कुर्सीको फल, सधैभरि अलमल

मधुसूदन सुवेदी

नेपालमा जति पनि पदीय कुर्सी छन् तीमध्ये अधिकांश कुर्सीहरु विवादित र नकारात्मक दिशातर्फ उन्मुख छन् । पदीय कुर्सी जहिले पनि सेवादायी र उत्तरदायी प्रणालीले सिंरचना गरिएको हुन्छ र स्थापित गरिएको हुन्छ । यस्तो प्रणालीमा स्थापित कुर्सीमाथि बस्ने व्यक्ति जहिले पनि आफू सेवक भएको ठान्नु र मान्नुपर्दछ ।

कुर्सीमा बस्ने मानिस ठूलै हो, कुर्सीमा बस्ने मानिस भाग्यमानी हो, कुर्सीमा बस्ने मानिस शक्तिशाली हो, कुर्सीमा बस्ने मानिस सर्वमान्य हो भने पनि उसलाई त्यो कुर्सीमा बसाएर ठूलो मानिस बनायो कसले ? उसलाई कुर्सीमा बसालेर भाग्यमानी बनायो कसले ? उसलाई कुर्सीमा बसालेर शक्तिशाली बनायो कसले ? उसलाई त्यो कुर्सीमा बसालेर सर्वमान्य बनायो कसले ? यी सबै विषयलाई विचार गर्ने कि नगर्ने ? व्यक्तिगत आवासमा प्रयोग हुने कुर्सीबाहेक अधिकांश कुर्सीहरु सार्वजनिक पद धारण गरेका लागि स्थापित छन् र व्यवस्थित छन् ।

त्यसले सार्वजनिक पदमा बस्ने व्यक्तिले आफ्नो कुर्सीको महत्व र फल बुझ्ने कि नबुझ्ने ? पछिल्लो समयमा नेपालमा भएको तमासा नै यो कुर्सीको तमासा हो । जो ठूलो कुर्सीमा छ त्यसैबाट रोकावट, जो अग्लो कुर्सीमा छ त्यसैबाट अवरोध, जो शक्तिशाली कुर्सीमा छ त्यसैबाट विवाद, जो सम्मानित कुर्सीमा छ त्यसैबाट आलटाल, जो ओजनदार कुर्सीमा छ त्यसैबाट खैलाबैला ।

यो कुर्सीको दोष हो कि कुर्सीमा बस्ने व्यक्तिको दोष ? यदि कुर्सीको दोष हो भने यो देशको वैदिक शास्त्र, वास्तुशास्त्र, यन्त्रशास्त्र र जन्त्रशास्त्रको प्रयोग गरी कुर्सीलाई शुद्धीकरण गर्नुपर्‍यो । यदि यो कुर्सीमा बस्ने व्यक्तिको दोष हो भने व्यक्तिलाई देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र नैतिक शास्त्रको ज्ञान दिएर व्यक्तिलाई शुद्धीकरण गर्नुपर्‍यो । सधैभरि नेपालको कुर्सीमा सतीको सराप परेको भन्दै चित्त बुझाउने काम गर्नुभएन ।

यदि यो कुर्सीमाथि नै सराप परेको हो भने त्यसलाई पनि श्रापमोचनको विधि अपनाउनुपर्‍यो । यो कुर्सीको खेल सधैभरि जाल र झेलमा मात्र सीमित भयो । कुर्सी बनेको दुरुपयोगका लागि बनेका होइनन् । जसको सेवा गर्नका लागि कुर्सीमा बसेका हुन् वा बसालेका हुन्, त्यसलाई मध्यनजर नगरी जथाभावी चल्ने र चलाउने संस्कारको अन्त्य गर्नुपर्‍यो ।

कुर्सीको खेल सदासर्वदाको लागि यति नकारात्मक बन्दै गयो भने यसले भावी पिढीलाई राम्रो र असल सन्देश दिने छैन । त्यसैले पनि यसभित्रका र बाहिरका भएका बेथिति र विकृतिलाई अन्त्य गर्नपर्ने नै भयो । कुर्सीमोह हुनु, कुर्सीमा बस्न इच्छा गर्नु र कुर्सीका लागि शक्ति र स्रोत खर्च गर्नु सामान्य भए पनि कुर्सी पाएपछिको कर्मकाण्ड सुधार्नुपर्ने भयो ।

