एसियाको स्वीट्जरल्याण्डबाट आमालाई चिठ्ठी !

डा. कृष्णराज डी.सी.

मेरी पूजनीया जीवन दायिनी आमा !
तिम्रा चरण कमलमा साष्टाङ्ग दण्डवत् तथा प्रमाण !
प्राणेश्वरी आमा !
कहाँदेखि सुनाउन शुरु गरुँ ? मेरो रामकहानी तिमीलाई यो एसिया महादेशकोस्वीट्जरल्याण्डबाट खासगरी तिम्रो लागि लेख्नैपर्ने नालायक छोरोको लायक समाचार के नै छर ? परन्तु आज यस देशमा जीजिविषाले छट्पटाइरहेका मेरा अभागी एसियाली स्वीट्जरल्याण्ड निवासीहरुको अतिशय सुन्दर पीडालाई प्रस्तुत गर्ने अनुमती मलाई देऊ है ! साथै यो चिठ्ठीको सुरुमा एउटा नीतिशास्त्रको सुन्दर उद्गारसँगै आफ्नो पौरुषीय भावना प्रस्तुत गर्ने अनुमति माग्छु है ! आमा !!
सिंहानाम् महति निद्रा
सर्पानम् महद् भयं
ब्राह्मणाना मनेकत्वं
तेनजीवन्ति जन्तवः
अर्थात् यदि सिंहहरु धेरै नसुत्ने भए, सर्पहरु धेरै नडराउने भए, ब्राह्मणहरु परस्परमा नफुट्ने भैदिएको भए तिनीहरुले समस्त जीवहरुलाई नै समाप्त पार्ने थिए उपर्यूक्त नीतिशास्त्रमा उल्लिखित कुराले आज यस एसियाको स्वीट्जरल्याण्डबाटै सार्थकता पाएको छजस्तो लाग्छ मेरी आमा उपर्यूक्त नीतिश्लोकलेजुंगो चल्यो कुरो बुझियोभन्ने लोकोक्तिलाई समेत सार्थक बनाएको , तब धेरै किन ?
आमा ! हामी एसियाको स्वीट्जरल्याण्ड निवासी सबै अभागीहरु साह्रै सौभाग्यशाली रहेछौं, किनभने अब हाम्रो देश युरोपको स्वीट्जरल्याण्ड नै बनिसक्यो समाजमा पनि व्यापक सामाजिक रुपान्तरण भैसक्यो हाम्रो एकता अब !…… कता ? यताकि ? उता … ? मा रुपान्तरण भैसक्यो हाम्रो राष्ट्रिय एकता पनि अब थरुवान, थरुहट, मगरात, ताम्सालिङ आदि विविध जातीय विभाजनको दलदलमा रुपान्तरण भैसक्यो यी विविध कारणले मेरो स्वीट्जरल्याण्डले यतिखेर नयाँ स्वरुप धारण गरिसकेको मेरी आम्मै ! हिमाल, पहाड, तराई निवासीहरुमा क्षेत्रीय झैझगडा बाहुन, क्षेत्री, जनजाति दलितबीच पनि अझै विभेद कायमै रहेको अस्तिको सोती काण्डले त्यही भन्छ विभिन्न धर्ममा आस्था राख्नेहरुको पनि आफ्नै प्रकारको धार्मिक मतमतान्तर कुर्सीदौडको खेलमा एसियाको स्वीट्जरल्याण्डका अगुवाहरुले जनतालाई कुवाको भ्यागुतो बनाइरहेछन् तर उनीहरुले मञ्चमा उभिएर देशभक्ति राष्ट्रवादको शंखनाद भने घन्काइरहेका छन् जसको शक्ति, उसको भक्ति भनेझैँ शक्ति राष्ट्रहरुले मेरो एसियाको स्वीट्जरल्याण्डतर्फ गिद्देनजर लगाएर टुलुटुलु हेरिरहेका छन् मलाई चिन्ता लाग्छ मेरी आमा ! मेरो स्वीट्जरल्याण्ड कतै शहीदहरु उत्पादन गर्ने प्रमुख राष्ट्रको रुपमा नचिनियोस् भन्ने मेरो तिमीसँग नित्य प्रार्थना हुन कवि भूपि शेरचनले
हुँुदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए ।।
