इमानदारिता समृद्धिको आधार हो

नारायणप्रसाद श्रेष्ठ

भौगोलिक दृष्टिले दुई ढुङ्गाबीचको तरुल भएर रहेको नेपालको राजनैतिक दूरदर्शीता भनेको आन्तरिक सुसंगठन बलियो बनाई दुई शक्तिशाली राष्ट्रलाई मित्रताको गाँठोमा कसिलो बनाई अन्तर्राष्ट्रिय सम्बन्धलाई सुमधुर बनाउनु हो ।

पञ्चशीलको सिद्धान्त बोकी असंलग्न राष्ट्रले निर्वाह गर्ने सिद्धान्तलाई आत्मसात गरी आपसी समझदारी कायम गर्दै अघि बढ्नु हो । कोही कसैप्रति कुनै किसिमको आग्रहपूर्वाग्रह नराखी आपसी समझदारीको आधारमा सम्बन्धलाई फराकिलो दायरामा लग्दै राष्ट्रलाई समृद्ध बनाइराख्नु हो । त्यसैले यसको लागि राजनीतिक नेतृत्ववर्गको सोच र चिन्तनमा विश्वास र इमानदारिता बढ्न जरुरी हुन्छ ।

इमानदारिता नै राष्ट्रको समृद्धिको आधार हो भन्ने बोध गरी नेतृत्वले निर्वाह गर्ने कर्म र व्यवहारमा दूरदर्शी चिन्तन देखापर्नु पर्दछ । राजनैतिक क्षितिज दह्रो र भरोषायुक्त हुनुपर्छ । कुशल नेतृत्वको दूरदर्शी चिन्तन नै राष्ट्रिय विकासको आधार हो भन्ने मान्यतालाई शिरोधार्य गर्दै त्यसलाई सार्थकता दिनु पर्छ । आफू भलो त जगत भलोको सिद्धान्त अनुकुल इमानदारिता प्रदर्शन गर्नुपर्छ । कुनै पनि चिन्तन प्रवाह गर्नुपूर्व पहिले आफूलाई हेर्नुपर्छ र त्यसपछि आफ्नो कर्म र व्यवहारलाई परिस्कृत गर्नुपर्छ । मेरो कर्मले कतै अरुको मानसम्मान र कर्ममा आघात पुगेको त छैन भनी सोचेर मात्र आफ्ना कर्मलाई अगाडि बढाउनु पर्छ ।

एउटा घरको जग जति मजबुत हुन्छ त्यति नै त्यो घरको आयु लामो र अवस्था मजबुत हुन्छ । मनोविज्ञानका अनुसार एउटा व्यक्ति तब मात्र सफल भएको मानिन्छ जब उसले प्रतिपादन गर्ने कर्म र ज्ञान अनुशासनयुक्त हुन्छ । त्यसैले ज्ञान, सीप र क्षमता नै नेतृत्ववर्गको चिनारी हुने हुँदा नेतृत्व तहले आफूलाई प्रस्तुत गर्दा आफूलाई सीमित घेराभित्र नराखी वा व्यक्तिविशेषको कुराभन्दा राष्ट्रिय स्वाभिमान र समृद्धिको आधारतर्फ ध्यान दिनु पर्छ ।

नेतृत्ववर्गको कर्म भनेको राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा यसको गरिमा बढाउने कार्य गर्नु हो । राष्ट्रिय राजनीतिलाई समृद्ध नेपालको आधार बनाउनेतर्फ केन्द्रित गर्नु हो । जबसम्म नेतृत्व तहले सही र स्पष्ट दिशा निर्देशन गर्न सक्दैन तबसम्म राजनीतिले स्पष्ट गति लिन सक्दैन । विकासका पूर्वाधारदेखि जनताका आवश्यकता परिपूर्ति हुने आवस्था सिर्जना हुन सक्दैन ।

