ब्रह्माकुमार माधव तिमिल्सेना
सामाजिक सेवासँगै ब्रह्माकुमारीज संस्थालाई ईश्वरीय ‘विश्वविद्यालय’ को मान्यता भन्ने सन्दर्भमा गत अंकमा चर्चा गरियो । ब्रह्माकुमारीजको समाज सेवा र धार्मिक विचार आस्था अनि अन्धश्रद्धामा समय सापेक्षसुधार गर्दै सुसंस्कृत सभ्य र दिव्यतामा जोड दिनुपर्छ भनी दिइने शिक्षालाई आत्मसात गर्न नचाहने धार्मिक संस्थाहरुले स्वार्थवश पुस्तिका एवं पम्प्लेट छापेर हजारौ मानिसहरु वाड्न थाले- दादा लेखराजको पहिला साईकिल मर्मत पसल थियो ।
उनले मेरठमा मायादेवी नामकी एक स्त्रीलाई लिएर भागे । कलकत्तामा जादु सिखेर भोलाभाला माताहरुलाई गुमराहमा राखे । उनलाई सिन्धमा हुँदा जेल समेत भएको थियो । अहो ! आजको मानव झुठ्ठा, कपोलकल्पित तथा अनर्गल प्रचार गरी वातावरणमा भ्रान्ति एवं उत्तेजना फैलाउन कसरी सकेको ? वास्तविकता के हो त्यसको खोज प्रत्यत्न समेत नगरी समाजमा संस्थाको घोर निन्दा र मानिसहरुमा अफवाह सिर्जना गर्ने कुचेष्ठा भन्दा अरु के नै हुन सक्छ र ? ब्रह्माकुमारी संस्थाले माता, कन्याकुमारी अर्थात मातृशक्तिमा नयाँ जागृति, चेतना दिएर विश्व नवनिर्माणको कार्यले तीव्रता लिँदै थियो ।
ब्रह्मचर्य पालना, आहार विहारमा शुद्धि, संयम-नियम र साधना एवं सदाचार र सात्विकताको प्रवल प्रेरणा दिएर गाउँ-गाउँ, वस्ती-वस्तीबाट शंखध्वनि बजाउँदै श्रेष्ठ समाजको स्थापना गर्ने महान अभियानको नेतृत्व गरिरहेको संस्थाका क्रियाकलापहरुलाई बदनाम गराउने प्रपञ्च रचियो ।
सदियौंदेखि धार्मिक कट्टरता, अन्धविश्वास र नारीलाई पर्दाभित्र कैद गर्न रमाउने समाजका केही धर्मको खोल ओढेर परिवर्तन नरुचाउने भीडले जनतामा भ्रमको खेती र भड्काउने धन्धामा जुटे ।
जब कोही समाज सुधारक कुरीति, कुप्रथा या मिथ्यावादको विरुद्ध आवाज उठाउँछ भने विरोध, निन्दा र अत्याचारको शिकार हुनुपरेको इतिहास साक्षी छ । प्रायः प्रत्येक धर्म संस्थापकले यस्तै नियति भोगेको पाइन्छ । श्रीमद्भगवद् गीताको अध्ययनबाट स्पष्ट हुन्छ कि जुन समय भगवानको यस धरामा अवतरण भयो तब मनुस्यहरुले उहाँलाई चिन्न सकेनन् ।
ऋषिगण आफ्ना पत्नीहरु अथवा गोपजन आफ्ना गोपिनीहरुलाई प्रभुको ज्ञान मूरली सुन्नबाट रोक्ने अकृत्य गर्दै रहे । भगवान आउनुभयो, सर्वोच्च धर्मको स्थापना गर्न परन्तु विपरीत बुद्धि भएकाहरुले आफ्नै कुसंस्कारको वश भएर दुष्नाम दिँदै गए । त्यही बृतान्तको पुनरारावृत्ति अब फेरि हुँदैछ । यो संसारमा हामी जन्मिदा फर्किने टिकट समेत सोही बखत लिएर आएका हुन्छौ । आत्मा अजर अमर अविनाशी र चैतन्य छ त्यसैले यो शरीररुपी वस्त्र बदलिरहन्छ ।
