घोराही–५ मा ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच
घोराही, २७ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. ५ ले ज्येष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य उपचार गर्न सुरु गरेको छ । घोराही उपमहानगरपालिकाको स्वास्थ्य कार्यक्रम अन्तर्गत आज शुक्रवारदेखि घोराही उपमहानगरपालिका वडा नं. ५ को धारपानी टोल विकास सस्थाबाट ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्न सुरु गरिएको हो ।
घरमै पुगेर स्वास्थ्य चेकजाचसँगै उपचार, औषधी बितरणसँगै जटिल खालका विरामीहरुलाई स्वास्थ्य परामर्श दिन थालेको घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिष्णुमणि दाहालले जानकारी दिएका छन । वडाअध्यक्ष दाहालका अनुसार स्वास्थ्यकर्मीको टोलीले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँचको कार्यक्रम सुरु गरेका हुन ।
स्वास्थ्य कार्यक्रमको पहिलो दिन धारपानी टोल विकास सस्थ्यका ११ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिषणमा धर्ना स्वास्थ्य चौकीका हेल्थअसिसटेन्ट प्रकाश शर्मा, अनमी लक्ष्मी योगीलगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम अनुसार वडा नं. ५ का ३० वटै टोल विकास सस्थामा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिने भएको छ ।
