Goraksha

National Daily

मर्ज गरिँदै सहकारी

अमरराज आचार्य
दाङ । जिल्लामा सहकारी संस्थाहरु मर्जको अभियान सुरु भएको छ । लमही नगरपालिकामा २ सहकारी मर्ज भएर तेजश्री मातृभूमि सहकारी संस्था नामाकरण भएको छ । यसैगरेर अन्य सहकारी पनि मर्जको तयारीमा छन् । जिल्ला सहकारी संघले सहकारी मर्ज अभियानलाई प्राथमिकता दिने जनाएको छ । जिल्ला सहकारी संघको २७औँ साधारणसभामा संघका जिल्ला अध्यक्ष गोविन्द्रप्रसाद शर्माले जिल्लामा सहकारी मर्जको प्रस्ताव नै गरेका छन् । संघले आर्थिक वर्ष २०७६÷०७७ मा सहकारी एकीकरणको अभियानलाई जोड दिँदै व्यापक बनाउने प्रस्ताव गरेको हो । एकीकरण हुने सहकारी संस्थालाई सम्मान समेत गरिने भएको छ ।

सहकारी संस्थाहरुको स्थापना संख्यात्मक रुपमा उल्लेखनीय बृद्धि भएको र सहकारी संस्थाहरुको सेवालाई गुणस्तरीय, प्रतिस्पर्धात्मक, व्यावसायिक, दिगो एवं सुदृढ बनाउन आवश्यक भएको भन्दै यो प्रस्ताव ल्याएको अध्यक्ष शर्माले बताए । त्यसैले समान प्रकृति र भुगोलका आधारमा एकीकरण एक महत्वपूर्ण विकल्प रहेको समेत उनले बताए । यसैगरेर संघले समान किसिमका एकभन्दा बढी सहकारीमा सदस्य नहुने व्यवस्थालाई कार्यान्वयमा समेत पहल गर्ने जनाएको छ । जिल्लामा ४ सय १८ वटा सहकारी छन् ।

कार्यक्रममा बोल्दै प्रदेश नं ५ का सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदीले सहकारी संस्थाहरु दीर्घकालीन योजना निर्माण गरेर अगाडि बढ्न आवश्यक भएको बताए । उनले दीर्घकालीन योजना नहुँदा सहकारीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा समस्या हुने गरेको उनको भनाई छ । ‘आप्mनो क्षेत्रको सम्भावना हेरेर ठूला योजना निर्माण गर्न आवश्यक छ’–सुवेदीले भने ‘सहकारीले देखिने गरेर ठूला योजनामा लगानी गरिनु पर्छ ।’ सहकारी संस्थाहरुले आफूले गरेका काम समेत देखाउन नसकेको उनको भनाई थियो । सानो लगानीबाट राम्रा काम गरे पनि देखाउन नसकेको सुवेदीले बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीलाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्ने बताए । सहकार्य गरेर अगाडि बढेमा उत्पादन, बजारीकरणमा समेत सहजता हुने वक्ताहरुको भनाई थियो । कार्यक्रममा कृषि सहकारी संघका केन्द्रीय सदस्य वेदबहादुर केसी, प्रदेश कृषि संघका सचिव रुपबहादुर खत्री, जिल्ला कृषि संघका अध्यक्ष पदमा आचार्य, जिल्ला वहुउद्देश्यीय संघका अध्यक्ष कृष्णप्रसाद गौतम, घोराही उपमहानगरपालिका सहकारी तथा रोजगार प्रबद्र्धन शाखा अधिकृत होमलाल भुसाल, संघका सल्लाहकार डिल्लीबहादुर खडका, नेफस्कुनका कार्यालयका प्रमुख वेदप्रसाद भट्टराई, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख किरण खत्रीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष हरिप्रसाद भुसालले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक हेमराज गौतमले गरेका थिए । कार्यक्रम संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष अञ्जनकुमार पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शुक्रराज भण्डारीले गरेका थिए ।