ब्रह्मकुमारिज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङको गहना : भण्डारी

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्रले दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मधुवन टोल विकास संस्थामा ब्रह्मकुमारिज मधुवन आध्यामिक पुनर्जागरण केन्द्र निर्माण गर्दैछ ।

विकृत र अशान्त बन्दै गएको समाजलाई आध्यात्मिक शिक्षाका माध्यमबाट सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्यका साथ त्यस्तो अभियान सञ्चालन गर्न सहयोग पुग्ने गरी सो पुनर्जागरण केन्द्र स्थापना गर्न लागेको जानकारी सो संस्थाले दिएको छ । १५ करोड ५० लाखको अनुमानित लागतमा निर्माण हुँदै गरेको सो केन्द्रमा राजयोग सभागृह, आध्यामिक जीवन मूल्य संग्रहालय, राजयोग कक्ष, बैठक कक्ष, पुस्तकालय, कार्यालय, नियमित कक्षा, काउन्सिलिङ कक्ष, श्रव्य–दृश्य कक्ष, भोजनालय, सवारी पार्किड क्षेत्रलगायतका संरचनाहरू निर्माण गरिँदै छ ।

दाङको गहनाका रुपमा निर्माण हुन थालेको मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र निर्माण समितिको अध्यक्षमा घोराही उपमहानगरपालिका–१४ निवासी जनकपुर चुरोट कारखानाको क्षेत्रीय प्रबन्धकबाट अवकास प्राप्त भएका यज्ञबहादुर भण्डारी रहनुभएको छ । प्रस्तुत छ, सो भनव निर्माणका विषयमा उहाँसँग गोरक्षको साप्ताहिक सातावार्ताका लागि गोरक्षकर्मी लिलाधर वलीले गरेको कुराकानीको सम्पादित अंश ।

 मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको काम कसरी भइरहेको छ ?

मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको भवन निर्माणको काम गत मंसिर महिनादेखि सुरु भएको हो । त्यस क्रममा अहिलेसम्म एउटा भवनको जग र फाउण्डेशन निर्माणको काम सकेका छौँ ।

धेरै काम गर्ने सोच भए पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमका कारण सरकारले गरेको लकडाउनले गर्दा हामीले अपेक्षाकृत रुपममा काम गर्न सकेनौँ । गत वर्ष नेपाल सरकारले सहरी विकास तथा भवन निर्माण कार्यलयमार्फत् दिएको ४० लाख र अन्य विभिन्न दाता तथा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा लागेका भाइबहिनीको सहयोगमा भवन निर्माणको काम गरिरहेका छौँ ।

अहिलेसम्म करिब ४८ लाख रुपैयाँ खर्च भइसकेको छ । अहिले वर्षातको समय भएकाले काम हुनसकेको छैन । वर्षात सकिएपछि पुनः भवन निर्माणको काम सुरु हुनेछ ।

महत्वाकांक्षी योजनाको रुपमा रहेको आध्यात्मिक पुनर्जागरण केन्द्रको निर्माणको रकम ठूलो रहेको छ, रकम कसरी जुटाउनुहुन्छ र यो कहिलेसम्म सकिएला ?

 हामीले यसलाई महत्वाकांक्षी योजनाका रुपमा लिएका छैनौँ । झट्ट हेर्दा ठूलो लगानीको योजना देखिए पनि सबैको साथ र सहयोग भएमा ठूलो योजना होइन ।

दाङसहित राप्ती क्षेत्रमा बढ्दै गइरहेको दुव्र्यसन र डिप्रेशनबाट मुक्त गरेर मानवमा अन्तरनिहित मूल्य र गुणहरुको विकास गर्न एउटा राष्ट्रिय स्तरको आध्यात्मिक पुनर्जागरण केन्द्रको आवश्यकता छ । त्यसका लागि यो आध्यात्मिक केन्द्रले महत्वपूर्ण भूमिका खेल्नेछ । यो भवन निर्माण भएपछि दाङको लागि मात्र नभएर देशभरिकै लागि गर्व गर्नसकिने घोराही उपमहानगरपालिकाको चिनारी हुने छ ।

