सरसफाईका लागि डस्वीन राखियो
ओमप्रकाश गुप्ता
देउखृरी, ९ साउन । राप्ती गाउँपालिकालाई सफा सुन्दर गाउँपालिका बनाउन राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले सिसहनियाँ र पिपरी बजारका विभिन्न सार्वजनिक स्थानमा डस्वीन राखेको छ ।
चेम्बरले शुक्रबार सिसहनियाँ बजारमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सिसहनियाँमा ३० र पिपरीमा १० वटा गरि ४० वटा डस्वीन राखेको हो ।
बजार क्षेत्रको मुख्य मुख्य ठाउँ, स्वास्थ्य चौकी,विद्यालय, प्रहरी विट, सार्वजनिक स्थलहरूमा राखेको छ । चेम्बरले आफ्नै लगानीमा ८५ वटा डस्वीन मध्य पहिलो चरणमा २८ हजार बराबरको ४० वटा डस्वीन सार्वजनिक स्थानमा राखेको चेम्वर अफ कमर्श सिसहनियाका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन । बजारमा फोहर बढ्न थालेपछि चेम्बरले डस्वीन राखेको र साप्ताहिक रूपमा सरसफाई कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
चेम्बरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले राप्ती गाउँपालिकामा सरसफाई चुनौतीको विषय बनेको बताएका थिए ।
गाउँपालिकाले आफ्नो वडाको फोहोर आफै व्यवस्थापन गर्नुपर्ने नीति लिएको भन्दै त्यसलाई सहयोग गर्न वडावासीसँग आग्रह गरेका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गोवर्धन रावत र चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन चेम्बरका महासचिव चुमबहादुर बुढामगरले गरेका थिए ।
