Goraksha

National Daily

छिल्लीकोटले पर्यटक खोजिरहेको छ…

खेमराज रिजाल
छिल्लीकोट । भ्यू–टावरको अन्तिम तला ढलान हुँदै छ । यो चौथो तला हो । सिँढी नम्बर ६० मा एउटा विश्राम थलोजस्तै थियो । त्यहाँबाट आधा दाङ अवलोकन गर्न सकिन्थ्यो । थकान मेटाउन चीसो हावा चलिरहेको छ । एनसेलको टावरले हामीलाई स्वागत गरिरहेको थियो । किनकि अचेल छिल्लीकोटमा फोन नटिप्ने समस्या रहेनछ । सबैको घरमा सम्पर्क हुन सकेन भन्ने आवाज आएन ।

रायोका साग र घ्यूकरेली र बैजनी रँगका हिउँदेसिमीको तरकारीले पर्यटक खोजिरहेको छ । पल्लो टोलमा होमस्टेको तयारी हुँदै थियो । सायद यसै वर्ष छिल्लीकोटवासीले होमस्टे सञ्चालन गर्दै छन् । त्यसका लागि पालैपालो पाहुना बाँड्ने उनीहरुको तयारी भइरहेको छ । आकस्मिक स्वास्थ्य सेवाका लागि सामुदायिक स्वास्थ्य क्लिनीक पनि छ । तल स्याउलापानीमा आकस्मिक स्वास्थ्य उपचार चाहिएको अवस्थामा वडा नम्बर १९ को एउटा एम्बुलेन्स पनि हाजिर छ । बोलाएको समयमा एम्बुलेन्स सेवा पनि तयार रहेको १९ नम्बर वडाका अध्यक्ष रामबहादुर योगीको दाबी थियो ।

भ्यू–टावरमा एउटा दूरवीन जोडिने तयारी पनि छ । किनकि त्यो दूरवीनले भारतको तुलसीपुरमा रेल गुडेको परिदृश्य देखाउने छ । सिस्ने हिमाललाई आँखामै ल्याउने छ अनि धौलागिरि हिमाललाई पनि नजिक ल्याउने छ । त्यस्तै प्यूठानको कोठीभीरको मनोरम दृश्यलाई पनि नजिक ल्याउने छ, स्वर्गद्वारीको छेउछाउ देखाउने छ, दूरवीनले । कालीकामालीका दुवै मन्दिर पुग्न अब वयोबृद्धलाई पनि सहज भइसकेको छ । किनकि सिँढी बनिसकेका छन् । एउटा मन्दिरमा प्रवेश गर्नेमा त रेलिङ पनि बनिसकेका छन् । तर केही समस्या भने छन् । मालिका मन्दिर पुग्न रेलिङ त सिँढिमा थियो, तर मन्दिर परिसरमा रेलिङ थिएन, जसले दुर्घटनाको केही सम्भावना बढाएको छ ।

पत्रकार राकेश बस्नेत र मेरो यात्रा थियो, छिल्लीकोटको । हामी दूधरासबाट मोटरवाइकमा छिल्लीकोट पुग्दा धुलोले हामीलाई पछ्याउँदै थियो । हाम्रो यात्रा आइतवारको थियो, त्यसैले धेरै धुलोको मार परेन, नत्र सिमेन्ट कारखानाका लागि चुनढुङ्गा बोक्ने टिप्परको धुलोले मान्छे चिन्नै मुस्किल हुन्छ रे । पाँच वर्ष अघि बनेको बाटो अहिलेसम्म पनि पक्की नाला निर्माण भएको छैन, ग्रावेल भएको छैन । कति कमजोर सरकारको विकास निर्माणको कार्यशैली ? बल्ल दूधरासमा अलकत्रा झार्न थालेका छन्, ठेकेदारले । प्रदेश सरकारको बजेट कहिले पुग्ला कालोपत्रे, छिल्लीकोटमा ।