भनेर कविता रचेका थिए तर आमा यतिखेर दुईचार जना सपूतमात्र होइन, यो स्वीट्जरल्याण्डका हजारौँ हजार सपुतहरुले प्राणको बलिदान दिइसके तर मेरो यो अभागी एसियाको स्वीट्जरल्याण्डले परिवर्तनको कोल्टोसमेत फेर्न पाएको छैन हो, यहाँ धेरै रुपान्तरणहरु भएका छन् मेरी आमा ! जंगल फडानी भएर उजाड प्रदेशमा रुपान्तरण भएको नदीहरुलाई डोजरले खनेर वीभत्स खाल्डाहरुमा रुपान्तरण भएका छन् गरिबका बुकुराहरु आगो लगाएर खरानीमा रुपान्तरण भएका छन् सडक दुर्घटना, बाढी, पहिरोको कारणले गाउँ बस्तीहरु मसानमा रुपान्तरण भएका छन् हिजो दीनहीनको परिस्थितिमा बाँचिरहेका यो देशका अगुवाहरुका बस्ने पराले झुपडीहरु गगनचुम्बी सेता महलमा रुपान्तरण भएका छन् हिजो फुटेका गोडाहरु आज मखमली बाटोमा हिँड्ने सुन्दर चरणकमलको रुपमा रुपान्तरण भएका छन् फरुवा ताछ्ने श्रमजीवी किसानहरु यो देशका होनहार युवाहरु सात समुद्रपारिका श्रमबजारहरुमा श्रमिकको रुपमा रुपान्तरण भएका छन् आफ्ना नातेदारहरु सरकारी जागिरहरुमा विभिन्न उच्च ओहोदाका पदप्रतिष्ठाहरुमा रुपान्तरण भएका छन् तराईका उर्वर फाँटहरु जहाँ प्रशस्त मात्रामा खाद्यबाली नगदेबाली उत्पादन गरिन्थे, ती सबै आज भूमाफियाहरुले नयाँ सहरको रुपमा रुपान्तरण गराएका छन् जंगलका जडिबुटी, पशुपंक्षीहरु आदिले अज्ञात प्रदेशतर्फको यात्रा सुरु गरेका छन् एसियाको स्वीट्जरल्याण्डका भाग्यविधाता भगवान्हरुले आज नौरङ्गी डाँफेजस्तै छिनछिनमा आफ्ना रंगीन प्वाँखहरु बदलिरहेका छन् अथवा छेपारोको रंगजस्तै छिनछिनमा आफ्नो बैचारिक आस्थाको रंगरोगण फेरिरहेका छन् तर सार्वभौमसत्ता सम्पन्न राजकीयसत्ता सम्पन्न यो एसियाको स्वीट्जरल्याण्ड निवासी सबै अभागीहरु रोग, भोग, अशिक्षा गरिबीको पदचापमा घुनझैँ पिसिइरहेका छन् यस्तो सुखशान्ति चैनमा मेरा यो स्वीट्जरल्याण्ड निवासी दाजुभाइहरुले आरामको जिन्दगी बिताइरहेका छौं
मेरी आमा ! हिजोका सुन्दर सपनीहरु आज दन्त्यकथाझैँ अविश्वास कपोलकल्पित श्वेतभ्रमको रुपमा रुपान्तरण भएका छन् आज चेलिबेटीहरु समेत चुलोमा आगो बाल्ने सामान नपाएको कारणले हातमुख जोर्ने प्रयोजनको निमित्त सात समुद्रापारिको श्रमबजारमा आफ्नो श्रम पसिनाको मूल्य खोजिरहेछन् राष्ट्रिय एकताको मियोमा अब राष्ट्रिय अनेकताका स्वरहरु गुन्जिन थालेका छन् भाषा, धर्म, संस्कृति, चाडपर्व आदि विभिन्न बहानामा मुलुकको राष्ट्रिय अखण्डता दिनप्रतिदिन चिराचिरा बन्दै गएको हिजो हाम्रा वीर पूर्खाहरुले प्राणको बलिदान दिएर जोगाएको मेरो यो स्वीट्जरल्याण्डको राष्ट्रिय अखण्डता सार्वभौमसत्तामाथि विभिन्न प्रकारका शक्तिहरुले सकुनीचाल चाल्दै आएका छन् आकासबाट बाजहरुले झम्टा मार्ने तयारी गरिसकेका छन् तर यो स्वीट्जरल्याण्ड निवासी निर्दोष कुखुराका चल्लाहरु निरीह भएर आकासतर्फ हेरिरहेका छन् तर थाहा छैन कतिबेला बाजहरुले झम्टा मार्ने हुन् मलाई अलि धेरै चिन्ता लाग्न थालिसकेको मेरी आमा ! मेरो स्वीट्जरल्याण्ड कुनै दिन कुरुक्षेत्रमा रुपान्तरण हुँदैन भन्ने सन्देहले तर जेहोस्, अभाव, अज्ञानता, अन्याय, अत्याचार अनेकौँ प्रकारका सत्तास्वार्थ, कुर्सीदौडको मोह आदिको कारण आज यस स्वीट्जरल्याण्डको निर्दोष बासिन्दा भावुक बनेर अवाक खालि टुलुटुलु मात्र हेरिरहेको छु मेरी आमा, तिमीलाई सम्झेर खै अरु भन्नुपर्ने कुराहरु कति छन् कति, भनेर पनि सुनिदिने कोही छैन खालि मनको गथासो पोख्ने मात्र झीनो प्रयत्न गरेको हुँ, मेरी आमा !
