दाङमा २४ संक्रमित आइसोलेसनमा

  •   
  •  

लिलाधर वली
दाङ, १९ साउन । दाङमा कोरोना संक्रमित ६ सय ५३ जनामध्ये २४ जना उपचाररत रहेका छन् । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार उनीहरुमध्ये कोरोना विशेष अस्पताल बेलझुण्डीमा ८ जना र देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टरमा १६ जना संक्रमितहरुको उपचार भइरहेको छ । जिल्लामा कोरोना परीक्षण हुन छोडेपछि कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ ।

जिल्लामा हालसम्म ६ सय २६ जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् भने तीनजनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ । उनीहरु पनि उपचारपछि घरफर्किसकेका छन् ।

१ सय ५१ जना क्वारेन्टाइनमा
दाङमा क्वारेन्टाइनमा अब १ सय ५१ जना रहेका छन् । जसमध्ये सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा ४९ जना, राजपुर गाउँपालिकामा ३१ जना, लमही नगरपालिकामा १७ जना, बबई गाउँपालिकामा २८ जना, राप्ती गाउँपालिकामा १० जना, शान्तिनगर गाउँपालिकामा ९ जना र दंगीशरण गाउँपालिकामा ७ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अजेन्द्र केसीले जानकारी दिएका छन् । उनीहरुमध्ये १ सय ३५ जना पुरुष र १६ जना महिलाहरु रहेका छन् । जिल्लामा दशवटा गाउँपालिकाहरुमध्ये ८ वटा पालिकाहरुले जिल्ला बाहिर तथा अर्काे देशबाट घर फर्किनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरे पनि घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाले होम क्वारेन्टाइनमा बस्ने गरी घर जान दिने गरेका छन् । जसका कारण घोराही र बंगलचुलीमा क्वारेन्टाइनहरु खाली रहेका छन् ।

१ सय ८१ जनाको स्वाव संकलन
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लाका ७ वटा पालिकाहरुबाट १ सय १ जनाको स्वाव संकलन गरिएको छ । कोरोनाको संक्रमण समुदायस्तरमा सरे–नसरेको पहिचान गर्नका लागि देउखुरी उपत्यकाका लमही नगरपालिकाबाट ५० जना, राप्ती गाउँपालिकाबाट २२ जना, गढवा गाउँपालिकाबाट ४० जना र राप्ती गाउँपालिकाबाट २९ जनाको स्वाव संकलन गरिएको केन्द्रका केसीले जानकारी दिएका छन् । त्यसैगरी बबई गाउँपालिकाबाट २ जना, दंगीशरण र शान्तिनगर गाउँपालिकाबाट ७ जनाको स्वाव संकलन गरेर परीक्षणको लागि बुटवल तथा नेपालगञ्ज पठाइएको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको नयाँबजार सहरी स्वास्थ्य केन्द्रबाट संकलन गरिएको ५१ जनाको स्वाव परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य केन्द्रले जनाएको छ ।

थप ४१८ जनामा संक्रमण
यसैबीच पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । उनीहरुमध्य ५७ जनाको मृत्यु भएको छ भने १४ हजार ९ सय १६ जना निको भएका घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार सबैभन्दा धेरै पर्सामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका ६७ जना, सप्तरीका ५१, मोरङका ४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६ तथा बाँके र कास्कीका ८–८ जनामा संक्रमण पुष्टि भएको छ ।

भक्तपुर, झापा र सुनसरीमा ५÷५ जना, बारा र अछाममा ४÷४ जना, ललितपुरना ३, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २÷२ जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका शील
यसैबीच बाँकेमा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय शील गरिएको छ । सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्णरुपमा शील गरिएको प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिएका छन् । सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।

घोराहीमा सबैको नेगेटिभ, अन्तको आउन बाँकी
प्रदेश सरकारको अगुवाईमा समुदायस्तरमै हुन थालेको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिकाको रिपोर्ट आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन कमल चन्दका अनुसार घोराही उपमहानगरपालिकाभित्रका विभिन्न समुदाय गरी कम्तीमा ८० जनाको नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय पालिकासँगको सहकार्यमा घोराही उपमहानगरपालिकाका बढी भीडभाड हुने स्थानका सर्वसाधारण, बैंक तथा वित्तीय संस्था, सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी समेतको स्याम्प्लिङ गरी नमुना संकलन गरेको थियो । समयदायमा पिसिआर परीक्षणको कार्यक्रमअन्तर्गत गढवा गाउँपालिकाको कोइलाबासमा रहेका जोखिमयुक्त सम्भावित नागरिकहरुको स्वाव परीक्षण गरिसकिएको छ । त्यहाँ एक घरका एक व्यक्तिको स्याम्पल संकलन गरेर ४० जनाको नमुना पठाएको छ । एक दुई दिनभित्र परीक्षणको नतिजा आउने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी राप्ती गाउँपालिकामा पनि भीडभाड हुने निजी मेडिकलहरु, स्वास्थ्य संस्था तथा भीडभाड हुने स्थानमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन भइसकेको बताइएको छ । त्यसको पनि नतिजा आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।

पहिलो चरणमा २ सय जनाको स्वाव समुदायस्तरबाटै संकलन गरी परीक्षण गर्ने प्रदेश सरकारको नीतिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले स्वाब संकलन थालेको हो । संकलित स्वाबलाई बुटवल र नेपालमा रहेका प्रदेशस्तरीय प्रयोगशालामा परीक्षणका लागि पठाइने गरेको छ । यसै क्रममा आउँदो २१ गते तुलसीपुर उपमहानगरपालिकामा पनि समुदायस्तरको स्वाब संकलनको तयारी भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका–१३ फुलवारीमा बस्ने कम्तीमा ५० जनाको नमुना संकलनको तयारी भएको छ । यसका लागि स्थानीय पालिकासँगको सहकार्यमा स्वाव संकलनको काम हुने बताइएको छ । यी तीनै पालिकामा भएको पिसिआर परीक्षणपछि मात्र समुदायस्तरमा कोरोना फैलिएको/नफैलिएको विषयमा भन्न सकिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।