सुभाष न्यौपाने
किसान मजदुरको सरकार बनेन यो देशमा
किसानको हलो भाँचियो गोरु मरे खेतमा ।।
सरकारी राजनीतिक दल नेकपाभित्र सल्किएको भुसको आगो झिल्को हुँदै ज्वालामा परिणत भएको पनि लामो समय पार गरिसक्यो । लडाई धेरै समयसम्म चलिरहँदा पनि त्यसले वार र पारको अवस्था भेटाउन सकेको छैन । उक्त सरकारी लडाई वार र पारमा नटुङ्गिएर सहमति अर्थात् मेलमिलापमै सम्पन्न गर्छन् कि जस्तो लक्षण पनि ती सम्वादकर्ता नेताहरुले देखाइरहेका छन् ।
तर अझै त्यसको उपयुक्त वातावरण भने बनिसकेको छैन । मुलुकमा जतिबेला संकट बढ्दै र पर्दै गएको हुन्छ त्यतिबेला मुलुक वीपीका सन्दर्भसँग जोडिन पुग्छ । अहिले पनि देश विभिन्न संकट तथा महामारीलाई भोग्दै र पार गर्दै गर्दा विभिन्न आरोह अवरोह र संकटसँगै विश्व परिवेशसँगै महामारीको रुपमा परिचित कोरोना जसको न त रुप छ न त आकार नै ।
त्यस्तो अदृश्य शक्ति जसले संसारभरि लाखौँ मानिसको ज्यान लियो भने नेपालमा पनि दुई बीस नागरिकले त्यसको कारणले ज्यान गुमाउन पुगे । त्यसैबेला सत्तासीन राजनीतिक दलहरु सत्ताको लुछाचुँडी गर्दै आ-आफूमा भनाभनदेखि देखेस पखेससम्मका घटनाहरु सत्ताधारी दलले अझैसम्म घटाउँदै गइरहेको छ । यो महाभारतको युद्ध चलिरहँदा मौसमी प्रभाव र मनुसुनी गतिविधिले भयानक रुप लिँदा मुलुक बाढीपहिरोको चपेटामा पर्नुका साथै दर्जनौँ नागरिकले ज्यान गुमाउनु परेको तीतो यथार्थ हामीले भोग्नुपर्यो ।
मुलुक यसरी महामारीलगायतको विभिन्न विपत्तिबाट पिल्सिरहँदा पनि न त सत्ताधारी राजनैतिक दलले नै नागरिक संवेदना प्रकट गर्न सक्यो न त आफ्नै पुष्पलालका नामको धोती तान्नमै व्यस्त रह्यो भने प्रमुख प्रतिपक्ष दलका केही नेताहरु जनउद्धारको लागि खटिए भने अरु बाँकी नेता भनाउँदाहरु कान ठाडा बनाएर बस्ने र सरकारले कहाँ कमजोरी गर्छ भन्दै त्यही हेरेर बस्ने भए । सरकारी राजनैतिक दल पनि लड्छ, लड्छ अनि मेलमिलाप बिना सहमति बिना समस्या माधान हुन सक्तैन । अब हामी मिलेर जानुपर्छ भन्ने प्रस्ताव अगाडि सार्छन् र त्यसैमा बहस गर्छन् । अब मेलमिलाप गर्नैपर्छ भन्ने सार्वजनिक धारणा अगाडि सर्छन् । र, सम्वाद अगाडि बढाउँछन् । विपक्षी दलका पनि के कुरा गर्ने हो र ! उनीहरु पनि पौडेल-देउवा शीर्षकको नाटक मञ्चन गर्छन् । बोली बाराबार गर्छन् । एकले अर्काका लाइने कुरा सुन्छन् । अनि मुख बङ्ग्याउँछन् । नेताले त अरुको कुरा सुन्ने ? अरु कसैले लाइने कुरा गर्यो भने त्यसलाई सहजतापूर्वक सुन्ने अनि आफ्नो तर्फबाट अनुसन्धान गर्ने पो हो त । उनीहरु त थुतुनो बिगारेर मन्टो बटारेर अर्कोतिर फर्केर बस्छन्, लाज नभएकाहरु । कार्यकर्ताले के गरेको यस्तो गाइजात्रा भनेर चर्को स्वरमा उनीहरुमाथि जाइलाग्न थाले भने हामीले केही गरेका छैनौँ भन्दै हामी त सधैँ मिलेर जान तयार छौँ । तपाईँहरुले अन्यथा लिनु पर्दैन भन्दै मेलमिलाप भएको देखाउन चाहन्छन् । उही भित्रभित्रै कोइजा बाहिरबाहिर निको होइजा भनेजस्तै ।
यदि महामानव अहिलेसम्म जीवितै रहेको भए पनि यिनीहरुको मेलमिलाप देखेर भन्थे होला तिमीहरुको मेलमिलाप चाहिएन । यसले संसारमा हाँसो गरायो मेरो मेलमिलापको नीतिको । मलाई यो गतिविधि मन परेन । धानी खान नसक्नेलाई केको मेलमिलापको आशीर्वाद सधैँ दिइरहनु । आ-आफ्नो गरेर खाऊ । मेरो राष्ट्रिय मेलमिलापलाई नभँजाऊ । मेरो समाजवादमा रहेको राष्ट्रिय मेलमिलापको नीति त किसान, मजदुरको हितका निमित्त काम गर्दा कहीँ कतै अप्ठेरो आयो भने त्यही मूलमन्त्रलाई आत्मसात गर्दै छिमेकीलगायत अन्य मित्रहरुसँगको स्म्बन्ध अघि बढाउनु भन्थे ।
