यसपालि समयमै शुरु भएको मनसुनका कारण धान उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । मनसुन पनि समयमै भयो भने पानी पनि प्रशस्त प¥यो । अझै पनि आकासे पानीको अभाव हुने अवस्था छैन । पानी र पर्याप्त मल कृषि उत्पादनका लागि आधारभूत आवश्यकताका रूपमा लिन सकिन्छ । जमिनको कुरा गर्दा यो बर्ष थप ३ हजार हेक्टरमा खेती हुँदैछ । अब कुल ३८ हजार हेक्टरमा खेती हुँदै गर्दा धानको उत्पादन केही बर्षकै धेरै हुने अनुमान हुनु स्वाभाविकै हो । अझै पनि यस्तो अनुमान सफल नै हुन्छ भन्ने विश्वास गरिएको छ ।
तर यस्तो विश्वास कायम राख्नका लागि राज्यको पनि विशेष भूमिका हुनुपर्दछ र हुन्छ पनि । किसानको सक्रियता र आकासे पानी निरन्तर झर्दैमा मात्र उत्पादन बढिहाल्ने कुरा आउँदैन । खेतीका लागि मल र रोग लागेमा उपचार उपलब्ध गराउने दायित्व राज्यको हुन्छ । तर, सधै राज्यप्रति किसानहरूको गुनासो रहँदै आएको छ । राज्यले कृषि उत्पादन बढाउनका लागि कृषकहरूको स्यावासी खाने गरी अहिलेसम्म आफूलाई प्रस्तुत गर्न नसकेको गुनासो यो पटक पनि सुनिँदैछ । आइतबार घोराही उपमहानगरपालिका–२ साइपुरका किसानहरूले कृषि औजारसहित स्थानीय सरकारका रूपमा रहेको वडा कार्यालयमा प्रदर्शन गरेका छन् । त्यस प्रदर्शनबाट मुखरित भएका आवाजहरू पनि साइपुरसँग मात्र सम्बन्धित छैनन्, देशभरका किसानहरूको आवाज थियो, त्यो । मलको अभाव रहेको, समयमै मल नपाउँदा धानको उचाई नबढिरहेको, बोट पहेंलो हुन थालेकोजस्ता समस्याका साथमा उनीहरू आफ्नो सबैभन्दा नजिकको सरकारको ढोका घच्घच्याउन पुगेका हुन् । उनीहरूको मुद्दा सही रहेको पुष्टि हुने गरी सरोकारवाला निकाय कृषि सामग्री कम्पनी लिमिटेड घोराहीले बैशाखदेखि नै दाङमा युरिया नआएको जानकारी दिएको छ । कोरोनालाई बहाना बनाइए पनि अत्यावश्यक बस्तुहरूको ढुवानीमा रोक लगाइएको थिएन । त्यसकारण यो अवस्थामा कोरोनाका कारण मल उपलब्ध गराउन नसकेको भन्ने कुरा गरेर सरकार आफ्नो दायित्वबाट पन्छन मिल्दैन ।
किसानहरू हलो जुवा, फरुवालगायतका कृषि औजारसहित स्थानीय सरकारको कार्यालयमा पुगेर सरकारको ध्यानाकर्षण गराउने शैली पनि विशिष्ट छ । जनताका कुराहरू सिधै सुन्न सक्ने सरकार चाहिन्छ भनेर नै स्थानीय सरकारको परिकल्पना गरियो र बडातहसम्म नीतिगत तथा बजेटको अधिकारसमेत पु¥याइयो । अब त्यो अधिकारको प्रयोग गर्दै कृषकहरूको समस्या समाधानका लागि स्थानीय सरकार परिपक्व ढंगले प्रस्तुत हुन जरुरी छ । यो प्रदर्शनको संयोजन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको भातृ संस्थाले ग¥यो । राजनैतिक दलको भातृ संस्थाले शिष्ट शैलीमा बर्गीय सवालहरू उठाएर सरकारको ध्यानाकर्षण गराउनु पनि आफैमा एउटा उत्कृष्ट कार्य हो । राज्य र नारिकको सम्बन्धमा मधुरता ल्याएर उत्पादन बढाउने प्रक्रियामा सबै पक्ष जोडिनका लागि यो भन्दा उपयुक्त समय अरु हुन सक्दैन । किसानका माग अबिलम्व सम्बोधन गर ।