Goraksha

National Daily

‘मेरो विहानी’ कविता संग्रह विमोचन

दाङ, १६ साउन । लेखक तथा कवि विनोद पोख्रेलको पहिलो कविता संग्रह ‘मेरो बिहानी’को विमोचन गरिएको छ । लेखक संघ दाङले शुक्रवार घोराहीमा आयोजना गरेको एक कार्यक्रममा कृतिको बिमोचन गरिएको हो ।

कविता संग्रहको सामाजिक अगुवा एकराज शर्मा, वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, प्राध्यापक गदाधर पौडेल र प्राज्ञ उत्तमकृष्ण मजँगैयाले सयुक्त रुपमा बिमोचन गरेका थिए । बिमोचित कृतिको समिक्षा डा.हिमलाल पन्थीले गरेका थिए । समिक्षक पन्थीले लेखकले कविताका माध्यमबाट समाज रुपान्तरण,मनोविश्लेषण तथा भोगाइहरुलाई आत्मसाथ गरेर रचना सिर्जना गरेको बताएका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक अगुवा एकराज शर्माले लकडाउनका कारण जटिल बनेको परिस्थीतिमा पोख्रेलले कविता प्रकाशन गरेर साहित्यिक विकासमा योगदान पु¥याएको बताएका थिए । उनले समाजमा अगाडी वढन खोज्ने व्यक्तिको खुट्टा तान्ने प्रवृति रहेको भन्दै रचनात्मक समाज विकासका लागि त्यस्तो प्रवृतिको अन्त्य हुन आवश्यक रहेको बताएका थिए । उनले कविता संग्रह विहानी जस्तै मुलुकमा नयाँ विहानीको आवश्यक रहेको बताए । ‘मुलुकमा सुनौलो विहानी खोजी हुन आवश्यक छ’–एकराजले भने–‘तर राजनीतिज्ञमा दृढता नहुँदा जनताले त्यसको अनुभुति गर्न सकेनन् ।’

साहित्यकार तथा प्रेस काउन्सीलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा,प्राध्यापक गदाधर पौडेल, साहित्यकार डा.कृष्णराज डिसी, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, वरिष्ठ साहित्यकार गिरीराज शर्मा,डा.जनार्दश आचार्य, प्राज्ञ उत्तमकृष्ण मजगैया,लेखक संघ दाङका संस्थापक अध्यक्ष शंकर पौडेल, लेखक तथा साहित्कार सरिता देवकोटा, साहित्यकार किरण आचार्यलगायतले कृतिले समाज रुपान्तरणको लागि भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा साहित्यकार तथा पूर्वमन्त्री बलदेव शर्मा मजगैया, वरिष्ठ पत्रत्रकार भगीरथ योगी, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ साहित्यकार नवराज लम्सालले भिडियो कन्फरेन्सका माध्यमबाट शुभकामना दिएका थिए । कार्यक्रम लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको थियो ।

लेखक विनोद पोख्रेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिहरुलाइ धन्यावाद ज्ञापन संघका उपाध्यक्ष गोविन्द्र पौडेलले दिएका थिए । कार्यक्रमको सहजिकरण संघका सचिव हुमवहादुर डिसीले गरेका थिए ।