इतिहास बलवान् आमा यो देशका विगतदेखि वर्तमानसम्मका अनेकौँ कालखण्डहरुमा देशभक्त वीरहरुले यही स्वीट्जरल्याण्डकै अस्मिताको रक्षाको लागि जुन संघर्षपूर्ण कुर्वानी गरेका थिए, त्यसको शाश्वत मूल्यांकन हुने काम कहिल्यै भएको देखिएन खालि छलछाम गर्ने ढाँटढुट गर्ने ढाँटेढुटेहरुले नै बल्छीको माछाझैँ बनाएर यो देशका भाग्यमानी सन्तानहरुलाई रिङाउने काममात्र गरे मलाई एउटा मीठो कविताको सम्झना आउँछ मेरी आमा ! तिम्रो सम्मानका निमित्त प्रस्तुत गर्ने अनुमति माग्छु है
कागज काट्ने बञ्चरो रुख काट्ने कैँची
आहाल बस्यो बाँदर रुख चढ्यो भैंसी
कमिलाले जाँतो बोक्यो भुसुनाले रिङ्गायो
समुद्रमा आगो लाग्यो खरले निभायो
रानी वनमा गाई ब्याइन् दूध बाघले दुयो
बलेसीमा पानी ¥यो धुरीमा चुह्यो
प्रस्तुत कवितात्मक पंक्तिले जुन भावव्यञ्जना बोकेको मेरी आमा ! सोही भावव्यञ्जनाअनुरुप आज यस एसियाको स्वीट्जरल्याण्डमा आमोद, विमोद प्रमोदले मैमत्त बनेको छु खुसी लाग्छ आमा, तिम्रो सुन्दर तथा न्यानो काखमा जन्मिन पाएँ, जहाँ तिम्रो निधारमा चाँदीको सगरमाथा संसारभरि चम्किरहेको अनि तिम्रो छातीमा दूधका अमृतधाराहरु बगिरहेका छन् तिम्रो काखमा सुनौला फाँटहरुले मोती दानाहरु उत्पादन गरेर प्राणी जगत्को रक्षा गरिरहेका छन् तर दुर्भाग्य भनूँ या सौभाग्य भनूँ मेरी आमा, आज यो एसियाको स्वीट्जरल्याण्डबाट बग्ने तृसप्त गंगाहरु (सप्तकोशी, सप्तगण्डकी, सप्तकर्णाली) किनकिन रातो रंगमा रुपान्तरण भएका देख्दैछु अथवा अझैँ झन् गाढा रातो बन्दै जालान् कि भन्ने अरु चिन्ता लाग्दैछ मेरी आमा ! विश्व मानव जगत्माबाँच बाँच्न देऊको सन्देश दिने मायादेवीपुत्र सिद्धार्थ गौतम कतै एकलासमा हराइरहेको वा रोइरहेको देख्दछु अनि मलाई साह्रै पीडाबोध हुन्छ मेरी आमा ! तिमीले आफ्नो प्रशवकालमा कति पीडा भोगे हौली यी सन्तानहरुको जन्मको खातिर तर तिम्रो मातृधारा मातृमाया तथा मातृरगतको मूल्यलाई सहजै अवमूल्यन गर्ने यो स्वीट्जरल्याण्डका देवताहरुमा कुनै दिन सत्ज्ञान सत्कर्मको चेतना पलाउला अवश्य भन्ने तीव्र अभिलाषासमेत गरेको छु, मेरी आमा
लाग्दैछ चिन्ता आज मेरी आमा तिमीले जन्माएका आफ्ना सन्तानहरु तिमीप्रति दिनप्रतिदिन निष्ठुर बन्दै गएको देख्दा आफ्नो छातीबाट अमृतधारा बगाई उनलाई पालनपोषण ¥यौं आफ्नो प्रशव पीडालाई भुलेर जीवनको सर्वस्व ठानी उनैमाथि तिमी आफू समर्पित भयौ ध्यान ज्ञानको गंगामा बगाएर उनलाई अनन्त शक्ति अनन्त चेतना प्रदान ¥यौ उनी भूत, वर्तमान, भविष्य तिनै काल जान्ने त्रिकालदर्शी बन्न पनि सफल भए तर आज यही एसियाको स्वीट्जरल्याण्डमा बसेर तिनीहरुले तिमीलाई बेग्लै स्थानमा रुपान्तरण गराएका