देहको हिसावले कोही अमरणशील छैन । विधाताको विधि भनौ नियम ब्रह्माकुमारीज संस्थाकी प्रथम मुख्यप्रशासिका ॐ राधे जसले २८ वर्षसम्म त्याग तपस्या र समर्पण भै संस्थाका हरेक चुनौती र कठिनाईलाई सहज रुपले पार गर्दै संस्थाको गरिमा र उचाईलाई अटल र जीवन्तता दिनुभयो ।
‘यज्ञमाता जगदम्बा सरस्वती मम्मा’ जसले कर्मभोगलाई योगबलद्वारा विजय प्राप्त गरी २४ जुन १९६५ का दिन ४६ वर्षको उमेरमा पुरानो देहलाई त्याग गरी सम्पूणर्ता प्राप्त गर्नुभयो । नारी आवाजकी एक उज्वल नक्षत्र सदाका लागि भौतिक रुपमा हामीबाट विदा हुनुभयो तर उहाँका दिव्यशिक्षा, साधना र सादगी आज पनि ब्रह्मावत्सहरुका लागि पथप्रदर्शक बनिरहेको छन् ।
मातेश्वरीजीको देहावसान पश्चात ब्रहमाबाबाले मातापिताको रुपमा यज्ञवासीहरुलाई सद्गुणले सजाउन क्रियाशील हुनुभयो । श्रीमद्भागवत्मा दत्तात्रेय ऋषिकाबारे लेखिएको छ कि- उनले चौबीस वस्तुहरु अथवा जीवहरुबाट जुन गुण लिएर आफ्नो व्यवहारिक जीवनमा धारण गरे सोही गुणहरुको आधारमा जीवनलाई ज्ञान-निष्ठ, चित्त शान्त र वृत्ति उपराम बनाए ।
त्यसैगरी संस्थापक प्रजापिता ब्रह्माले हामीलाई पनि अनेक वस्तु, परिस्थिति, व्यक्ति र जीव-प्राणीहरुका कुनकुन गुण लिने के कस्ता अवगुणहरु छाड्ने सम्बन्धमा शिक्षा दिनु भएको कुरा ब्रह्माकुमारीजकी वर्तमान अन्तर्राष्ट्रिय मुख्य प्रशासिका राजयोगिनी डा. दादी हृदयमोहिनी बताउनुहुन्छ ।
(क) प्रकृतिका तत्वहरु
१. अग्नि : जसरी सुनलाई शुद्ध गर्न अग्निको आवश्यकता पर्दछ । अग्निमा सबै प्रकारका किंचडालाई जलाएर भष्म गर्न सक्ने क्षमता हुन्छ । त्यसै प्रकार आत्मालाई शुद्ध पवित्र वा कञ्चन बनाउन योग अग्नि जरुरी छ । शिबबाबाको यादले आत्माभित्र रहेको जन्मजन्मान्तरको मैल (मनोविकार) लाई धुलाई गर्न सकिन्छ ।
२. वायु : वायुको गुण हो हल्का । बाबा भन्नुहुन्छ मीठे बच्चे -योगाभ्यासले आत्मामा शरीरको भान रहँदैन र पापको बोझसमेत समाप्त हुन्छ । मनुस्य आत्माले वायु समान हलुकोपन महसुस गर्छ, थकावट हुँदैन र सुस्ती वा आलस्य आउँदैन साथै शरीरको स्थुलता तर्फको खिंचाव रहँदैन ।
