तयार भयो थारु भाषाको पाठ्यक्रम

  •   
  •  

अमरराज आचार्य
दाङ, १८ साउन । जिल्लामा पहिलोपटक थारु भाषाको पाठ्यक्रम तयार गरिएको छ । थारु कल्याणकारिणी सभा दाङले घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक थारु समुदायको मातृभाषा पाठ्यक्रम निर्माण गरेको हो । तयार गरिएको पाठ्यक्रम घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकिएको थारु कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले बताए । ‘पाठ्यक्रम तयार भएको छ, यसैको आधारमा अब पाठ्यपुस्तक तयार हुनेछन्’, अध्यक्ष चौधरीले भने ।

१ महिना बढी समय लगाएर पाठ्यक्रमको निर्माण गरिएको उनको भनाइ रहेको छ । ‘यो परियोजना सम्पन्न गर्न करिब २ देखि ३ महिना लाग्ने भए पनि दिनरात काम गरिएकाले १ महिनाको अवधिमा सकेका छौं’, चौधरीले भने- ‘अब यसैको आधारमा पुस्तक तयार हुनेछ ।’ राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम निर्माणका लागि बनाएको निर्देशिका र मार्गदर्शनअनुसार सो पाठ्यक्रम निर्माण गरिएको उनको दावी छ । ‘त्यो निर्देशिका र मार्गदर्शनभन्दा बाहिर गएर बनेको पाठ्यक्रम निर्माण गरिएमा पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गर्दैन’, चौधरीले भने- ‘त्यही भएर त्यसलाई हामीले गम्भीर रूपमा पछ्याएका छौ ।’

लकडाउनको कारण पाठ्यक्रम निर्माणमा केही समस्या भएको चौधरी बताउँछन् । स्थानीय अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेट्न र छलफल गर्न लकडाउनले समस्या पारेको उनको भनाइ छ । ‘हामीले प्रविधिको उपयोग गरेर यस कार्यलाई अगाडि बढाएका हौं’, अध्यक्ष चौधरीले भने । सरोकारवालाहरुसँगको छलफल पनि अनलाइन तथा टेलिफोनबाट गरिएको थियो । पहिलोपटक थारु भाषामा पाठ्यक्रम निर्माण गर्दा शुरुमा केही अन्योलता भए पनि सबै क्षेत्रको सहकार्यमा सहज भएको उनी बताउँछन् ।

पाठ्यक्रम निर्माणका लागि विज्ञ टोलीको गठन गरेर काम गरिएको थियो । भाषा विज्ञको रुपमा कुलबीर चौधरी, पाठ्यक्रमसम्वन्धी विज्ञमा उछत चौधरी र स्थानीय विषयका जानकार कुलबहादुर चौधरी रहेको विज्ञ टोली गठन गरिएको थियो । उनीहरु सँगसँगै अरुले पनि सहयोग गरेको उनको भनाइ रहेको छ । अहिले निर्माण गरिएको पाठ्यक्रम १ कक्षा देखि कक्षा ३ सम्मको लागि उपयोगी हुने उनी बताउँछन् ।

पाठ्यक्रम निर्माणका लागि उपमहानगरपालिकाले थारु कल्याणकारिणी सभालाई २ लाख रुपैयाँ दिएको थियो । नगरपालिकाले सार्वजनिक सूचनामार्फत पाठ्यक्रम निर्माणका लागि आबेदन मागेको थियो र त्यही प्रक्रियाबाट थारु कल्याणकारिणी सभालाई छनोट गरेको थियो । पाठ्यक्रम निर्माण भएसँगै थारु भाषामा अध्यापन गराउन चाहने विद्यालयहरुले पढाउन सक्ने भएका छन् । थारु समुदायका विद्यार्थीहरुका लागि आफ्नै मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अबसर अब उपलब्ध हुने बिश्वास गरिएको छ । ‘नयाँ विषयवस्तुलाई पनि आफ्नो मातृ भाषामा बुझ्न सक्नेछन्’, चौधरीले भने- ‘आफ्नै भाषामा शिक्षा लिन पाउँदा सिकाईसमेत प्रभावकारी हुने हामीले विश्वास गरेका छौं ।’
पुस्तक बन्न केही समय लाग्छ : उपमहानगरपालिका
घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले थारु भाषाको पाठ्यक्रम तयार भइ सके पनि पाठ्यपुस्तक बन्न केही समय लाग्ने बताएको छ । ‘पाठ्यक्रम निर्माण भइसके पनि पाठ्यपुस्तक तयार हुन केही समय लाग्ने छ’, शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले भने । पाठ्यपुस्तक प्रकाशन भई नसकेकाले यसै शैक्षिक सत्रबाट थारु भाषाको पढाई सञ्चालन गर्न भने समस्या हुने महाशाखाले जनाएको छ ।

‘तर इच्छुक विद्यालयहरुले पाठ्यक्रमबाटै पनि पढाइ सञ्चालन गर्न सक्नेछन्’, प्रमुख गौतमले बताए । थारु बाहुल्य रहेका स्थानका विद्यालयहरुले यसै बर्षदेखि नै थारु भाषामा पढाउने गरी तयारी गरिएको जानकारी पनि उनले दिए । अन्य स्थानमा पनि इच्छा भएमा सिक्न सकिने गौतम बताउँछन् । कक्षा १, २ र ३ का लागि पाठ्यक्रम अनुसार प्रत्येक कक्षामा १ सय पूणर्ाङ्कको पढाई हुनेछ । ‘दैनिक एक पिरियड थारु भाषा पढाइ हुनेछ’, गौतमले भने- ‘थारु समुदायका बालवालिकाहरुले आफ्नै भाषामा शिक्षा लिन पाउने भएपछि सिकाईप्रति आकर्षण बढ्ने र सिकाई पनि प्रभावकारी हुने हाम्रो विश्वास छ ।’

घोराही उपमहानगरपालिकाले थारु भाषालाई दोस्रो सरकारी कामकाजी हुने निणर्य गरिसकेको छ । तर पनि यो निणर्यको व्यावहारिक कार्यान्वयन भने हुन नसकेको पाइन्छ । नेपालको संविधान २०७२ को धारा ३१ (५) मा मातृभाषाबाट पनि पठन-पाठन गराउन सक्ने व्यवस्था गरिएबमोजिम उपमहानगरले आफ्नो नगर क्षेत्रमा थारु भाषामा पढाइ गर्ने प्रक्रिया अगाडि बढाएको हो ।