छन् त्यो स्थान भनेको बृद्धाश्रम हो उनीहरुलाई तिमीले आफ्नो कोखमा बासस्थान प्रदान गरेकी थियौ तर त्यसको बदला उनले तिम्रो बसाइँसराइ बृद्धाश्रमतर्फ सारिदिए यो एक्काइसौं शताब्दीको नवीन चिन्तन दर्शनको कारणले तिमीलाई आफ्ना सन्तानहरुबाट त्यति ठूलो सम्मान प्राप्त भए हो भन्ने मैले ठानेको छु मेरी आमा ! आज विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यमले बोल्ने कुराहरु विभिन्न अखबारहरुले छापा माध्यमबाट प्रशारण गर्ने समाचार सुन्दा पढ्दा मलाई विवशताका साथ भन्नुपर्दछ मेरी आमा, खै कुन दिन यी दुबैथरिका सञ्चारमाध्यमहरुले शुभसन्देश वा सुसमाचार सम्प्रेषण गर्लान् ? खालि हत्या, बलात्कार, सडक दुर्घटना, चोरीडकैती, भ्रष्टाचार, अन्यायअत्याचार आदिजस्ता चरम अमानवीय क्रियाकलापहरु सुन्न पनि नसकिने पढ्न पनि नसकिने समाचारहरु यो एसियाको स्वीट्जरल्याण्डमा पढ्न पाउँदा मैले आफूलाई साह्रै सौभाग्यशाली सम्झेको छु मेरी आमा तर तिमीसँग विन्ती , यस प्रकारको सौभाग्य अब उप्रान्त कुनै स्वीट्जरल्याण्ड निवासीलाई प्राप्त नहोस् अब आउँदा दिनहरुमा शान्ति, समृद्धि, मानवता, सहिष्णुता, सदाचार, सत्ज्ञान, सत्चरित्र, सत्कर्म विश्व मानवतावादका समाचारहरु यी सञ्चारमाध्यमहरुले जनसमक्ष सम्प्रेषण गर्ने सौभाग्य प्राप्त गरुन्, यही नै तिमीसँग मेरो विन्ती मेरी आमा ! सधै संघर्ष, सधँै क्रान्ति, सधैँ अशान्ति, सधँै झगडा अन्य मुलुकहरुमा भए पनि यो एसियाको स्वीट्जरल्याण्डमा त्यस प्रकारको कुकर्म गर्ने कुबुद्धि तिम्रा सन्तानहरुमा नपलाओस्, त्यसको निमित्त सबै आफ्ना सन्तानहरुलाई तिमीले शुभआशीर्वाद देऊ, यही मेरो तिमीसँग हार्दिक प्रार्थना तथा विन्ती मेरी आमा ! ‘काम गर्ने कालु मकै खाने भालुभनेझैँ यो स्वीट्जरल्याण्डमा एउटाले सुकर्म गर्दछ तर फल खाने व्यक्ति अर्कै हुन्छ त्यसप्रकारको दुर्नियती पनि तिम्रा सन्तानहरुलाई भोग्नु नपरोस् अब धेरै गथासो तिमीसँग कति लेखूँ ? मेरी आमा ! जसरी यो एसियाको स्वीट्जरल्याण्ड प्राकृतिक रुपमा साँच्चिकै युरोपको स्वीट्जरल्याण्डजस्तै भौतिक बौद्धिक तथा आत्मिक दुबै रुपमा पनि यो युरोपको स्वीट्जरल्याण्डजस्तै बनोस् तर, खालि छलछाम ढाँटढुटको कुनीतिलाई आत्मसात् गरेका तिम्रा ढाँटेढुटे अगुवा भनाउँदा सन्तानहरुको मनमस्तिष्कबाट सदाको लागि दुर्बुद्धि हटेर जाओस् तिमीप्रति साँच्चिकै तिम्रा सबै सन्तानहरुमा मातृभक्तिको सशक्त चेतना पलाओस् भन्ने शुभकामना व्यक्त गर्दछु मेरी आमा ! यदि यसो हुन सक्यो भने तिम्रो अतिशय गर्भकालको पीडा प्रशवकालको पीडालाई मलहमपट्टि पुग्नेछ भन्ने मैले ठानेको छु
उही तिम्रो
स्वीट्जरल्याण्ड निवासी
आज्ञाकारी सन्तान