३. जल : जलको गुण शिलता हो र कुनै पनि वस्तु धुनु वा शुद्ध पार्नु पनि हो । यही गुणलाई चर्चा गर्दै बाबाले गंगामा स्नान गरेमा शरीर स्वच्छ हुन्छ परन्तु आत्मालाई धुनका लागि ज्ञान गंगाका स्नान गर्नुपर्छ । पानीको गंगा स्नान गर्नाले पाप पखालिन्छ भन्नु भूल हो । जल कुनै एक स्थानमा रोकिएको खण्डमा दुर्घन्धित भएझै ज्ञान गंगाहरु अनेक स्थानमा गएर सेवा गर्नुपर्छ भनी सेवा प्रेरित गर्नुहुन्थ्यो ।
४. चन्द्रमा : चन्द्रमाको शितलतारुपी गुणतर्फ आकर्षिक गदै बाबाको शिक्षा थियो कि- बच्चे तिमीहरु चन्द्रमा समान शीतल र १६ कला पवित्र बन । अब ज्ञान एवं पवित्रताको कलाहरु बढाएर पूणर्मासी अवस्था बनाऊ ।
५. बादल : बादलको उदाहरण दिँदै बाबा हामीलाई सम्झाउनु हुन्थ्यो- जसरी बादलले सागरबाट जल भरेर मैदानमा आएर बर्षात गर्दछ त्यसरी नै तिमी चैतन्य बादल ज्ञान सागरको सम्मुख आएर स्वयंमा ज्ञान जल भर्दै अरुलाई ज्ञानको बर्षाले सिञ्चित गर्नुपर्दछ ।
हुनत यस समय प्रकृतिका एक-एक तत्वहरु पनि तमोगुणी भइसकेका छन् किनकी मनुस्यको कर्मको प्रभाव प्रकृतिमा समेत पर्ने गर्दछ । त्यसैले यी तत्वहरुले समेत आफ्नो नियम मर्यादा छोडेर मनुस्यलाई दुःख दिने निमित्त बन्दैछन् । मनुस्यले प्रकृतिको अन्धाधुन्ध दोहनको परिणाम वाढी-पैरो, तुफान, महामारी, अतिबृष्टि र अनावृष्टि एवं अकाल र भोकमरी आदि-आदिको रुपमा भोगिरहनु परेको छ ।
यी तत्वहरु भविष्यमा सृष्टिको महाविनाशका माध्यम बन्नेछन् र मानव समुदायलाई घोर संकटको सामना गर्न विवश पार्नेछन् । परमात्माको स्पष्ट संकेत छ कि यदि मनुस्यले आफ्नो दिनचर्चा जीवनशैली, आचारण व्यवहार र कर्म तथा चरित्र सुधार्न सकेको खण्डमा प्रकृतिले आफ्नो विनाशी स्वरुपलाई बदलेर मानिसको सुखको मार्ग प्रशस्त गर्नेछ ।
तसर्थ पहिला आफ्ना कर्म ईन्द्रियहरुलाई संयमित र नियन्त्रित गर्नुछ र योगबलद्वारा यिनीहरुको शुभ संकल्प/मन्सा सेवा गर्नुछ । योगबाट नै सारा सृष्टि सतोप्रधान बन्नेछ ।
(ख) जीव-प्राणीहरु
१. मयुर : मयुरलाई पंक्षीहरुमा पवित्र मानिन्छ । श्रीकृष्णको मुकुटमा जो मयुरको प्वाँख हुन्छ वास्तवमा त्यो पवित्रताको सूचक हो । बाबा भन्नुहुन्छ- मेरा अति स्नेही लाडले बच्चाहरु यस जन्ममा तिमीहरु योगी एवं निर्विकारी बन्छौ भने आउने सतयुगी दुनियाँका तिमि मालिक बन्न सक्छौ । पवित्रताको धारणाले मनुस्य विद्धान एवं माहात्मा बन्दछन् ।