दाङ क्षेत्रको विकास, शान्ति समाज निर्माणका लागि संस्थाले अतिमहत्वपूर्ण भूमिका सँगै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको राष्ट्र निर्माणको कार्यमा सहयोग पु¥याउने उद्देश्यले दाङको केन्द्रका रुपमा रहेको घोराही उपमहानरपालिकाको घोराहीमा रि–ट्रिट सेण्टर र एउटा आकर्षक र ज्ञान प्रबद्र्धक आध्यात्मिक केन्द्र निर्माणको काम थालेका हौँ ।

अहिले संघीय सरकार, स्थानीय सरकार र केही जनप्रतिनिधिहरुको सहयोगमा भवन निर्माणको काम गरिरहेका छौँ । ५ देखि ६ वर्षको अवधिमा निर्माण सक्ने संस्थाको उद्देश्य रहेको छ । सहयोग हामीले उठाउने होइन । हामी माध्यम मात्र हौँ । यो सबै काम बाबाको हातमा रहेको छ ।

सहयोग जुटाउनका लागि हामी संघीय, प्रदेश, स्थानीय सरकारसँगै जनप्रतिनिधि, संघसंस्थाहरुसँग समन्वय गरिरहेका छौँ । तर कोरोनाका आर्थिक क्षेत्रमा परेको असरका कारण हामीलाई पनि भवन निर्माणमा समस्या देखिएको छ । जसले गर्दा अपेक्षा गरेअनुसारको सहयोग पाउनसकेका छैनौँ । धेरैले आश्वासन दिए पनि सहयोग गर्न सक्नुभएको छैन । सहयोग नजुट्दा भवन निर्माणको काम केही पछि सर्छ कि भन्ने लागेको छ ।

भवन निर्माणका लागि कस्तो प्रकारको सहयोग जुटिरहेको छ ?

 यसलाई अघि बढाउन ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग केन्द्र राप्ती क्षेत्रीय प्रमुख ब्रह्मकुमारी गीता दिदीको महत्वपूर्ण भूमिका रहेको छ । उहाँको कुशल नेतृत्वका कारण यो क्षेत्रमा विश्वविद्यालय एउटा विश्वसनीय र बलियो संस्थाका रूपमा स्थापित छ । जसले गर्दा यो संस्थाको लक्ष्य पूरा गर्ने क्रममा सहयोगीहरूको संख्या प्रशस्त छ ।

मधुवन आत्यामिक केन्द्र निर्माणका लागि सहयोगी मनहरुलाई सम्झँदा सबैभन्दा पहिले सम्झनुपर्ने नाम हो, देवराज पाण्डेय । राजयोग केन्द्रलाई उहाँले हालको मूल्य जोड्ने हो भने करिब २४ देखि २५ करोडको करिब सात कठ्ठा १५ धुर जग्गा नदिएको भए यो भवन निर्माण हुनसक्ने थिएन । उहाँले यो भवन निर्माणका लागि जग्गा दान गरेर ठूलो पुण्यको काम गर्नुभएको छ । त्यसैगरी अन्य सहयोगीहरूको सूचि पनि हामीसँग छ । त्यो सूचिमा नाम थपिने क्रम पनि छ । जसले हामीलाई उत्साहित बनाइरहेको छ ।

भवन निर्माणका लागि ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्र नेपालसँग आफ्नो छुट्टै पैसा छैन । त्यसैले भवन निर्माणको सम्पूर्ण कार्य संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, दाताहरु र ब्रह्मकुमारी ईश्वरीय विद्यालय राजयोग केन्द्रमा लागेका भाइबहिनीहरू र सहयोगीहरूको सहयोगमा बन्ने हो । भवन निर्माणका लागि संघीय सरकारले गएको वर्ष ४० लाख रुपैयाँ सहयोग गरेको थियो ।