त्यसैले सामाजिक क्षेत्र होस् वा आर्थिक, राजनैतिक र सांस्कृतिक क्षेत्र किन नहोस् त्यसको सुदृढीकरणको लागि नेतृत्ववर्गमा सक्षमता र इमानदारिता हुनु जरुरी हुन्छ । नेतृत्व क्षमता कुशल भएका व्यक्तिहरुबाट नै राष्ट्रले समृद्धिको दिशा निर्धारण गर्न सक्दछ । तसर्थ यस कुरालाई मनन् गरी आफू र आफूले नेतृत्व गरेको पार्टीलाई एकसूत्रमा बाँधी जनअभिमतलाई सर्वसम्मत गराउने वातावरण बनाउनु पर्छ ।

राजनीतिमा जनताका भावना जित्नलाई गरिने प्रत्येक क्रियाकलापमा पनि निःस्वार्थपन आउन जरुरी हुन्छ । गुट–उपगुट बनाई सीमित घेराभित्र आफूलाई परिचालन गर्नु भनेको नयाँ पिढीलाई सन्देहयुक्त राजनीतिक विषय सिकाउनु हो । अहिले आन्तरिक किचलोले अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको उपस्थिति फितलोपन देखापरेको छ । पार्टीहरुबाट तर्कपूर्ण राजनीतिक सोच बृद्धि गर्नुको बदला क्षणिक स्वार्थमा राजनीतिलाई डो¥याउन खोजेको स्थिति छ । एकातिर प्राप्ति नै उपलब्धि हो भन्नेतर्फ नेतृत्वको ध्यान केन्द्रित छ भने अर्कोतर्फ हठवादी चिन्तन देखा पर्दै छ ।

सार्वभौम र स्वतन्त्र पहिचान बढाई विश्वरंगमञ्चमा देखाउनुपर्ने अवस्थामा निजी स्वार्थका कारण अल्मलिएको अवस्था छ । पार्टीलाई धरासायी बनाउनेतर्फ नेतृत्व लागिपरेको अवस्था पनि देखिन्छ । मैले जे गर्छु राम्रो गर्छु, म वाहेक अरु योग्य हुन सक्दैन जस्तो गरी सीमित घेरामा राजनीतिलाई डो¥याउन खोजेको देखिन्छ ।

पुर्खाले देखाएको राजनीतिक दूरदर्शीताको हवाला दिँदै म त उनैको निर्देशनअनुसार राजनीति गर्दैछु पनि भन्दै हिड्ने अरुको विचारलाई पनि दबाउँदै जाने यस्तो प्रवृत्ति पनि वर्तमानमा मौलाउँदै जान थालेको छ । यसले राष्ट्रिय राजनीतिमा विविध किसिमले तरंग पैदा भएको देखिन्छ । जनचाहना एकातिर राजीतिज्ञको चाहना कतातिर ? जस्तो किसिमले पनि यसलाई हेरिँदै गएको पाइन्छ ।

नरहे बाँस न बजे बाँसुरी भनेझैँ भ्रमित राजनीतिक परिदृश्य देखापर्नु वास्तवमा नैतिक र चरित्रवान् नीतिज्ञको लागि सुहाउने विषय होइन । नेतृत्वले सबैको विचार समेट्न सकेन भने त्यो स्वार्थपरक राजनीतिमा केन्द्रित हुन पुग्छ । यसले न त दूरदर्शीता बोध गराउँछ न त जिम्मेवारी वहन गरेको देख्न सकिन्छ । यस्तो अवस्था आउनु भनेको आफैलाई धोका दिनु हो । विचार र सोचमा संकुचन बढाउनु हो । यसले एकातिर राष्ट्रिय राजनीतिमा गलत धारणा विकसित हुन पुग्छ भने अन्तर्राष्ट्रिय राजनीतिक दूरदर्शीतामा समेत नराम्रो असर पर्न सक्छ ।