२. भ्रमँरी (कुमालकोटी) : जसरी कुमालकोटीले कुनै पनि किरालाई माटोको घरमा बन्द गरेर भूँ…भूँ गरी आखिरीमा आफूजस्तै बनाउँछ । बाबाको शिक्षा छ कि ईश्वरीय ज्ञान पाएका बच्चाहरुको कर्तव्य कुमालकोटी किराजस्तै मानिसहरुलाई ज्ञान सुनाएर आफूजस्तै ज्ञानी योगी बनाउनुपर्दछ । कर्मले शुद्र समान आत्माहरुलाई ज्ञान योगको अभ्यासले ब्राह्मण अर्थात पवित्र बनाउने उच्च कर्तव्य भ्र्रमँरीबाट सिक्नुपर्दछ ।
३. सर्प : सर्पले आफ्नो पुरानो छाला (शरीर) सजिलै छोड्न सक्छ जसलाई हामी काँचुली फेरेको भन्छौ । यसैगरी योग अभ्यासीहरुले शरीरभानलाई छोड्न सिकेका हुन्छन् । अहिले संगमयुगको यो अभ्यासले भविष्यमा सतयुगमा शरीर छोड्दा कुनै कष्ट र दुःख हुँदैन । आजका मनुस्यलाई सर्पमा भएको यो गुण आफ्नो वास्तविक जीवनमा अपनाउन जरुरी छ ।
४. गधा : गधाको मिसाल दिँदै बाबा भन्नुहुन्छ- गधाको बच्चालाई लाखौ श्रृंगार गरे पनि माटोमा लुटपुट परेर सारा श्रृंगारलाई बिगारिदिन्छ । गधा धोएर गाई हुनै सक्दैन । कुनै कुनै मनुस्यहरु यस्ता हुन्छन् जो ज्ञानरुपी आभूषणले जति सजाउने प्रयास गरे पनि आखिरका विकाररुपी धूलोमा लतपतिन्छन् ।
५. कछुवा : बाबा कछुवाको विशेषतालाई स्पष्ट गर्नुहुन्छ- जसरी कछुवाले कार्य समाप्तिपछि कर्म ईन्द्रियलाई समेटेर भित्र राख्दछ त्यसरी नै तिमी बच्चाहरुले आवश्यक कार्य व्यवहार गरेपछि कर्म इन्द्रियलाई नियन्त्रणमा राख्दै देहबाट अलग भएर मन बुद्धिले शिवबाबाको स्मृतिमा स्थित भैहाल्नुपर्दछ ।
६. मौरी : सबै प्रकारका फूलको रस लिनु मौरीको पहिलो विशेषता हो भने रानी मौरीको पिछा गर्नु उसको अर्को विशेषतामा पर्दछ । रानो विनाको मौरी भन्ने भनाइ सत्य हो किनकी रानी मौरी नभएको मौरीको झुण्ड अनियन्त्रित र अवस्थित हुन्छ । यही दृष्टान्त दिँदै बाबाको ईशारा छ कल्पको अन्तमा कलियुगी महाविनाशसँगै सबै मनुस्य आत्माहरु शिबबाबाको पछि-पछि परमधाम जानेछन् ।
७. हाँस : पानीबाट दूध छानेर खाने वा हिरा र कंकड छुट्टाउन सक्ने क्षमता हाँसमा हुन्छ । हाँसको हवाला दिँदै बाबाले सावधान गराउनुहुन्छ- तिमी वत्सहरु परमहंस हौं । ज्ञानरुपी मोती चुगने तिमीहरुमा विवेक छ । तिमीहरुले वकुल्लाको संगत गर्नु हुँदैन ।
८. शुतुरमूर्ग : शुतुरमूर्गको गर्दन आदि उँट जस्तो हुन्छ भने शरीर पंक्षी जस्तो । यस पंक्षीको बारेमा एउटा प्रसिद्ध भनाइ छ कि तिमी उडभन्दा जवाफ दिन्छ म त शुतुर (उँट) हुँ । म कसरी उड्न सक्छु र ? फेरि त्यसलाई भनियो तिमी उँट रहेछौ उड्न सक्दैनौ भने सामान लादेर लैजाउ । उसको जवाफ थियो म कहाँ सामान बोक्छु र म त मूर्ग (पंक्षी) पो । भावार्थ- केही गर्न नचाहने सिर्फ बहानावाजी मात्रै ।