भवनको शिलन्याशका दिन ९ लाख रुपैयाँ संकलन भएको थियो । त्यहीगरी मधुवन टोल विकास संस्थाले एक लाख रुपैयाँ सहयोग गरेको छ । यसैगरी विभिन्न महिला समूह, दाताहरुको सहयोगमा संकलन भएको रकमबाट भवन निर्माणको कामलाई अघि बढाएका छौँ । कतिपय दाताहरुले आफ्नो नाम गोप्य राख्ने भन्नुभएको छ । यस वर्ष संघीय सरकारले पुनः ४० लाख रुपैयाँ विनियोजन गरिदिएको छ । त्यस्तै प्रदेश सभा सदस्य अर्जुनकुमार श्रेष्ठ र घोराही उपमहानगपालिकाले दश÷दश लाख रुपैयाँ सहयोग गर्नुुभएको छ । बाँकी अन्य विभिन्न संघसंस्था तथा व्यक्तिहरुले पनि सहयोग गरिरहनुभएको छ ।

कतिपयले देखाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने कतिपयले आफ्नो नाम सार्वजनिक नगर्ने गरी सहयोग गरिरहनुभएको छ । कोरोना भाइरसका कारण परेको असरले गर्दा अपेक्षाकृत सहयोग उठ्न सकेको छैन । आशा छ कोरोना सकिएपछि सहयोग दाताहरुले हात फैलाउनुहुनेछ ।

 मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको छ कि नाई ?

मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको भवनको शिलन्याश आदरणीय प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुभएको हो । यो आध्यात्मिक पुनर्जागरण केन्द्र तथा वहुउद्देयीश्य सभाहल उहाँको आफ्नै जिल्ला र निर्वाचन क्षेत्रमा नै निर्माण हुन थालेको छ ।

भवन निर्माणको शिलन्याश समेत उहाँले गरेकाले भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्नेछ भन्ने हाम्रो ठूलो आशा छ । शिलन्याशका क्रममा उहाँले यस्ता सामाजिक कार्यहरु जनस्तरको सहयोगबाटै गर्न सकिने बताउनुभएको थियो । तथापि उहाँले निर्माणमा समस्या परेको खण्डमा सहयोग गर्ने समेत बताउनुभएको हो । त्यसैले पुनः उहाँले सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

कोरोना भाइरसको महामारीका कारण यसपटक हामीले बजेट विनियोजन हुँदा मुख्यमन्त्रीलाई भेट्न पाएका छैनौँ । कोरोना भाइरसको जोखिम कम भएपछि हामी उहाँलाई भेट्न जाने विचार गरेका छौँ । दाङको गहनाका रुपमा निर्माण हुन थालेको आध्यात्मिक केन्द्रको लागि प्रदेश सरकारले अवश्य बजेट सहयोग गर्नेछ भन्ने आशा छ । तर अहिलसम्म बजेट सहयोग गरेको छैन ।

 मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको मुख्य उद्देश्य के हो ?

केन्द्रको मुख्य उद्देश्य भनेको ब्रह्मकुमरीय ईश्वरीय विश्वविद्यालले प्रदान गर्दै आएको राजयोग शिक्षा दिने हो । त्यसका लागि हामीले नियमित रुपमा कक्षा चलाउने छौँ । जहाँ सकारात्मक चिन्तन, तनाव व्यवस्थापन, लागूऔषध दुव्र्यसनी विरुद्धको शिक्षा, शान्ति अनुभूतिका शिविर चलाउने र योग र जीवन मूल्यको बारेमा मानिसहरुलाई ज्ञान दिने मुख्य उद्देश्य रहेको छ ।

वर्तमान समयमा अतिभौतिकवाद, सहरीकरणद्वारा उत्पन्न पर्यवारण प्रदूषण, कोलाहलयुक्त वातावरणका कारण मानव मनभित्र उत्पन्न चिडचिडापन, मानसिक तनाव, अस्थिरता, दुःख एवं अशान्तिको साथसाथै पारिवारिक बेमेल, चारित्रिक दुर्बलतालाई आध्यात्मिक शिक्षाका माध्यमबाट परिवर्तन गराउने हो । सकारात्मक चिन्तन, शान्त र स्वच्छ समाजको निर्माण गर्ने संस्थाको उद्देश्य रहेको छ । यद्यपि संस्थाले अहिले पनि गरिरहेको छ ।

