समीक्षा गर, बिज्ञको परामर्श लेऊ : कांग्रेस

  •   
  •  

दाङ, २० साउन । नेपाली कांग्रेसले कोभिड-१९ नियन्त्रणका सम्बन्धमा हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै परिस्थितिअनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसँग परामर्श गर्ने क्रमलाई नियमितता दिन सरकारलाई सुझाव दिएको छ । त्यसरी प्राप्त सुझावका आधारमा निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता देखाउन पनि आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठममा कांग्रेस सभापति शेरबहादुर देउवाले यस्तो आग्रह गरेका हुन् । त्यसक्रममा उनले स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको ढाकछोप नगरी छानबिन गर्दै दोषीलाई कारबाही गर्न समेत माग गरे ।

आरडीटी परीक्षण स्थायी रुपले अन्त्य गर्नुपर्ने भन्दै देउवाले सम्पूणर्रुपले पिसिआर परीक्षण गर्दै एक प्रदेशमा १ लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरी आवश्यक बन्दोबस्त गर्नुपर्ने सुझाव समेत त्यसबखत सरकारलाई दिए । ‘स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध, अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध, मापदण्डअनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन अहिले सरकारको प्राथमिकताका बिषय हुन्’, देउवाको भनाइ थियो ।

उनले विदेशमा अप्ठ््यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टाइन र परीक्षणपश्चात् घर पुर्‍याउने व्यवस्था गर्न पनि सरकारलाई आग्रह गरे । ‘नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सीमानाको आवागमनमा सम्पूणर् कडाइ र सीमा नाका शील गर्नुपर्ने देखिन्छ’, देउवाले भनेका छन्- ‘सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आम सञ्चारका माध्यमको व्यापक प्रयोग गर्न जरुरी छ ।’
विभिन्न दल, संघसंस्था र आम सञ्चार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गर्न पनि देउवाले प्रधानमन्त्री ओलीलाई सुझाएका छन् । त्यसैगरी उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गर्न पनि उनको सुझाव छ । देउवाले बर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गर्न पनि सरकारलाई आग्रह गरेका छन् । त्यसैगरी उनले विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।