दाङ, १९ साउन । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज (मंगलवार) विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । नेवार समुदायमा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन रहेको छ ।
यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्युभएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्र शोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।
त्यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमान ढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाइन्छन् ।