वीपीलाई आफ्नै ढिकुराका पुजारीहरुले चिन्न सकेनन् । पछ्याउन सकेनन् भने पुष्पलाललाई आफ्नै राजनीतिक सन्तान तथा भाइभतिजाहरुद्वारा गद्दार र पुच्छर भन्नथाले पञ्चायत विरोधी आन्दोलन सुरु गरौँ भन्ने प्रस्ताव राख्दा । यति भनेपछि त्यतिबेलाका कम्युनिष्टका खम्बा भन्नेहरु उनका विरुद्धमा खुट्टा तान्न मात्र त कहाँ हो र खुट्टा काट्न समेत पछि परेनन् । आज तिनीहरु नै हुन सबैभन्दा बढी पुष्पलालको गाथा गाउने । पुष्पलालको गुनगान गाउने । त्यस्तै नेपाली कांग्रेसभित्र पनि त्यस्तै प्रकृतिका थुप्रै नेताहरु अघि पछि राजैतिक गतिविधि गर्दा संगठनको हितमा नभई परिवार तथा आसेपासेहरुको हित हुने कार्य गर्ने । जब वीपीको बारेमा सार्वजनिक कार्यक्रम हुन्छ त्यतिबेला वीपीको राष्ट्रिय नीतिको बारेमा जानकार र ठूलो व्याख्याता नै यिनै हुन् भन्ने भान पार्छन् । त्यो समय अथवा त्यो दिन सकियो भने उनीहरुको पुरानै प्रकृति दोहोरिन्छ । समाजवादका प्रणेता वीपी कोइरालाले प्रतिपादन गरेको नेपाली राजनीतिले मुलुकको अगुवाई गरिरहेको छ ।
अर्थात् वीपीले सूत्राधार गरेको समाजवादी विचारलाई आधार मानेर ०४६ को सफल ऐतिहासिक आन्दोलन पश्चात गठन भएका सबै सरकारहरु समाजवादी अवधारणाको आधारमा गठन भएको पाइन्छ । वर्तमान अवस्थामा केपी ओलीको नेतृत्वमा गठन भएको सरकार पनि समाजवादी अवधारणा अनुसार नै गठन भएको छ । जसको नेतृत्व र स्थापनाका नेता पुष्पलाल श्रेष्ठ नै हुन् । यी दुई नेताहरुको राजनैतिक धरातल हेर्ने हो भने नेता पुष्लाल कांग्रेसको राजनीतिबाट विमुख भएर कम्युनिष्टको नेता तथा कम्युनिष्ट अभियन्ता बन्न पुगेका थिए ।
त्यसैगरी राजनीतिको क ख ग कम्युनिष्टबाट सिकेका वीपी कोइराला भने कम्युनिष्ट सिद्धान्तलाई जनमुखी सिद्धान्त नभएको भन्दै प्रजातान्त्रिक समाजवादबाट मात्र मुलुकको विकास हुन सक्छ र जनताले समान न्याय पाउन सक्छन् भन्दै नेपाली कांग्रेसको सदस्य बन्न पुगे । जो बाँचुञ्जेलसम्म निरन्तर जनताको राजनीतिमा क्रियाशील रहे । जसको कारण उनले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई विश्वमा स्थापित गराएर आफू महामानव बन्न पुगे ।
सानो देशका ठूला नेताको रुपमा संसारमा परिचित नेता विश्वेश्वरप्रसाद कोइरालाले गठन गरेको पार्टी नेपाली कांग्रेसले वर्षमा विभिन्न विषयसँग जोडेर पटक-पटक वीपीलाई सम्झेझैँ गरेर साच्चि लोकतन्त्रका पिता नै मरेका हुन् केर भनेझैँ गरिरहेको आँसु झार्ने गर्छन् । वीपीको राष्ट्रिय एकता र मेलमिलापको व्याख्या गर्छन् । तर वीपीले देखाएको बाटोमा हिडे वीपीको मार्ग दर्शनलाई पछ्याए र वीपीको नीति तथा विचारलाई अवलम्बन गरे त यिनको जात जान्छ । यिनी राजनीतिका अछूत नेता हुन्छन् ? वीपीको समाजवादले कहिल्यै पनि जनतालाई गठ, भ्रष्टाचार गरेर मुलुकलाई कंगाल बनाऊ भनेको छैन । त्यसैले नेपाली कांग्रेसका नेताहरु वीपीको समाजवाद फलाक्छन् । तर कार्यान्वयनमा जाँदैनन् ।
