खेमराज रिजाल
तुलसीपुर, १४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्र्व सिंचाइमन्त्री दीपक गिरीले मुलुकमा सरकार नभएको बताएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाले विश्वलाई तर्साइरहेको अवस्थामा वर्तमान सरकार नागरिकको ज्यान बचाउन भन्दा पनि आफ्नै कुर्सी विवादमा अलमलिएको अवस्थाले सरकार चलिरहेको अवस्थानै नदेखिएको गिरीको अभिव्यक्ति थियो ।
‘मलाई लाग्छ, यो सरकार चलिरहेको छैन, किनकि संघीय संसद ठप्प छ, प्रादेशिक संसद पनि ठप्प प्राय रहेका छन्, कोभिडको संक्रमणबाट मुलुकलाई कसरी अघि बढाउने परिकल्पना गर्नुको साटो आफ्नो कुर्सी कसरी सुरक्षित गर्नेमा सरकार लागिपरहेको छ’—रिपोटर्स क्लवले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्य गिरीले भने ।
एकपछि अर्को काण्डमा मुच्छिएको सरकारले मुलुकलाई गतिदिनुको साटो आफ्नै अपवित्र गठवन्धनको सरकारलाई चलाउन समेत असफल भएको गिरीको अभिव्यक्ति थियो । विकास निर्माणमा भन्दा पनि आफ्नै आसेपासेलाई सकेसम्म कमाउन निर्देशित गरिरहेको सरकार काण्डै काण्डमा फसेको बताउंदै उनले यो सरकारले जनताको समृद्धिलाइ पुरै धोका दिएको बताए । ‘जनता जनार्दन हुन्, तर यो अपवित्र गठवन्धनको सरकारले एक पटक झुक्यायो, सायद कम्युनिष्ठलाई अर्कोपटकको चुनावमा उम्मेदवार खोज्न पनि मस्किल हुनेछ’—नेता गिरीले भने ।
दाङबासीको समृद्धिको आधार तुलसीपुर विमानस्थललाई स्तरोन्नतिकालागी नेपाली कांग्रेस लागिरहेको अवस्थामा यो सरकार टरिगाउँ विमानस्थलमा लाखेनाच नचाउन थालेको अभिव्यक्ति दिए । ‘सात दशक देखिको दाङको हवाइसेवालाई समेत यो सरकारले धावा बोलिरहेको छ, किनकि प्रदेश सरकार र संघीय सरकारको बजेट बक्तव्य तथा रातो कितावमा पनि टरिगाउं विमानस्थललाई संम्बोधन हुन सकेको छैन’—नेता गिरीले भने ।
बर्तमान सरकारले कांग्रेसले ल्याएका क्रममागत योजनाका विकास निर्माणका आयोजनालाइ पनि तितरवितर पार्न खोजेको नेता गिरीको आरोप थियो । ‘हामीले महत्व दिएर धेरै सडकलाई संघीय योजनामा पारेका थियौं, तर वर्तमान सरकारले यी योजनाहरुलाई भताभुग पार्न खोजिरहेको छ, कसैलाई पालिकामा त कसैलाई प्र्रदेश सडक आयोजनाका नाममा वेवारिसे र गुणस्तरहिन बनाएको छ’—गिरीले भने ।
त्यसै अवसरमा उनले एमसिसी अमेरिकाको सहयोग प्याकेज भएको भन्दै यसमा नझुक्किन पनि आम नेपालीहरुलाई आग्रह गरे । आकास जस्तै छर्लङ एमसिसी भएको भन्दै त्यसमा नेकपाका केही व्यक्तिहरुले जनतालाई झुक्याउने प्रयास मात्र गरिरहेको बताए । यसअघि युएसएडकै परियोजना अन्तर्गत राप्ती एकिकृत विकास परियोजनाले दाङमा धेरै विकास निर्माणका योजना सम्पन्न भएको बताउँंदै एमसिसी विकाशोन्मुख मुलुककालागी अपरीहार्य भएको नेता गिरीको भनाई थियो ।
त्यसमा नेकपाका केही नेताहरुबाट भएका अनर्गल प्रचारले नागरिक नझुक्किन आग्रह गरेका थिए । ‘मुलुकको ठुलो बजेटभार दातृ निकायको सहयोगबाट चल्दै आएको छ, यदि अव कुनैपनि निकायको सहयोग चाहिन्न भन्ने हो भने नेकपाले त्यहि निर्णय गरेर सरकारलाई चलाएर देखाउन म चेतावनी दिन चाहन्छु’—केन्द्रीय सदस्य गिरीले भने ।
