Goraksha

National Daily

काभ्रेखोलामा खानेपानीको समस्या

लिलाधार वली
दाङ । घोराही उपमहानगरपालिका–१८ काभ्रेखोला बजारको नजिकिँकैको गाउँ हो । दूरीको हिसाबले जिल्लाकै मुख्य केन्द्र नजिकै रहे पनि भौगोलिक बनोटका आधारमा दुर्गम छ । बजारको छेउकै गाउँ भए पनि त्यहाँका स्थानीयले स्वच्छ खानेपानी पिउन पाएका छैनन् । घोराही उपमहानगरपालिकाभित्र पूर्ण सरसफाईको कार्यक्रम चलाइरहँदा सहरकै छेउको गाउँका स्थानीयले स्वच्छ पानी खान पाएका छैनन् ।

जसका कारण काभ्रेखोलावासी जंगलको पानी खान वाध्य छन । त्यो पानी खानका लागि गाउँहरु मिलेर पाइप किनेका छन् । त्यही पाइपलाई करिब एक किलोमिटर माथिबाट पाइपका माध्यमबाट गाउँसम्म ल्याएर पिउने गरेका छन् ।

जंगलमा बग्ने पानीलाई पाइपका माध्यमबाट घरसम्म ल्याएर खाने गरेको काभ्रेखोला निवासी कमला नेपालीले बताइन् । त्यही पानीलाई घरमा भान्सादेखि घरमा पालेका गाईबाख्रालाई समेत खुवाउने गरेको उनी बताउँछिन् । ‘हामीलाई सधैँ पानीकै समस्या हो, आजभोलि त पाइपका माध्यमबाट घरसम्म आउँछ’– उनले भनिन्–‘गर्मी बढेपछि त्यही पनि सुक्छ, त्यसपछि त खोलामा जरुवा खनेर खानुपर्ने हुन्छ ।’ उनका अनुसार अरु बेला त सफा पानी भए पनि पानी पर्दा खानलाई समस्या हुने गरेको छ । ‘पानीलाई छान््ने केही छैन, जंगलको पानी पाइपका माध्मबाट गाउँसम्म ल्याएका छौँ’–उनले भनिन्–‘पानी पर्दा त जंगलमा पातपतिङ्गर बगाएर ल्याउँछ, त्यस्तो समयमा खानेपानीको निकै समस्या हुन्छ ।’ त्यस्तै कहिलेकाहीँ जंगलमा चर्न जाने गाईवस्तुले मुहानमा कुल्चँदा समेत समस्या गर्ने गरेको उनी बताउँछिन ।

त्यस्तै खानेपानीको समस्या समाधानका लागि पटक–पटक स्थानीय सरकारसँग आग्रह गरे पनि सरकारले वास्ता नरहेको अर्का स्थानीय खड्कराज थापा बताउँछन् । ‘गाउँमा पानीको लागि राम्रो व्यवस्था छैन, जसले गर्दा खानेपानीको समस्या रहेको छ’–उनले भने–‘खानेपानीको राम्रो व्यवस्था नहुँदा कहिले जंगलमा सिम जागेको पानी खाने गरेका छौँ त कहिले खोलामा जरुवा खनेर खाने गछौँ ।’ जंगलमा सीप जाग्ने पानी पनि सधैँभरि खान नपर्ने उनी बताउँछन् । गर्मी सुरु भएसँगै गाउँमा खानेपानीको धेरै नै समस्या हुने गरेको छ । गाउँमा खानेपानीको भरपर्दो माध्यम नहुँदा वर्षेनी समस्या भोग्नु परेको उनी बताउँछन् । ‘आजभोलि जंगलमा पानी सुकेको छैन, घरसम्मै पानी आएको छ’–थापाले भने–‘यो फागुनतिर सुक्छ, त्यसपछि त खोलामा जरुवा खन्नुपर्ने वाध्यता रहेको छ ।’ खानेपानीको भरपर्दाे माध्यम नहुँदा पूरै गाउँवासीले खानेपानीबाट वञ्चित हुनु परेको छ ।

पानी नहुँदा उनीहरुले पिउनेसँगै शौचालय प्रयोगमा समेत समस्या हुने गरेको छ । स्थानीयको समस्याप्रति सरकारले व्यवस्था गरेको स्थानीय बताउँछन् । काभ्रेखोलामा ३० देखि ३५ घरपरिवारले खानेपानीको समस्या भोग्नुपर्ने वाध्यता छ । तर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले भने जिल्लामा खानेपानी समस्या समाधानका लागि कार्यालयले काम गरिरहेको बताएको छ ।

आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको घरमा खानेपानीको धारा पु¥याउने लक्ष्य अनुसार दाङमा पनि काम भइरहेको भन्दै खानेपानी समस्याका बारेमा स्थानीयले जानकारी गराए । कार्यालयले खानेपानीको समस्या समाधानका लागि पहल गर्ने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनीधी पोख्रेलले बताए । अहिलेसम्म त्यसक्षेत्रबाट कुनै पनि जानकारी नआएको भन्दै प्रमुख पोख्रेलले त्यहाँका स्थानीय खानेपानीको समस्याका बारेमा जानकारी गराउन आए समस्या समाधानका लागि पहल गर्ने बताए ।