बाबा भन्नुहुन्छ जो ज्ञाननिष्ठ बच्चा हुन्छ उसले कहिले पनि बहानावाजी गर्न सक्दैन, इन्कार गर्दैन पनि । जुन आत्मामा ज्ञानको पूरा धारणा हँुदैन, आलस्यको विकारले उँटपक्षी जस्तो भइरहन्छ ।
९. बाँदर : बाँदरमा पाँचै विकार विद्यमान हुन्छ । मरेको बच्चालाई समेत छातीमा च्यापेर हिड्ने मोह, शक्तिशाली हात्ती देख्दा पनि गुर्र गुर्र गर्ने क्रोध वा अहंकार यतिमात्र हैन काम बासनाको समेत अधिकता हुन्छ । लोभको भाँडो पनि प्रचुर हुन्छ बाँदरमा । शिवबाबा हामीलाई बन्दरदेखि मन्दिर लायक बनाउन आउनुभएको छ । आजका मनुस्य बाँदर समान भैसके । परस्पर लडाइँ झगडा गरिरहने र विकारमा जकडिरहने । अब बाँदरजस्तो स्वभाव र संस्कारलाई छोडेर मायारुपी रावणलाई ज्ञानरुपी वाणद्वारा लड्न सिकाएर शिवबाबा विकाररुपी लंका जलाउने तैयारी गर्दै हुनुहुन्छ ।
(ग) विभिन्न व्यवसायहरु
१. वकिल : Lawyer for criminal cases जो न्यायालयका यस्ता मुद्दामा वकालत गर्दछन् जसको कारण कुनै अपराधीको जन्मकैद वा फाँसीको सजाय पनि हुनसक्दछ या जन्मकैद तथा फाँसीमा चढाउँदै गरेको व्यक्तिलाई वचाएर वास्तविक न्याय दिलाउन सक्छ ।
अतः यसका लागि कानुनी नोट गर्नु, अति जरुरी कानुनी शब्दहरु अण्डरलाईन गर्नु, वकालतको क्रमवद्ध सिलसिला मिलाउनु, विरोधी वकिलको प्रश्नको प्रतिप्रश्न वा जवाफको तयारी गर्नु, न्यायाधीशलाई कुन विन्दुमा सहमत गर्न सकिन्छ त्यसमा स्पष्ट धारणा बनाउनुजस्ता पूर्व अभ्यास र योजना बनाउन आवश्यक हुन्छ अन्यथा उपयुक्त समयमा उपयुक्त तर्क वा प्रमाण पेश गर्न नसकेको खण्डमा अनपेक्षित फैसला आउन सक्दछ । यही उद्धरण दिँदै बाबा सम्झाउनुहुन्छ- तिमी बच्चाहरु पनि एक किसिमका वकिल हौ ।
शिवबाबाले तिमीहरुलाई दिनु भएको ज्ञान पाएर कुन कर्म गर्ने कुन नगर्ने तथा वर्जित कर्म गर्नाले मनुस्यलाई कस्तो दण्ड मिल्दछ त्यसमा ध्यान दिन आवश्यक छ । धर्मराजको दण्ड, गर्भजेल तथा यमराजको फाँसीबाट तिमी बच्चाहरुले अरु आत्माहरुलाई छुडाउनु छ । एक जन्मको ज्ञान धारणाले २१ जन्मसम्म न केवल मुत्यु अपितु सबै प्रकारका दुःख कलह क्लेश र विकारबाट मुक्ति दिन सक्ने सामाथ्र्य तिमीहरुले राख्नु छ ।
