फेरि लकडाउनमा फर्कनैपर्छ : बिज्ञहरू

  •   
  •  

गोरक्ष समाचारदाता
काठमाडौं, २० साउन । कोरोना संक्रमणका सम्बन्धमा अब कसरी अगाडि बढ्ने भन्नेमा बिज्ञहरूले लकडाउनको मोडेलमा फर्कन सरकारलाई सुझाव दिएका छन् । यस्तो सुझावसँगै उनीहरूले लकडाउन मोडेलका लागि विभिन्न बिकल्पहरूसमेत सुझाएका छन् ।

उनीहरूले लकडाउन फिर्ता लिँदा सरकारले पर्याप्त तयारी नगरेको भन्दै त्यो निणर्यको आलोचनासमेत गरेका छन् । ‘अब फेरि लकडाउनको मोडेलमा जानुको विकल्प नभएको कुरामा प्रायः सबैको एकमत थियो’, छलफलमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए ।

विज्ञहरूले लकडाउनको मोडालिटी अपनाउन, आंशिक लकडाउन गर्न र कतिपय स्थान बिशेषमा लकडाउनले पनि नपुग्ने भएका कारण कर्फ्यु नै लगाउनपर्ने सुझाएका थिए । कोभिड-१९ नियन्त्रणको प्रयासलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य क्षेत्रका विभिन्न विषयविज्ञहरूलाई मंगलबार बालुवाटारमा बोलाएका थिए ।

बिज्ञहरूले परीक्षणको दायरा जतिसक्दो फराकिलो बनाउन, बाहिरको हकमा जहाँ संक्रमण देखिन्छ, त्यहाँ शील गर्न, काठमाडौंको हकमा उपत्यका छिर्ने नाकामा हेल्थ डेस्क राख्न पनि सरकारलाई सुझाएका थिए ।

बीरगञ्ज, काठमाडौंलगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन् । छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी थिए ।

संकटमा साथ चाहिन्छ, बिरोध नगरौ : प्रधानमन्त्री
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् । सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने भन्दै उनले आ-आफ्नो स्थानबाट सघाउन सबैमा अपिल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आफैले आह्वान गरेको विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा उनले भने- ‘कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ ।’ कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध भएकोमा रोष प्रकट गर्दै उनले भने- ‘यो महामारी सबैको चुनौती हो, जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन ।’