Goraksha

National Daily

हरेक वडामा ‘हरित स्वयंसेवक’

लिलाधर वली
दाङ, ९ साउन । जिल्लाका सबै वडाहरुमा हरित स्वयंसेवक हुने भएका छन् । कृषि व्यवसायको प्रर्वद्धनसँगै वडामा नमूना कृषकका रुपमा विकास गर्न प्रदेश सरकारले दाङ जिल्लाका एक सय वडाहरुमा हरित स्वयंसेवकहरु छनोट थालेको हो । उनीहरुले निःशुल्करुपमा काम गर्नेछन् ।

कृषिको विकासका लागि जिल्लाका एक सय वडामा नमूना कृषकका रुपमा विकास गर्नका लागि हरित स्वयंसेवक राख्न थालेको कृषि ज्ञान केन्द्र दाङका सहायक सूचना अधिकारी फिर्थुमान चौधरीले बताए । ‘कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले निःशुल्क काम गर्नेगरी हरेक वडामा नमूना कृषक उत्पादन गर्न हरित स्वयंसेवक राख्न थालेको हो’, सहायक सूचना अधिकारी चौधरीले भने- ‘हरित स्वयंसेवकको मुख्य काम भनेको वडामा नमूना कृषक बनेर देखाउने हो ।’

हरित स्वयंसेवक छनोटका लागि सकेसम्म कृषिसम्बन्धी अध्ययन गरेका व्यक्तिहरुलाई प्राथमिकता दिने र कृषि तथा पशुपालन सम्बन्धी पढेका नभेटिए सम्बन्धित वडामा रहेका अगुवा कृषकहरुलाई प्राथमिकता दिने सूचना अधिकारीले चौधरीले जानकारी दिएका छन् । नमूना कृषकका रुपमा छनोट भएका उनीहरुले वडामा अन्य किसानहरुले सिक्ने गरी नमूनारुपमा कृषि व्यवसाय गर्नुपर्नेछ ।

छनोट भएका हरित स्वयंसेवकहरुले कृषि ज्ञान केन्द्र, वडा कार्यालय, पालिकासँग छलफल गरेर कुन वडामा के को सम्भावना रहेको छ, त्यसका आधारमा प्लानिङ गरेर कृषि वा पशुपालन व्यवसाय गर्नेछन् । व्यवसाय सम्बन्धित हरित स्वयंसेवकको इच्छा र सम्भावनाका आधारमा छनोट गरिने सहायक सूचना अधिकारी चौधरीले बताएका छन् । त्यसका लागि प्रदेश सरकारले एक हरित कृषक बराबर ५० हजार रुपैयाँ बिनियोजन गरेको छ ।

हरित स्वयंसेवकहरु गएको बर्ष ४२ जना छनोट भइरहेको र यसबर्ष ५८ जना छनोटका लागि निवेदन आह्वान गरेको सूचना अधिकारी चौधरीले बताए । उनका अनुसार यसबर्ष घोराही उपमहानगरपालिका वडा नं. १, ४, ११ र १५, तुलसीपुर उपमहानगरपालिकाको १, ३, ४, ५, ६, ७, ९, १०, १२, १६, १७ र १८, लमही नगरपालिकाका १, ३, ४, ५ र ६ नम्वर वडा, गढवा गाउँपालिकाको ३, ७ र ८, दंगीशरण गाउँपालिकाको २ र ७, बंगलाचुली गाउँपालिकाको २, ३, ४, ६ र ८, बबई गाउँपालिकाको १, २, ६ र ७, राजपुर गाउँपालिकाको १, २, ३, ४, ६ र ७ नम्वर वडा, राप्ती गाउँपालिकाको १, ३, ४, ५, ६, ७ र ९ र शान्तिगर गाउँपालिकामा १, ३, ४, ५, ६ र ७ नम्वर वडाहरुमा हरित स्वयंसेवक छनोट गर्ने कार्यक्रम छ । बाँकी अन्य वडाहरुमा गतबर्ष छनोट भएका छन् ।