२. डाक्टर : कोही चिकित्सकहरुमा रोग र त्यसको कारण तथा रोगीको लक्षणका आधारमा निदान गर्नुका साथै उचित औषधि दिएर शीघ्र बिमारीलाई ठीक गर्न सक्ने क्षमता वा विज्ञता हुन्छ । यदि समयमा निदान भएन र औषधि दिइएन भने रोगीको ज्यान समेत जानसक्ने सम्भावना रहन्छ । बाबाको ईशारा छ कि यी डाक्टरले त शरीर सम्बन्धी उपचार गर्दछन् तर मनुस्यलाई सबै रोगहरुबाट सधैका लागि बचाउन भने सक्दैनन् ।
औषधि सेवन गर्दै पनि आजका मनुस्यहरु रोगका शिकार बन्दै गएका छन् । परन्तु शिवबाबाले हामीलाई जो ईश्वरीय ज्ञान दिइरहनु भएको छ वास्तवमा यो अमृतधारा अथवा संजीवनी बुटी हो । आत्माको जन्मजन्मको विकारजन्य रोगबाट छुट्ने अचूक औषधि भनेकै ईश्वरीय महाबाक्य (मुरली) हो । राजयोगले एक ईन्जेक्सनको काम गर्दछ जसद्वारा विकाररुपी किटाणुहरु मर्दछन् र आत्माभित्र शक्तिको सञ्चार हुन थाल्दछ ।
योग आत्माको टोनिक हो भने ज्ञानका भिन्न भिन्न बुँदाहरु विटामिन अथाव पोषक तत्व समान छन् । बाबा हामी बच्चाहरुलाई रुहानी सर्जन अर्थात आत्माको चिकित्सक भनी सम्बोधन गर्नुहुन्छ । ब्रह्माकुमारी सेवा केन्द्रहरु अस्पताल हुन जहाँ आत्माभित्र निहित काम, क्रोध, लोभ, मोह, अहंकार, ईष्र्या, द्वैष, भय, सुस्ती वा आलस्य आदि बिमारीहरुको उपचार गरी मानसिक रुपमा स्वास्थ्य प्रदान गरिन्छ । आज साँचो अर्थमा मानव विकाररुपी संक्रामक रोगले पीडित छन् । तसर्थ कुसंगबाट अलग क्वारेन्टाइनमा बस्न आवश्यक छ ।
३. जीवन बीमा : जो मनुस्यले आफ्नो जीवनको, घरको वा सामान आदिको बीमा गराएको हुन्छ भने बीमाको अवधिको अन्तमा विमित रकम मिल्दछ । यदि बीमा अवधि अगावै कुनै दुर्घटना या रोगले निधन भयो भने उसको हकवालालाई निश्चित धनराशि प्राप्त हुन्छ । परन्तु ईश्वरमा शरणागत हुनु पनि एक प्रकारको बीमा हो अर्थात जो मनुस्य तन मन धन अथवा मन वचन कर्मसहित परमात्मा शरणमा समर्पण गर्दछ ।
त्यही व्यक्ति भविष्य आउनेवाला स्वणर्ीम संसारको दैवी स्वराज्यमा २१ जन्मका लागि धनधान्य वा सुख सम्पति एवं सुविधाले मालामाल बन्न सक्छ । ईश्वर नै सबैभन्दा ठूलो Insurance Magnet हुनुहुन्छ । हेर्नुहोस् अब यो कलियुगी सृष्टिरुपी ‘भंभोर’मा आगो लाग्दैछ ।
यो आँखाले हेर्दाहेर्दै संसारमा सबै जलेर खरानी हुनेछ । ऐटम बम तथा हाइड्रोजन बम महाविनाशका अन्तिम अस्त्र हुन् । श्वासको कुनै भरोसा छैन । प्रत्येक दिन हाम्रो अन्तिम दिन हो यही सम्झेर ईश्वरीय बीमा गरौ यसैमा तपाईँ अनि हामी सबैको कल्याण छ ।