यो कर्मकाण्ड निकै अमर्यादित बन्दै जान थाल्यो र यो कुर्सीको दम पनि हराउन थाल्यो । कुर्सीका लागि व्यक्ति बनेका हो कि व्यक्ति कुर्सीका लागि बनेको हो ? थाहै नहुने भयो । यहाँ कुर्सीमा बस्नेले आफूबाट अरुको मूल्यांकन नै गर्न छाडिसके । कुर्सीले मानिसलाई अन्धो बनाइसक्यो । कुर्सीले मानिसलाई स्वार्थी बनाइसक्यो ।

कुर्सीले मानिसलाई अधर्मी बनाइसक्यो । कुर्सीले मानिसलाई स्वार्थी बनाइसक्यो । कुर्सीले मानिसलाई रुखो बनाइसक्यो । कुर्सीले मानिसलाई अपारदर्शी बनाइसक्यो । कुर्सीले मानिसलाई अहंकारी बनाइसक्यो ।

कुर्सीले मानिसलाई आडम्बरी बनाइसक्यो । कुर्सीले मानिसलाई घमण्डी बनाइसक्यो । कुर्सीले मानिसलाई निर्दयी बनाइसक्यो । कुर्सीले मानिसलाई पशु बनाइसक्यो । कुर्सीले मानिसलाई धर्मछाडा बनाइसक्यो । कुर्सीले मानिसलाई कलंक बनाइसक्यो ।

कुर्सीले मानिसलाई अमानवीय बनाइसक्यो । कुर्सीले मानिसलाई महत्वाकांक्षी बनाइसक्यो । कुर्सीले मानिसलाई भ्रष्टाचारी बनाइसक्यो । कुर्सीले मानिसलाई झगडिया बनाइसक्यो । कुर्सीले मानिसलाई अलमल बनाइसक्यो ।

कुर्सीलाई मान्दा-मान्दै र कुर्सीलाई जान्दा-जान्दै आज त्यही कुर्सीले यहाँतक बनायो भने योभित्र को रहस्य के हो ? किन कुर्सीभित्रको राजनीति असफल र अलमल बन्दैछ ? किन यसको उपाय नै छैन ? सधै यो अलमल यथावत नै रहिरहने हो ? वा यो अलमल हटेर जाने हो ? कुर्सीको फल के हो ? कुर्सीको फल कस्तो हो ? कुर्सीको फल किन हो ? कुर्सीको फल कसका लागि हो ? कुर्सीको फल कहिले हो ? भन्ने नै थाहा पाएको अवस्था भएन ।

कस्तो अन्योल, कस्तो अमलमल ? सामान्य कुर्सीका लागि पनि । यो समयको फल हो कि प्रवृत्तिको फल हो ? नेपालको समय स्थिति, परिस्थिति, अवस्था, व्यवस्थालाई नियाल्दा पदीय कुर्सीकै फल नै अलमल र असफल देखिएको छ ।

यो अवस्थामा यो कुर्सीको फललाई यथावतरुपमा फलाइरहने कि यसको विकल्प खोज्ने ? यदि हामी मानवीय चेतना र मानवीय संवेदनशीलताभित्र रहेका छौं र हुर्केका छौं भने अब समयको गति र मागलाई विचारेर कुर्सीमा अलमल गर्नुको साटो आफ्नो काम र कर्तव्यलाई लोकप्रिय बनाउने अभियानमा लाग्दा राम्रो होला ।

जीवन मानिसका लागि अनिश्चितकालीन छ । यो समयोग र संयोगलाई सपार्ने आशा एवं अपेक्षा राखेर आफू बसेको स्थान, मान, पद, हैसियत, तह र कुर्सीको अवलोकन गरी यसलाई सार्थक बनाउने अभियानमा लाग्ने बेला भयो । समय सञ्चालन भइरहँदा यसको फल सधै अन्योल, अस्थिर, आक्रोश र अलमलमा बित्नु राम्रो र असल होइन ।