दाङमा आइसियु सेवा : उद्घाटन त भयो, बिरामी राख्न सकिएन

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, २० साउन । घोराहीका एक विरामी भीमबहादुर खड्का चितवन मेडिकल कलेजको आइसियूमा भर्ना भएका छन् । उनको नियमित उपचारबाहेक आइसियु र भेन्टिलेटर सेवाका लागि मात्रै १५ हजारभन्दा बढी खर्च भइरहेको छ । एउटा निम्नवर्गीय मजदुर परिवारका उनका अभिभावकले उपचार त्यहाँ महंगो हुँदै गएपछि जिल्लामै उपचार हुन्छ कि भनेर सोधखोजमा लागे ।

झ्वाट्ट सम्झे लकडाउनकैबीच मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियु सेवा । मेडिकल कलेजले पनि आफ्नै जिल्लामा रहेको आइसियुमा राखेर उपचार गर्न सुझाव दियो र प्रतिष्ठानमा समेत फोन गरिदिए । तर अस्पताल प्रशासनले आइसियु सेवा ‘फुल्ली रन’ नभइसकेको जनाएपछि उनी महंगोमै चितवनको निजी अस्पतालमा आइसियु सेवा लिन बाध्य छन् । उनले प्रतिष्ठानको आइसियु मेसिन सम्झँदै दैनिक ५० हजारजति खर्च गरेर चितवनको निजी अस्पतालमा बिरामीलाई आइसियुमा उपचार गराइरहेका छन् ।

त्यसो त मुख्यमन्त्रीले आज बुधवार गढवामा सर्पदंश केन्द्रको उद्घाटन, नर्तीमा खानेपानी आयोजना उद्घाटन, घरेलु कार्यालयको भवन, सर्वोदय पुस्तकालयको भवनसमेत एकै दिन ५ वटा सेवा उद्घाटन गर्नेछन् । त्यसैगरी जिल्ला सभा पनि मुख्यमन्त्रीले नै उद्घाटन गर्नेछन् ।

मुख्यमन्त्रीले प्रतिष्ठानमा आइसियु सेवाको उद्घाटन त गरे, तर मेसिनमात्रैको । न त्यहाँ आइसियु सेवा प्रवाह गर्ने जनशक्तिका लागि पहल भयो, नत थप उपकरणका लागि नै । त्यसैले प्रतिष्ठानमा जडान भएका आइसियु मेसिन हात्तीको देखाउने दाँतजस्तै छ । बिरामीको सेवाका लागि भने उपलव्ध छैन । किनकि यहाँ दुर्घटनाका बिरामी होऊन् वा गम्भीर प्रकृतिका अन्य बिरामीहरु हेलिकोप्टर चार्टर गरेर समेत आइसियु सेवा लिन राजधानी काठमाडौ जान बाध्य छन् । पछिल्लो एक बर्षमै दाङबाट कम्तीमा ५ जना हेलिकोप्टर चार्टर गरेर उपचारका लागि बाहिर जानुपर्ने अवस्था देखिएको छ ।

जनप्रतिनिधि, दलका नेता तथा अन्य धनपैसा भएका व्यापारीहरु पनि यहाँ आइसियु सेवा उपलव्ध नहुँदा उपचारका लागि राजधानी जान बाध्य हुने गरेका छन् । एकपटक हेलिकोप्टर चार्टर गरी काठमाडौ जानका लागि कम्तीमा ४ लाख रुपैयाँसम्म भुक्तानी गर्न तयार हुन्छन्, तर यहाँकै अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि कुनै पहल गरेको पाइँदैन । पछिल्लो समयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियु सेवा उद्घाटन भएको भनिए पनि अहिलेसम्म त्यो सेवा यहाँका बिरामीले पाउन सकेका छैनन् ।

‘आइसियु सेवाका लागि पर्याप्त जनशक्ति नै छैन, त्यसैले हामीले आइसियु सेवालाई फुल्ली रन गर्न सकिरहेका छैनौं, सरकारी दरबन्दीका विशेषज्ञ चिकित्सक पनि मन्त्रालयले धमाधम सरुवा गरी अन्तै पठाउन थालेको छ’, प्रतिष्ठानका निर्देशक डा. सागर पन्थीले भने । यहाँका बिरामीको चितवन आइसियुमा उपचार भइरहेको आफूले जानकारी पाए पनि अस्पतालमा आइसियु सेवा दिने पूरै जनशक्ति नभएकाले यहाँ ल्याउन नसकिएको स्वीकार गरे ।

