ट्राफिक प्रहरी सुविधा सम्पन्न भवनमा
गोरक्ष समाचारदाता
दाङ । टहराबाट सेवा प्रदान गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको सुविधा सम्पन्न भवन निर्माण भएको छ । करिब ३० वर्ष पहिले २०४६ सालमा स्थापना भएको जिल्ला ट्राफिक प्रहरीले घोराही उपमहानगरपालिका वडा नं. १४ को ट्राफिक चोकमा रहेको टहराबाट सेवा प्रवाह गर्दै आएको थियो । सानो दुईकोठे टहराबाट कार्यालय सञ्चालन गर्दा ट्राफिक प्रहरीलाई कार्यसम्पादनसँगै बस्नलाई समेत समस्या पर्ने गरेको थियो ।
टहराबाट सेवा प्रवाह गर्दै आएको ट्राफिक प्रहरीको डेढ करोड बढीको लागतमा भवन निर्माण भएको हो । नेपाल प्रहरीलाई भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल सरकारको एक करोड ५६ लाख ८३ हजार ९ सय ६६ रुपैयाँको लागतमा भवन निर्माण भएको प्रहरी निरीक्षक सुमन दाहालले जानकारी दिएका छन् ।
भवन मनकामना कन्स्ट्रक्सन निर्माण सप्लायर्सले निर्माण गरेको हो । भवन एक वर्षभित्रमा निर्माण गरिसक्ने गरी गत वर्ष जेठको १० गते जिल्ला प्रहरी कार्यालय दाङ र निर्माण व्यवसायीकाबीच सम्झौता भएको थियो । सोही अनुसार निर्माण कम्पनीले दुईतले सुविधासम्म भवन निर्माण गरेको हो ।
नवनिर्मित भवनको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले नवनिर्मित भवनले ट्रापिक प्रहरीलाई जनमैत्री सेवा प्रवाह गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताएका थिए । साधन र स्रोतको अभावमा अहिले ट्राफिक प्रहरीले सेवा दिनुपर्ने वाध्यता रहेको भन्दै प्रहरी नायव महानिरीक्षक शाहले नयाँ भवनले सहजता ल्याउने बताए । ‘आप्mनै स्रोत र साधान नहुँदा ट्राफिक प्रहरीलाई सेवा प्रवाह गर्न समस्या थियो’–महानिरीक्षक शाहले भने–‘भवन निर्माणसँगै प्रहरीलाई सेवा प्रवाहमा सहजता ल्याउनेछ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले नयाँ भवन निर्माणसँगै टहराबाट सेवा प्रवाह गर्दै आएको ट्राफिक प्रहरीलाई कार्यसम्पादनसँगै दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने बताए । ‘सानो टहराबाट सेवा प्रवाह गर्दा ट्राफिक प्रहरीलाई समस्या थियो’–प्रमुख जिल्ला अधिकारी रिजालले भने–‘अब नयाँ भवन निर्माण भएको छ, यसले ट्राफिक प्रहरीलाई भएको समस्या हटेको छ ।’ भवन निर्माणले ट्राफिक प्रहरीलाई सहजतासँगै दुर्घटना न्यूनीकरणमा समेत सहयोग पु¥याउने उनले विश्वास व्यक्त गरे । ‘विगतमा ट्राफिकहरुलाई भौतिक संरचनाको अभावमा काम गर्न समस्या भएको गुनासो आउने गरेको थियो’–उनले भने–‘अब नयाँ सुविधा सम्पन्न भवन निर्माण भएको छ, जसले गर्दा प्रहरीलाई समस्या हटेको छ ।’ नयाँ भवन निर्माणले प्रहरीमा क्रियाशीलता बढाउने र त्यसले जिल्लामा दुर्घटना न्यूनीकरणमा समेत सहयोग पु¥याउने बताएका थिए ।
त्यस्तै कार्यक्रममा प्रदेश नं. ५ का ट्राफिक प्रहरी प्रमुख एसपी मधुसूदन लुइँटेलले भौतिक संरचनाको निर्माणले प्रहरीलाई जनमैत्री सेवा प्रवाह गर्न सहजता ल्याउने बताएका थिए । कार्यक्रममा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले भौतिक पूर्वाधारको अभावमा रहेको प्रहरीलाई नयाँ सुविधा सम्पन्न भवनले सेवा प्रवाहमा सहजता ल्याउने बताएका थिए । त्यस्तै कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार सुरेश हमालले भौतिक रुपमा सम्पन्न भएको ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणमा ध्यान दिनुपर्ने बताएका थिए । जिल्लामा विगतको तुलनामा सवारी दुर्घटनामा न्यूनीकरण आएपछि जिल्लाका विभिन्न स्थानमा सडकमै गरिने पार्किङका कारण दुर्घटना हुने गरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाउनुपर्ने बताए ।
त्यसका लागि यातायात व्यवसायीका माध्यमबाट आपूmहरु सहयोग गर्न तयार रहेको समेत बताएका थिए । कार्यक्रममा भवन निर्माणमा महत्वपूर्ण सहयोग पु¥याउने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका हवलदार टेकबहादुर कुसारी, जवान लोकेन्द्रबहादुर विष्ट, स्वर्गद्वारी टिप्पर व्यवसायी प्रालिका अध्यक्ष भरतनाथ योगी, निर्माण व्यवसायी रामलाल गुप्तालगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजन गौतमले गरेका थिए ।