सडक त छिल्लीकोट पुगेको छ, तर सार्वजनिक यातायात सेवा पुगेको छैन । त्यसैले पाँच कक्षाभन्दा माथि पढ्न विद्यार्थीहरु एक घण्टा बाटो हिडेर संक्राम स्कूलमा झर्छन् । दुई घण्टा उक्लेर घर पुग्छन् । ‘आज आइतवार भएर हो सर, धुलो नउडेको, अरु वार त हामीलाई घर पुग्दा बाउआमाले नै चिन्ने अवस्था हुन्न’– मावि संक्राममा पढ्ने एक बालिकाले भनिन् जो छिल्लीकोट पुग्नै लाग्दा उकालोमा भेटिएकी थिइन् । तैपनि उनमा सडक ग्राभेल हुने र कालोपत्रे हुनेमा भने आशा पलाएको छ ।

बत्तीमुनिको अँध्यारो अब हट्ने आशा छ । किनकि अब छिल्लीकोटमै बत्तीका लागि विद्युत पोल पुगिसकेको छ । संक्रामका केही स्थानमा विवाद समाधान भएपछि अब छिल्लीकोटमा केही दिनमै बत्ती पुग्ने छ । छिल्लीकोटवासीको उज्यालो सपना बत्तीले साकार बनाउने छ । त्यसैले अहिल्यै घर–घरमा वायरिङको तयारी पनि भइसकेको छ । परवीर पुन भन्छन्– ‘बत्तीले पनि हाम्रो भाग्यरेखा कोर्ने छ, होमस्टे सञ्चालनमा सघाउ पु¥याउने छ ।’ त्यसैले छिल्लीकोटवासी अहिलेदेखि घर–घरमा वायरिङको तयारी गरिरहेका छन् ।

समस्या पानीको

पर्यापर्यटनको एउटा नमुना गाउँमा खानेपानीको भने धेरै समस्या छ । माघ महिनासम्म सबै गाउँमा जोडिएका धारामा पानी आउँछ, त्यसपछि एक घण्टा तलको मुहानबाट गाग्रोमा पानी बोक्ने समस्या आउँदो रहेछ । अहिले प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट पारेको छ रे । लिफ्ट सिंचाईबाट पानी छिल्लीकोटमा ल्याउने । त्यसको काम सुरु हुनेमा पनि छिल्लीकोटवासी आशावादी छन् । स्थानीय बेलमती पुन भन्छिन् – ‘पानी योजना चलेपछि हाम्रो एक गाग्री पानी भर्न एक घण्टा धाउनुपर्ने समस्या समाधान हुने छ ।’ पानी योजनालाई चाँडो सञ्चालन गर्न उनले पत्रकारलाई आग्रह पनि गरिन् । ‘पानीको समस्याका विषयमा धेरै लेखिदिनुहोला, किनकि हामीले तपाईं फेरि फागुनमा आउँदा पानी लिएर आउनुहोला भन्ने अवस्था नआओस्’– बेलमतीले भनिन् ।

स्वास्थ्य सेवा पनि उक्लिएको

सुत्केरी व्यथाले च्यापेपछि डोकामा बोकाएर तुलसीपुर पु¥याउने अवस्थाको अन्त्य भएको छ, सडक सञ्जालले । आवश्यक परेको समयमा एम्बुलेन्स पनि पुग्ने रहेछ । तैपनि छिल्लीकोटमा रहेको सामुदायिक स्वास्थ्य क्लिनीकमा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी छैनन् । तैपनि बच्चालाई खोप, गर्भवतीलाई आइरन चक्की, जुकाको औषधि दिने काम भइरहेको सामुदायिक स्वास्थ्य क्लिनीकका प्रमुख राजबन्धु नेपालीले भने– ‘तर पनि अनमी नहुँदा केही समस्या भएको छ, दरबन्दी भएर पनि किन पठाइएको छैन, तपाईंहरुले लेखिदिनुहोला ।’

त्यसो त छिल्लीकोटमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था बुझ्न तुलसी बाल अस्पतालका विशेषज्ञ डा किशोर खत्री सहितको टोली पनि छिल्लीकोट पुगेको थियो । त्यहाँ निःशुल्क स्वास्थ्य परीक्षणलगायत निःशुल्क औषधि समेत वितरण गरिएको डा खत्रीले बताए । आफूले सो क्षेत्रमा अब नियमित स्वास्थ्य शिविर सञ्चालनको तयारी गरिरहेको पनि उनले बताए ।