।
स्तनपान गराउनुपर्छ भनेर दिइने परामर्शको अभाव तथा बजारमा पाइने विभिन्न प्रकारको खाद्यपदार्थ कारणले कमी भएको चिकित्सकहरु बताउँछन् । स्तनपान गराउने दुई किसिमको हुने र पहिलो जन्मेको एक घण्टाभित्र तथा दोस्रो ६ महिनासम्म खुवाउनुपर्ने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओपी न्यौपानेले बताए । उनका अनुसार नेपालमा करिब ९८ प्रतिशत महिलाहरुले शुरुमा स्तनपान गराउने गरे पनि विस्तारै त्यसको संख्या भने घट्दै गएको देखिएको बताए । उनले करिब ६६ प्रतिशत आमाहरुले मात्र शिशुलाई ६ महिनासम्म स्तनपान गराउने गरेको बताए । ‘शुरुमा सबै आमाहरुले शिशुलाई स्तनपान गराउनुहुन्छ तर विस्तारै आमाहरू शिक्षित भए पनि विभिन्न कारणले त्यसको दर भने घटेको छ’, उनले भने । श्रममा जानुपर्ने तथा केही महिलाहरु जागिरे भएका कारणले पनि स्तनपान गराउने आमाहरुको संख्यामा कमी आएको उनले बताए । ‘नगर तथा जिल्लामा पनि यस्तै अवस्था छ’, उनले भने ।
उनले हाल धेरै जसो महिलाहरुले शिशुलाई अस्पतालमै जन्म दिने भएकाले अस्पतालमा रहेका चिकित्सकहरुले जन्मेको एक घण्टामै स्तनपान गराउने गरेको बताए । ‘स्तनपान गराउन तरिका र फाइदाबारे अस्पतालका नर्स वा डाक्टरले नै सिकाउनुहुन्छ तर घरमा पुगेपछि विस्तारै त्यसको संख्या भने अन्य कारणले घट्ने गर्दछ । शिशु तथा सुत्केरी आमाको मृत्युदर घटाउनका लागि स्तनपान सप्ताह विश्वभर तथा नेपालमा पनि शुरु गरेको भन्दै न्यौपानेले कामकाजीको बहानामा शिशुलाई स्तनपान नगराउनु गलत भएको बताए । त्यसको लागि सप्ताह शुरु भएसँगै तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सुहारा कार्यक्रममार्फत घर-घरमा पुगेर सही ढंगले एक हजार दिनका आमाहरुलाई स्तनपान तथा अन्य स्वास्थ्य शिक्षाहरु दिने गरेको उनको भनाइ छ । ‘हामीले महिला स्वयंसेवक तथा स्वास्थ्यकर्मीमार्फत विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेका छौं’, उनले भने ।
६ महिनासम्म शिशुलाई आमाकै दूध खुवाउनुपर्ने र ६ महिनापछि भने अन्य पौष्टिक खाना पनि खुवाउन मिल्ने उनको भनाइ छ । स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपनालगायत रोगबाट बचाउने भएकाले पनि स्तनपानको महत्व धेरै भएको बताइएको छ । आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनियाजस्ता घातक संक्रमणबाट बच्न सकिने कारण पनि दुई वर्षसम्म अनिवार्य स्तनपान गराउनुपर्ने चिकित्सकको सुझाव छ ।
स्तनपान गराउने महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप-२ र सुत्केरीपछि मनोरोगको सम्भावना कम हुने प्रमुख न्यौपानेको भनाइ छ । स्तनपान गराउन सहजीकरणको लागि महिला कार्यरत भएको निजी तथा सरकारी कार्यलयमा स्तनपान कक्षको समेत स्थापना गरिएको छ । यसको सही सदुपयोग भने भएको देखिएको छैन । नेपाललगायत विश्वका १ सय ७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।