गाईजात्राबारे हाँस्य कलाकार भन्छन् : जसलाई व्यङ्ग्य गर्यो, हाँसेर पचाइदिन्छन्

कमल गाउँले

आज गाइजात्रा, भो नलेखौं, यहाँ त अचेल गाईजात्रा नभएको दिनै छैन । कहिले मलाई लाग्छ, सधै गाईजात्रे प्रहसन दिउँ, तर यो भनिरहँदा नेवार समुदायको सांस्कृतिक रीतिरिवाजको पनि ख्याल गर्नुपर्दछ । संस्कृतिमा हुने गाईजात्रा, राजनीतिमा हुने गाईजात्रा र कमल गाउँलेहरूको अचेल युट्युवमा आउने हाँस्य कलाकारितालाई फरक–फरक रुपमा हेरिदिनुहुने छ ।

विश्वव्यापी कोरोनाको संक्रमणको समस्या थियो । म पनि आफ्नै घर दाङमा थिएँ । सायद युट्युवमा आउने रहर पनि थिएन् तैपनि कमल गाउँले कता हरायो भन्ने दर्शकहरुको मागलाई पनि त भुल्नुभएन । त्यसैले यो मेरो गाईजात्राको बीसौं खुराक हो । यही खुराक लिएर दाङ जिल्लाकै सेरोफेरोमा गाईजात्रे रेकर्ड गराएँ, एकदमै कोरोनाबाट जोगिएर । म मात्र जोगिने होइन्, तपाई आम दर्शकहरु पनि कोरोनाको संक्रमणबाट जोगिनुहोला ।

तर यहाँ त गाईको राज होइन, साँढेहरुको राज छ । गौमुत्र भेटिन मुस्किल छ । बजारमा पञ्चामृत पाउनै मुस्किल छ, तर लोकल सेनिटाइजरले युवाहरुलाई सखाप पार्न थालेको छ । खाने अचेल लोकल झोललाई लोकल सेनिटाइजर भन्दा रहेछन्, किनकि सेनिटाइजरको नामै नसुनेका नेपालीहरुले सेनिटाइजर कण्ठ गरेका छन् । मात्रै साँढेहरुको राजलाई सेनिटाइजरले पनि छुन सकेन् ।

हामी कलाकारहरुले गाईजात्रे क्यासेट निकाल्नुको अर्थ थियो, हाँस्य व्यङ्ग्यका माध्यमबाट विकृति र विसंगतिसँग भावनात्मक लडाइँ लड्नु थियो । तर हामीले भावनात्मक लडाइँमा ती साँढेहरुलाई सच्याउन सकेनौं । जे देखाए पनि फ्यास्स हाँस्ने गर्छन्, उनीहरु । हो गाईजात्रे प्रहसनले उनीहरु भावुक बन्नुपथ्र्यो, उनीहरु रुन पनि तयार हुनुपथ्र्यो, किनकि गाईजात्रे एउटा सत्य कथा पनि हो, तर पाठकहरु जसरी हाँसिरहनुभएको छ, तर जसलाई भनिएको हो उहाँहरु पनि दर्शकजस्तै हाँसेर पचाइदिने गर्नुभएको छ ।

सरकारी जागिर भएको भए त कमल गाउँलेको गाईजात्रे पेन्सन हुनुपथ्र्यो, किनकि मैले एक बर्ष पनि नबिराई कुनै न कुनै खुराक दिइरहेको छ । वि.सं. २०५७ सालमा एउटा अडियो क्यासेट निकालेर दर्शकलाई हसाउने मेरो अभियान भिडिओ क्यासेट हुँदै अहिले युट्युवमा पुगेको छ । लकडाउनमा पनि मैले भर्चुअल डिस्टेन्स राखेर तुलसीपुर बजार, ग्वारखोला, बिजौरी, बेलझुण्डी र आफ्नै गाउँ ठाउँ फुर्सेखाली र गिठेपानीलाई पनि सम्बोधन गरेर गाईजात्रे एल्बम निकालेको छु । किनकि कलाकारितामा पेन्सन हुँंदो रहेनछ ।

हो मलाई लाग्छ, सरकारै गाईजात्रा हो, आफू जतिसुकै बहुमतको भए पनि चल्ने चलाउने साँढेहरु कहाँ छन् कहाँ ?, कोही देखिन्छन्, कोहीले नदेखिएरै भूमिका निर्वाह गर्छन रे । गाईजात्राले भ्रष्टाचार निमिट्यान्न पार्न सकेको छैन, चाकडीबाजलाई पनि अर्थपूर्णरुपमा तिरस्कार गर्न सकेन, अनि समृद्ध नेपाल बनाउनेहरुलाई अर्थपूर्णरुपमा सहयोग गर्न पनि सकेन्, सायद । त्यसैले यहाँ त सधै गाईजात्राजस्तै छ । तैपनि हामी कलाकारले पनि गाईजात्राको सधै रेकर्डिङ त गर्नु भएन नि, त्यसैले यसपालिको गाईजात्रे खुराक दाङकै सेरोफेरोमा रेकर्डिङ भएरै पनि कोरोनाको जोखिम न्यूनीकरणलाई सहयोग पु¥याउने छ भन्ने अपेक्षामा आधारित छ । समृद्धिका पाइलाहरुलाई अघि बढाउने छ भन्ने कमल गाउँलेको यो दुई दशकको यात्रालाई दर्शकहरुले मन पराउनुहुने छ ।

हो मलाई थाहा छ, कलाकारिताको बिसौनी हुँदैन, दुई दशक हिंड्दा पनि मैले मेरो जोश र जाँगरलाई कत्ति पनि अल्छी मानेको छैन । म कमल गाउँले त्यसै भएर यसपालिको गाईजात्राका कारण देशभरि गएर सुटिङ गर्न सकिनँ । भावनाको यो लडाइँमा मैले तपाई दर्शकहरुको सधै साथ र सहयोगको अपेक्षा गर्दछु, यो पालिका गाईजात्राका कोशेलीहरू युट्युवमा खोल्दा कोरोना भाइरसको संक्रमणको भय हुँदैन, घरमै बसेर खोल्नुहोला । लकडाउन त सकियो, तर कोरोनाको जोखिम भने सकिएको छैन है । अनि उसबेलाको जस्तो अडियो क्यासेट र भिडिओ रिल पनि पैसा हालेर किन्नुपर्दैन । वाइफाइ फ्रि–जोनमा जानुस्, युट्युवमा कमल गाउले सर्च गर्नुस्, गाईजात्रे एल्बम रेडी छ ।

प्रस्तुति : खेमराज रिजाल