Goraksha

National Daily

प्रधानन्यायाधीशलाई महाभियोग लगाऊ : अधिकारकर्मी

दाङ, १२ साउन । दाङका मानवअधिकारकर्मीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेजबहादुर केसीलाई महाअभियोग लगाउन तथा पत्नी हत्याको सजाय पाएका रञ्जन कोइरालालाई पुनः थुनामा राखी दण्डहीनताको अन्त्य गर्न माग गरेका छन् ।

उनीहरुले सोमवार विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् । विज्ञप्तिमा सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका पूर्व डिआइजी रञ्जन कोइरालालाई रिहाई गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तेज बहादुर केसीलाई महाअभियोग लगाउन र रञ्जन कोइरालालाई पुनः थुनामा राखी दण्डहीनताको अन्त्य गर्न माग गरिएको छ । महिलामाथि एसिड छ्याप्ने तथा बढ्दै गएको यौन हिंसा र विभिन्न नाममा भइरहेका हिंसा अन्त्य गर्न सरकार, न्यायिक निकायलगायत सम्बद्ध सबै पक्ष थप संवेदनशील बन्न विज्ञप्तिमा भनिएको छ ।

कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपश्चात हत्या गरिएको घटनाको यति लामो समयसम्म पनि अपराधी पत्ता लगाएर न्याय निरुपण नहुनुले अपराधीको मनोबल बढ्ने, पीडित थप पीडित बन्नुपर्ने अवस्था बन्दै गएकोतर्फ ध्यानाकर्षण गराउँदै अपराधीलाई दण्ड र पीडितलाई न्याय दिने गरी प्रभावकारी काम गर्न सरकारसँग माग गरिएको छ ।

गीत गाएकै कारण गायिका सोफिया थापामाथि अहिले भइरहेको आक्रमणको धम्कीप्रति सरकारको ध्यानाकर्षण गराउँदै गायिकाको सुरक्षा व्यवस्था मिलाउन, उनलाई धम्क्याउने समूहलाई अविलम्ब कानुनी प्रक्रियामा ल्याई धर्मको आडमा भइरहेका कुरीति, कुसंस्कार अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन् । साथै विभेदमा आधारित परम्परागत अभ्यास, कुरीति–कुसंस्कारको अन्त्यको विषयमा सबै नागरिक जिम्मेवार बन्न अपिलसमेत गरिएको छ ।

अजित मिजार, रुकुम सोती हत्याकाण्ड र रुपन्देहीलगायतका स्थानमा अहिलेसम्म दलितमाथि भएका आपराधिक घटनाहरुमा पीडित र प्रभावितले न्याय पाउने वातावरण तत्काल निर्माण गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।

यसरी विज्ञप्ति जारी गर्नेहरुमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला मानवअधिकार रक्षक सञ्चालनका केन्द्रीय सचिव लक्ष्मी आचार्य, मानव अधिकार सञ्जाल दाङ, महिला पुनःस्थापना केन्द्र, पत्रकार महिला मञ्च, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानवअधिकार रक्षक सञ्जाल दाङ, विधवा सरोकार केन्द्र, सक्षम महिला सरोकार केन्द्र, नेपाल महिला सामुदायिक सेवा केन्द्र, सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थाहरु रहेका छन् ।