तसर्थ, नेपालको ऐतिहासिक राजनीतिक पृष्ठभूमिले सिकाएको राजनीतिक सक्षमता वर्तमान नेतृत्वकर्तामा हुन जरुरी छ । राणा शासनको अन्त्यपछि जसरी प्रजातन्त्रको उदाय हुँदा नेतृत्वले आफ्नो भूमिका निमाए, नेपालले कहिल्यै पनि आफ्नो स्वाभिमानलाई अरुको बन्धनमा राख्नु परेन, सधैँ स्वतन्त्र र सार्वभौम रहेर राष्ट्रलाई यो अवस्थासम्म ल्याइपु¥याए ।

यसरी नै वर्तमानमा राजनीतिज्ञमा सकारात्मक चिन्तन बढ्नु परेको छ । यो मेरो जिम्मेवारी होइन भनी जिम्मेवारीबाट पञ्छिने प्रवृत्ति राष्ट्रको लागि घातक हुनसक्छ । पदमा रहेर वा नरहेर पनि राष्ट्रप्रति वफादार प्रष्ट्याउनु छ भने राष्ट्रिय समृद्धि वा अन्य कूटनीतिक क्षेत्रमा सबैको उत्तिकै जिम्मेवारीबोध हुने गरी आफूलाई प्रस्तुत गर्नु पर्छ । दूरदर्शी नेतृत्वलाई साक्षी राखी आफूलाई प्रदर्शन गर्नु छ भने उनीहरुले सिकाएको मार्गमा आफूलाई परिचालन गर्न सक्नुपर्छ ।

विचार र चिन्तनमा सकारात्मक भाव बढाई यो र त्यो भन्नुभन्दा हामी सबै एक हौँ, हाम्रो भविष्य हाम्रै काँधमा छ भन्दै आफूले आफैलाई आफ्नो अस्तित्व बढाउने जिम्मेवारी र इमानदारिता प्रदर्शन गर्नु पर्छ । स्वार्थपरक राजनीतिक सोच परित्याग गरी सबैको साझा नेता बन्ने प्रण गर्नु पर्छ । जनतामा कुनै किसिमको नैराश्यता नआउने गरी समान र समतामूलक विचार सम्प्रेषण गर्नु पर्छ । पद मात्र ठूलो होइन । पद प्राप्त गर्ने आधार मजबुत हुने गरी आफूलाई प्रस्तुत गर्नु पर्छ ।

राष्ट्रमा आइपर्ने कुनै पनि समस्यालाई समाधान गर्ने सन्दर्भमा सबैको एउटै आवाज हुने गरी विचार प्रवाह गर्नु पर्छ । केही समय अघिदेखि मौलाउँदै जाने थालेको परायामुखी राजनीतिक चरित्र छोड्नु पर्छ । कुनै पनि कार्य गर्नुपूर्व त्यसले ल्याउने परिणामको गम्भीर विश्लेषण गरी स्वच्छ र पवित्र आचरण प्रदर्शन गर्ने अभ्यास गर्नु पर्छ ।

स्वाभिमान भएर बाँच्न सिकाएको पुर्खाले कोरेको इतिहासलाई जीवन्तता दिँदै सोचमा दूरदर्शीता र कर्ममा सकारात्मकता देखाउनु पर्छ । हाम्रो देश हाम्रो स्वाभिमान राष्ट्र निर्माणमा हाम्रो दायित्व भनी आफूलाई जिम्मेवारीबोध गराउन सक्नु पर्छ । इमानदारिता राजनीतिक धर्म हो । सक्षम र कुशल नेतृत्वबाट नै राष्ट्रिय राजनीतिमा सफलता हासिल गर्न सकिन्छ ।

त्यसैले यस कुरालाई मनन् गरी प्रत्येक नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेतृत्वमा दूरदर्शी चिन्तन बढ्न जरुरी छ र इमानदारिता प्रदर्शन गर्नु जरुरी हुन्छ । किनकि इमानदारिता नै समृद्ध राष्ट्रको आधार हो । राष्ट्रले त्यही खोजिरहेको छ ।