हलो जुवासहित वडा कार्यालय अगाडि प्रदर्शन

  •   
  •  

दाङमा युरिया रसायिनक मलको अभाव

लिलाधर वली
दाङ, १८ साउन । घोराही उपमहानगरपालिका-२ साइपुरका किसान दिलबहादुर नेपालीले धान रोपेको डेढ महिना हुन थाल्यो । करिब एक बिगाहा जमिनमा रोपेको धानमा अहिले मल टिप गर्नुपर्ने भएको छ तर उनले मल पाउन सकेका छैनन् ।

‘मल नपाउँदा धान बढ्न सकेको छैन, बोट पहेलोसमेत हुन थालेको छ’, नेपालीले भने- ‘तर गाउँमा मल ल्याउने सहकारीमा मलका लागि जाँदा सहकारी संस्थाले मल आएको छैन भन्छ ।’ उनले समयमै धानमा टिप गर्ने मल नपाउँदा मेहनत खेर जाने हो कि भन्ने चिन्ता लागेको समेत बताए ।

उनको जस्तै चिन्ता छ रामपुरकै अर्का किसान निमबहादुर चौधरीलाई पनि । धानमा टिप गर्नका लागि युरिया मल खोज्दा गाउँमै रहेको साना किसान सहकारीमा पटक-पटक गए पनि मल पाउन नसकेको उनी बताउँछन् । मल नपाउँदा मेहनत गरेर रोपेको १३ रोपनीको धानखेती खेर जाने हो कि भन्ने उनलाई चिन्ता समेत छ ।

‘समयमै पानी परेकाले धान त रोपियो तर अहिले टिप गर्ने मल छैन’, किसान चौधरीले भने- ‘मल नपाउँदा धानको बोट बढ्नै सकेको छैन् ।’ खेतमा रोपेको धानले मल खोजे पनि मल नहुँदा हाल्न नसकेको बताए । ‘धान रोपेको करिब एक महिना बढी भयो, महिना दिनमै युरिया मल टिप गर्नुपर्ने हो’, उनी भन्छन्- ‘तर नपाउँदा महिना दिन बढी भइसक्दासमेत टिप गर्न पाएको छैन ।’

रोपेको धानमा टिप गर्नका लागि युरिया मल नपाएपछि आइतवार किसानहरुले हलो, जुवा र फरुवा बोकेर प्रदर्शन गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरका किसानले धानमा टिप गर्ने मल नपाएको भन्दै आइतवार वडा कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसको भातृ संगठन किसान संघ रामपुरको आयोजनामा किसानहरुले सरकारसँग रसायनिक युरिया मल उपलव्ध गराउन माग गर्दै वडा कार्यालयको गेटमा प्रदर्शन गरेको किसान संघ रामपुरका अध्यक्ष शेरबहादुर चौधरीले बताएका छन् ।

समयमै मल नपाउँदा किसानको मेहनत खेर जाने अवस्था हुन थालेपछि आफूहरु आन्दोलन गर्न बाध्य हुनुपरेको अध्यक्ष चौधरीले बताए । ‘धान रोपेको एक-डेढ महिना भैसक्यो, यो बेला धानलाई मल चाहिएको छ’, अध्यक्ष चौधरीले भने-‘तर मल किसानहरुले पाउन सकेका छैनन् ।’ उनले सरकारले धान खेतीका लागि मलको अभाव नहुने भने पनि अहिले किसानहरुले मल पाउन नसकेको उनले बताए ।

मल पाउन नसक्दा रामपुर, फलासे, निमुरिया, साइपुरलगायतका किसानहरु समस्यामा परेको समेत बताए । एक महिनादेखि किसानहरुले मल नपाउँदा समेत वडा कार्यालयले मलको लागि कुनै पहल नगरेको किसानहरुले गुनासो गरेका छन् । उनीहरुले स्थानीय सरकारका रुपमा रहेको वडा कार्यालयलाई मलको लागि पहल गरिदिन आग्रह गरेका छन् । प्रदर्शनपछि आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्ने बक्ताहरुले किसानको समस्यामा ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

किसानले समयमै मल नपाउँदा मेहनत खेर जाने अवस्था आएको भन्दै उनीहरुले जतिसक्यो चाँडो युरिया मलको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका थिए । विरोध कार्यक्रमलाई नेपाली कांग्रेसका निवर्तमान जिल्ला सचिव कमलकिशोर घिमिरे, कांग्रेस नेता गिरिराज गिरी, नेपाल किसान संघ रामपुरका अध्यक्ष शेरबहादुर चौधरीले सम्बोधन गरेका थिए ।

घोराही उपमहानगरपालिका-२ फलासेमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा जम्मा भएका किसानहरु हलो, जुवा, फरुवासहित वडा कार्यालय पुगेका थिए । उनीहरुले ‘किसानलाई रसायनिक युरिया मलको व्यवस्था गर’, ‘किसानको मेहनतलाई खेर जान नदिन मलको व्यवस्था गर’, ‘किसानको राहत अनुदानमा भएको अनियमितता छानविन गर’, ‘किसान मारा सरकार मूर्दावाद’लगायतका नारा लगाउँदै वडा कार्यालय पुगेका थिए ।

युरिया मल आएको छैन : कृषि सामग्री
लकडाउनका कारण मलको कारखाना बन्द भएकाले रसायनिक युरिया मल आउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाले जनाएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मल उत्पादन गर्ने कम्पनी बन्द हुँदा भारतबाटै मल नआउँदा बैशाख/जेठ महिनादेखि नै दाङमा युरिया मल नआएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका सूचना अधिकारी सुष्मा बस्यालले जानकारी दिएकी छिन् ।

दाङमा धान रोप्ने समयमा किसानलाई मलको समस्या नभए पनि अहिले धानमा टिप गर्ने क्रममा रसायनिक मलको समस्या देखिएको उनले बताइन् । ‘रोपाइँको समयमा मल अभाव देखिएको थिएन तर पछिल्लो समय लकडाउनका कारण मल नआउँदा अहिले समस्या देखिएको छ’, सूचना अधिकारी बस्यालले भनिन्- ‘मलका लागि हामीले भैरहवा सम्पर्क गर्दा भदौको पहिलो हप्तासम्म आउने जानकारी दिएको छ ।’