४. हिरा व्यापारी (जौहरी) : यस व्यवसायमा परख शक्तिको महत्वपूणर् भूमिका हुन्छ किनकी झुट्ठा हिरा पनि देख्दा सक्कलीजस्तै हुन्छ । सही पहिचान हुन सकेन भने ठगिने सम्भावना अधिक हुन्छ । त्यसरी नै बाबाको सन्देश छ- ज्ञान सागर परमात्माको शिक्षा मनुस्य जीवनका लागि हिरा समान अमूल्य छ । जसले जीवनमा यस ज्ञानलाई धारणा गर्दछ उसको जीवन कौडी तुल्यबाट हिरातुल्य बन्दछ । ज्ञान अविनाशी रत्न हो ।
ईश्वरीय ज्ञानको महत्व र मूल्यलाई सम्झाउँदै बाबा हामीलाई सांसारिक विनाशी श्रृंगारलाई छोडेर ज्ञान रत्नहरुले आत्मालाई सजाउने अनुमति दिनुहुन्छ । हे मेरा बच्चाहरु तिमीहरु भिखारी होइनौ अधिकारी हौ । लायक बन अनि जन्मसिद्ध अधिकार प्राप्त गर शिवबाबाको आज्ञा छ । ब्रह्माबाबा भन्नुहुन्छ जतिखेर म हिरा व्यापारी थिए हिरालाई परख गर्ने र मूल्य निर्धारण गर्न सक्ने क्षमताका कारण अन्य व्यापारी लोग हिराका पुडिया लिएर म कहाँ आउँथे ।
जब मैले अविनाशी ज्ञानरत्न पाएँ तब हिरामोती पनि कोइला एवं पत्थर समान लाग्न थाले त्यसैले त सम्पूणर् कौडीसमान स्थूल सम्पत्ति ओम मण्डलीमार्फत शिवबाबालाई अर्पण गरी स्वर्गको राज्यभाग्यको अधिकारी बन्ने सौभाग्य लिएँ ।
यसरी अविनाशी अनमोल अखुट ज्ञानामृतले ९३ वर्षको उमेरसम्म पनि ब्रह्माबाबाले यज्ञस्नेही वत्सहरुलाई सेवामा प्रेरित गरिरहनुभयो । बाबाले साकार रुपमा कर्तव्यहरु समेट्दै सेवा साथीहरुलाई थप क्रियाशील र सक्रिय बनाउनुभयो । आद्यात्मिक क्रान्तिको नाव खियाउन तथा देश विदेशमा नयाँ सेवाकेन्द्र खोल्ने ईश्वरीय विधि-विधान सिकाउनु भयो ।
जीवनमा आउने परिस्थितिलाई पार गर्ने तरिका समेतको दिग्दर्शन प्रदान गर्नुभयो । त्यसैगरी ईश्वरीय ज्ञानका महत्वपूणर् विषयको बोध, प्रचार-प्रसारका साधनहरुको जानकारीका साथै प्रत्येक व्यक्तिको योग्यता र क्षमताको पहिचान गर्दै कार्य विभाग तोकेर जिम्मेवारी दिने समेतको कार्य गर्नुभयो ।
१८ जनवरी १९६९ विश्व इतिहासमा एक अविस्मरणीय दिन ब्रह्माकुमारीज संस्थाका संस्थापक पिताश्री ब्रह्माबाबाको अव्यक्तारोहण भएको दिन । अन्तिम श्वाससम्म पनि विश्व सेवा गर्दै अन्तिम बोल बच्चे ‘सदा निर्विकारी, निराकारी र निरहंकारी भवः’ भन्ने बरदानी बोलीसँगै भौतिकरुपमा सधैका लागि हामीबाट अलबिदा हुनुभयो । विश्व नवनिर्माता महानायकको एक अद्याय समाप्त ।
क्रमशः ओम् शान्ति ।
लेखक डिभिजन वन कार्यालय दाङका अधिकृत एवं एक आद्यात्मिक अभियन्ता/ब्रह्माकुमारीज दाङका प्रवक्ता हुन् ।