नेकपा विवाद : ‘सेफ जोन’मा ओली

  •   
  •  

टिप्पणी

दाङ, १८ साउन । देशका दुई ठूला पार्टीका प्रमुखहरू नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बारेमा उनीहरूको अत्यन्त निकट पात्रहरूको टिप्पणी एउटै हुने गर्छ कि ‘बुढालाई फकाएर जे पनि झार्न सकिन्छ, तर थर्काएर, धम्काएर, कमजोर महसुस गराएर केही पनि झर्नेवाला छैन ।’

नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुर्‍याइयो । ओलीलाई घेराबन्दीमा पारियो, अब त एउटा हैन, दुबै पदबाट बाहिरिन्छन् कि भन्नेझै परिस्थिति पनि निर्माण भयो । तर, चरम घेराबन्दीमा रहेका उनी अहिले भने ‘सेफ जोन’मा पुगेका छन् । निकटस्थहरूको विश्लेषणझै अब ‘थर्काएर बुढाबाट केही नझर्ने’ अवस्था निर्माण भइसकेको प्रतीत हुन्छ । बरु फकाउने बाटोमा चतुर खेलाडी बरिष्ठ नेता बामदेब गौतम पुगिसकेका छन् । ओलीको सबैभन्दा विश्वासपात्र मात्र हैन, उत्तराधिकारी समेत उनै हुने अड्कल नेकपाभित्र गरिन थालेको छ ।

गत साउन १३ को ओलीले एकपक्षीयरुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्यहरु राखेर स्थायी कमिटी बैठक गरेको ६ दिनपछि दुई अध्यक्षबीच आइतवार भेटवार्ता भयो । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल भएको छलफल करिब तीन घण्टा चल्यो । साक्षीका रूपमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत बैठकमा सहभागी भए ।

तर त्यहाँ प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फीरुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने सहमति बन्न सकेन । उता यो बीचमा ओलीले र नेता बामदेवका सपरिवारसँगै डिनर गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

त्यतिमात्रै हैन, ओलीविरोधी मोर्चाको नेतृत्वकर्ता प्रचण्डमाथि नेताहरू माधव नेपाल र झलनाथ खनालले समेत आशंका गर्ने परिस्थिति निर्माण भयो । यो परिस्थिति पनि ओलीको चतुर्‍याइँका कारण भएको हो । आफूसँगै प्रचण्डलाई एक्लै राष्ट्रपति भवनमा लगेपछि आशंका गर्ने आधार निर्माण भएको थियो ।

त्यसैगरी पूर्व माओवादी कित्ताबाट मन्त्री बनेकाहरूमध्ये केहीले ओलीतर्फ झुकावसमेत राख्न थाले । अझ आश्चर्यजनक खेल त त्यतिबेला देखियो, जब यो अन्तरसंघर्षमा लडाइँ लड्नका लागि ऊर्जा जगाउने अपेक्षासहित प्रचण्डले पूर्व माओवादी नेताहरूसँग छलफल गर्दा अनपेक्षित सुझाव उनलाई दिइयो । सुझाव दिने क्रममा उनीमाथि एउटा आरोप समेत लाग्यो । पूर्वसहकर्मीहरूलाई भन्दा अरुलाई च्यापेको आरोप अनि ओलीसँगै मिलेर वा सौदावाजी गरेर अगाडि बढ्न सुझाव । प्रचण्डका लागि यस्तो कुरा अनपेक्षित नै थिए ।

यी तथ्यहरूले के देखाउँछ भने ओलीलाई घेराबन्दीमा पार्ने मोर्चा प्रमुख प्रचण्डलाई अहिले शान्त तर चतुरतापूर्वक ओलीले घेराबन्दीमा पार्दैछन् र आफू ‘सेफ जोन’मा उक्लदै छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ-आफ्ना अडानमा कायमै रहे र ठोस सहमति गर्न सकेनन् । उनीहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठे । यस्ता बैठकहरूलाई ‘स्किप’ गर्न चाहन्छन् ओली । त्यसैले ‘लिङ्गरिङ’ गर्ने नीतिमा उनी पुगिसकेका छन् । यत्तिमात्रै गरिदिने हो भने प्रचण्ड अझै घेराबन्दीमा कसिँदै जानेछन् र ओली हरेक आक्रमणको सामना गर्दै आफू र आफ्नो टिमलाई जोगाउन सक्ने सक्षम नेताको छवि बनाउने छन् । स्वाभाविकरूपमा कार्यकर्ताहरू आफूलाई संरक्षण गर्ने नेताको छत्रछायाँमा रहन चाहन्छन् ।

प्रचण्डले बिहीबार पार्टी महासचिव विष्णु पौडेललाई बोलाएर निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्ने प्रस्ताव अर्का अध्यक्षसम्म पुर्‍याउन पठाएका थिए । ‘पार्टी र सरकार यसरी नै चल्छ भन्ने ठाउँबाट निकास दिन अर्का अध्यक्ष (केपी ओली) तयार हुनुपर्ने’, प्रचण्डको प्रस्ताव थियो । हरेक प्रस्ताव अस्वीकार गरी बैठकहरू स्किप गर्ने र छलफललाई लिङ्गरिङ गरिरहने नीति लिएका ओलीले यो प्रस्तावमा पनि सहमति जनाएनन् ।

फेरि, प्रचण्डले विधिमा सहमति गर्ने प्रस्ताव राखे । यसो गर्दा सहमति भए सहमतिको, नभए आ-आफ्नो मत लिएर दुबै अध्यक्ष पार्टी केन्द्रीय कमिटीमा जाने र बहुमतले पास गर्ने । अनि महाधिवेशनमा जाने प्रचण्डको प्रस्ताव छ । तर, आफूलाई ‘सेफ जोन’मा पुर्‍याई सकेका ओली आफूबारे छलफल हुने सबै संरचनाको औपचारिक बैठक नबोलाउने मुडमा पुगिसकेको प्रतीत हुन्छ ।