सहमहामन्त्री साथीहरुको आग्रह मात्रै :
यसैबीच केन्द्रीय सदस्य गिरीले साथीभाइको आग्रह र केन्द्रीय नेतृत्वको सल्लाहमा आफु केन्द्रीय सदस्यबाटमाथि उक्लने आशय व्यक्त गरेका छन् । फागुनको अन्तिम साता तोकिएको पार्टी महाधिवेशनमा उनले पार्टीलाई नयाँं शिराबाट अघि बढाउनकालागी आफुलाई साथीभाई तथा आदरणिय नेता गणहरुले सहमन्त्रीकालागी आग्रह गरिरहेको समेत खुलासा गरे । आवश्यकता महसुश भएको अवस्थामा आफु सो पदमा लड्न पनि तयार रहेको खुलासा नेता गिरीको भनाई थियो ।
आफुले अझै उम्मेदवारी घोषणा आइनसकेको स्मरण गराउंदै नेता गिरीले सवैले मागे आफु त्यो पदकालागी सक्षम भएको पनि दावी गरे । पहिले दाङ जिल्ला, त्यसपछि पाँंच नंम्वर प्रदेश र अन्य प्रदेशमा समेत पुगेर साथीभाईहरुको सल्लाहमा आफु कुन पदमा लड्ने भन्ने विषयमा निक्र्यौल गर्ने उनको अभिव्यक्ति थियो । ‘मेरो पनि आशय माथि उक्लनेनै हो, कुन पदमा भन्ने विषयमा पछि यहिं आएर भन्ने छु’उने भने ।
पार्टीलाई अनुसासन र आचरणमा चलाउनुपर्ने भन्दै आचरण विपरीतका नेता कार्यकर्तालाइ कारवाही गर्नु न्यायोचित भएको अभिव्यक्ति दिएका छन् । ‘पार्टी अनुसासन विपरीत जानेलाई पार्टी केन्द्रीय अनुसासन समितिले छानीछानी कारवाही गर्नुपर्छ भन्ने हो, कसलाई कारवाही गर्ने भन्ने सोही समितिले निक्र्यौल गर्ने हो’—नेता गिरीले भने ।
प्रदेश सभाषदलाई सम्मान
यसैबीच रिपोटर्स क्लवले सोही कार्यक्रममा प्रदेश सभा सदस्य शंकर गिरीलाई स्वागत तथा सम्मान समेत गरेको थियो ।
त्यस अवसरमा बोल्दै प्रदेश सभा सदस्य गिरीले बाह्र जिल्लाबाट कांग्रेसमा परेको जनमतलाई आफुले सम्मान गर्ने बताए । आफु संसदीय अभ्यासमा पहिलो पटक आएको बताउंदै जनजीविका र विकास निर्माणका सवालमा प्रदेश सरकारमा खरो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि बताए । ‘वर्तमान अवस्थामा प्रदेश सरकार पनि जनताको जीउज्यान बचाउने भन्दा पनि सरकारको आयु लम्व्याउनेमा तल्लीन भएको छ, मुख्यमन्त्री शकर पोख्रेलले पनि यसैका उदाहरण हुन्’—प्रदेशसभा सदस्य गिरीले भने ।
प्रदेशभरी कोभिडको संक्रमणले अर्थतन्त्र धरासायी बनाएको अवस्थामा मुख्यमन्त्री भने प्रधानमन्त्रीको कुर्सी जोगाउन कान्तिपरीमा वकालत गरिरहेको अभिव्यक्ति दिए । यो फरक अभ्यासमा पनि आफुले बाह्रै जिल्लाबाट नेपाली कांग्रेसबाट पाएको समानुपातिक मतको सम्मान गर्दै आफु अघि बढ्ने सांसद गिरीको अभिव्यक्ति थियो ।
कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य केशव आचार्य, क्षेत्रीय सभापति जगतबहादुर खड्का, महिला नेतृ देविका नेपाली, क्षेत्रीय सभापति खिमवहादुर वली, युवा नेता प्रमोद बस्नेतलगायतका कार्यकर्ताहरुको उपस्थीति रहेको थियो । कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।