करोडभन्दा बढी खर्च गरेर मोनीटर, भेन्टिलेटर, बेडलगायत सबै पूर्वाधार तयार गरिए पनि समग्रमा यो र त्यो बहानामा यहाँका सघन उपचार पाउनुपर्ने बिरामीहरुले सेवा पाउन सकेको अवस्था छैन । अस्पतालका निर्देशक पन्थी भन्छन्- ‘अपर्झट शल्यक्रियाका क्रममा आइपर्ने जटिल समस्याका लागि मात्र आइसियु र भेन्टिलेटर प्रयोग गर्ने गरेका छौं, तर सबै बिरामीका लागि होइन ।’ त्यसै कारणले यही आउन चाहेका चितवन अस्पतालमा आइसियुमा रहेका बिरामीलाई पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वीकार गरेन ।

त्यसो त प्रतिष्ठानले भन्दा पहिले तुलसीपुर प्रादेशिक अस्पतालले आइसियु सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिद गरिसकेको थियो । तर बर्षौसम्म पनि त्यहाँ जडान भएका आइसियु उपकरण पनि बिरामीका लागि उपयोगी बन्न सकेनन् । उपकरण जडान भए पनि सरकारले आवश्यक दरबन्दी नदिएको भन्दै अस्पताल प्रशासनले आइसियु सेवा सञ्चालन गर्न सकेन ।

अन्ततः आइसियु मेसिनमा खिया लाग्न थालेपछि ती उपकरणहरु बेलझुण्डीको कोरोना अस्पतालमा सारियो । यद्यपि कोरोना अस्पतालमा समेत बिरामीका लागि आइसियु सेवा उपलव्ध छैन । केही महिनाअघि बबई गाउँपालिकाका एकजना कोरोना संक्रमितलाई डेंगुसमेत देखिएसँगै सघन उपचारको आवश्यकता परेपछि कोरोना विशेष अस्पताल प्रशासनले ती बिरामीलाइ सोझै बुटवल पठाएको थियो । किनकि आइसियु सेवा सञ्चालन गर्ने जनशक्ति कोरोना विशेष अस्पतालमा पनि थिएन ।

विशेषज्ञ चिकित्सक र दक्ष स्वास्थ्यकर्मी नभएकै कारण कोरोना विशेष अस्पतालमा जडान भएका भेन्टिलेटर मेसिनसमेत उपयोग हुन सकेनन् । आवश्यकता परेको समयमा विरामीका लागि ती सेवा नै उपलव्ध हुन सक्दैनन् भने अनावश्यकरुपमा सामान जडान गरेर खिया लगाउनुको कुनै अर्थ नभएको नागरिकहरुको बुझाइ छ ।

त्यस्तै निजी अस्पतालमा पनि आइसियु सेवा छैन । जिल्लामा विभिन्न अस्पतालहरु सञ्चालनमा छन् । कुनै पनि अस्पतालमा सो सेवा नभएको निजी अस्पताल छाता संगठनका केन्द्रीय उपाध्यक्ष हरि रिजालले बताए । उनले दाङ जिल्ला स्वास्थ्यमा अझै पनि ५० बर्ष पछाडि रहेको बताए । उनले राज्यको प्रष्ट स्वास्थ्य नीति नहुँदा समस्या भएको बताए ।

‘स्वास्थ्यको विकास भाषणमा मात्र भएको छ, तर यथार्तमा हामी कहाँ छौं सोचनीय विषय छ’, उनले । उनले देशभर करिब एक हजारको हाराहारीमा भेन्टिलेटरसहितको सेवा भएको बताए । त्यसमा आधा निजी र आधा सरकारीमा रहेको छ । रिजालले निजी क्षेत्रलाई काम गर्ने वातारण नभएकाले पनि यो समस्या आएको बताए ।