तर यसलाई विस्तृत रुपमा गर्नका लागि आध्यात्मिक पुनर्जागरण केन्द्रको निर्माण गर्न थालेका छौँ । जहाँबाट सर्वसाधरण नागरिक, युवा, शिक्षक, कर्मचारी, कारागारका कैदीबन्दीलगायत खराब बाटोमा लागेका मानिसहरुलाई पनि सुधार गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य रहेको छ । उहाँहरुलाई जीवन मूल्यको शिक्षा दिएर शान्तिको अनुभूति दिलाउने छौँ । त्यसका लागि संस्थाले राजयोग सभागृह, आध्यात्मिक जीवन मूल्य संग्रहालय, राजयोग कक्ष, बैठक कक्ष, पुस्तकालय, कार्यालय, नियमित कक्षा, काउन्सिलिङ कक्ष, श्रव्य–दृश्य कक्ष, भोजनालय, सवारी पार्किङ क्षेत्रलगायतका निर्माण गर्दैछौँ । जुन निकै आकर्षक एवं मनोहक हुने छन् ।

दाङको गहनाका रुपमा निर्माण हुन थालेको मधुवन आध्यात्मिक केन्द्रलाई जिल्लाका स्थानीय सरकार तथा जनप्रतिनिधिहरुलगायतबाट किन सहयोग उठ्न नसकेको होला ?

 यो अत्यन्त महत्वपूर्ण विषयको उठान् गर्नुभयो । हामी पनि यो कुरामा संवेदनशील छौँ । हरेक निर्माणका कुराहरुलाई फरक ढङ्गले लिने गरिन्छ । त्यसको असर हामीलाई पनि परेको छ । हामी यो क्षेत्रमा काम गरिरहेकाले दाङको मात्र नभएर नेपालकै गहनाका रुपमा हुनेछ भन्नेमा ढुक्क छौँ । यो निर्माण भएपछि ब्रह्मकुमारीय ईश्वरीय विश्वविद्यालयले मात्र प्रयोग गर्ने पनि होइन ।

हामीले ५ सय बढी अट्ने सभागृह बनाउँदै छौँ । दाङमा अहिले पनि ठूला कार्यक्रमहरु गर्नसक्ने अवस्था छैन । यसका लागि सभागृहले ठूलो भूमिका खेल्नेछ । यसैगरी आवासीय भवनलगायतका कार्य निर्माण हुँदैछन् । पक्कै पनि यी बनेपछि दाङलाई फाइदा हुने हो । त्यसले कतिपय ठाउँमा हामीले बुझाउन नसक्दा होला कतिपय ठाउँमा बुझेर पनि सहयोग गर्न सक्नुभएको छैन ।

संघीय सरकारबाट क्रमशः सहयोग जुटिरहेको छ । तर प्रदेश सरकार, स्थानीय सरकरलगायत जनप्रतिनिधिहरुबाट जुन अपेक्षा थियो त्यो हामीले प्राप्त गर्न नसकेको पक्कै पनि हो । सबैको साझा केन्द्र आध्यात्मिक केन्द्रका लागि अवश्यक सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा हो ।

 अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

 ब्रह्मकुमारीय ईश्वरीय विश्वविद्यालयले दाङको घोराहीमा १५ करोड ५० लाखको लागतमा जुन संरचना निर्माण गर्न थालेको छ त्यो आध्यात्मिक शिक्षाका माध्यमबाट दुव्यर्सनका कारण विकृत र प्रदर्शनयुक्त र हत्या, हिंसा, बलात्कारलगायतका कारण बिग्रँदै गएको समाजलाई सुशासन, शान्ति र मावनताको ज्ञान दिने उद्देश्यले मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको रुपमा निर्माण हुन थालेको हो ।

पवित्र उद्देश्यका साथ निर्माण हुन थालेको भवनलाई सबैको सहयोगबाटै निर्माण गर्न सक्नेछौँ । भवन निर्माणका लागि हामीलाई आर्थिक कठिनाई परेको छ । भवन निर्माणको लागि सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका खेलिदिनुहुनेछ भन्ने हाम्रो अपेक्षा हो ।

अन्त्यमा फेरि पनि दाङको गहनाका रुपमा निर्माण हुन थालेको ब्रह्मकुमारिज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको भवन निर्माणको कार्यमा सम्पूर्ण स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग जनप्रतिनिधिहरु, सहयोगी मन तथा दातालगायतका संघसंस्थाहरुलाई सहयोगसँगै सुझाव दिनुहुन विनम्र आग्रह गर्दछु ।