राष्ट्रिय राजनीतिमा वीपीको राष्ट्रिय एकता र मेलमिलापको व्याख्या गर्छन् । तर आफूहरु मेलमिलापमा जान चाहँदैनन् । साना कुरा र सामान्य विषयमा पार्टी सभापति शेरबहादुर देउवालगायत वरिष्ठको पंक्तिमा रहेका अग्रज नेताहरु बोली बाराबार गर्छन् र मनाउँछन् वीपीको राष्ट्रिय एकता र मेलमिलापको कार्यलाई । त्यस्तै आफूलाई खोटी कम्युनिष्ट भन्नेहरु पुष्लाललाई आफ्नो नेता भन्दै गुणगान गाउन तयार छन् । उनको त्याग र नीतिको सर्वहाराकै नीति हो केर भन्ने भान पार्दै व्याख्या गर्छन् । रुन्चे स्वरमा श्रद्धाञ्जलि दिन्छन्, मुठी बटारेर । जनतालाई हो केर पुष्लालको नीति तथा आँट तागत हाम्रा नेताहरुमा आए छ केर भन्ने भ्रमजाल फिजाउँछन् । आफ्नो राजनैतिक दल र राष्ट्रिय राजनीतिमा केही संकट आयो भने पक्ष विपक्ष सबै दलका नेताहरु राष्ट्रिय एकता र मेलमिलाप नीतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्छ ।
मुलुक र राजनीतिको संकट निवारण गर्नु पर्छ भन्छन् अनि मात्र भित्रै असहमत पक्षका खुट्टा काट्न सुरु गर्छन् । अनि भन्छन् – हामी मेलमिलापकै नीति अवलम्बन गर्दै अगाडि बढिरहेका छौँ । त्यही नाटक अहिले सत्ताधारी दलले सहमतिका लागि सहमति गर्ने सहमति भएको छ भन्दै मेलमिलापको नाटक प्रदर्शन गरिरहेको छ । जबसम्म जनताले आशा गरेका राजनैतिक दलहरु जनताको आकांक्षामा खेलवाड गर्छन् र त्यो समय यदि लम्बिँदै गयो भने जनताले विकल्प खोज्न सक्छन् । त्यसैले आफूलाई साँढे सम्झने राजनीतिक दलका नेताहरु अब तिमीहरुले मेलमिलापको छारो अब जनताको आँखामा हाल्ने समय गइसकेको बुझ्नु । आफ्नो राजनीतिमा विकास निर्माण भन्ने शब्दको उच्चारण गर्दा स्व. विश्वेश्वरप्रसाद कोइराला गरिब किसान, झुपडीमा बस्ने मजदुरको अनुहारलाई आफ्नो मस्तिष्क राखेर योजना बनाउने महामानवको राजनैतिक दल नेपाली कांग्रेसका नेता अहिलेका नेताहरु हामीले जोगी हुनलाई राजनीति गरेका हौँ ? भन्दै स्विमिङ पुल सहितका आलिशान महलमा विलाशी जीवन बिताइरहेका छन् । उनीहरुलाई के थाहा कि झुपडी र गरिबी भन्ने ? त्यस्तै पुष्पलालका अनुयायी भनिने सर्वहाराका नेताहरुको त झन कुरै नगरौँ जसका आकाशमा झुल्ने बगैचा सहितका महलहरुले सगरमाथा चुम्ने मार्ग पछ्याइरहेका छन् ।
जहाँ बाह्रैमास पर्याप्त रुपमा प्राप्त हुने फलफूलहरु लटरम्म शोभा बढाइरहेका हुन्छन् । उनीहरुको महलमा कार्यकर्ताको वर्गीकरण गरेर भेटघाट र दर्शन दिने गर्छन् । महादेवले बृतसुरलाई तथास्तु भन्दै आशीरवचन दिएझैँ त्यसैमा उनका वृतरासुर बन्ने शक्तिका लागि पूजा गर्न लाम लागेका छन् । जसको तागतमा उनका महादेव रुपी नेताहरु आज्ञा गर्छन्, लौ भक्ताहरु देवलाई साथ दिनेजति देव कित्तामा उभिनुपर्यो । त्यसपछि उनका आशीर्वाद लिन आतुर रहेका कार्यकर्ताहरु श्री महादेवको कुन चाहिँ रुप बलियो छ भन्दै बलिया महादेवको आशीर्वाद लिन लामबद्ध भइरहेका देखिन्छन् । कैले फेरि तिनै महादेवले हमी संकटमा परेका छौँ भक्तहरु, हामीलाई संकटबाट पार लगाउनुपर्यो भन्न थाल्छन् तब ती आशीष वचन लिन बसेका भक्तहरु होइन मेलमिलाप गरेर आपसमा सहमतिका साथ सहकार्य गरेर अगाडि बढ्नु पर्छ भन्दै आफ्ना महादेवलाई संकटबाट पार लगाउन अघि बढ्छन् । तर ती महादेवहरु आफू संकटबाट मुक्त भएको महशुस गर्छन् तब फेरि भक्तहरुको वर्गीकरण गर्न थाल्छन् । उहिले राणाहरुको जस्तै भर्याङ माथि, भर्याङ मुनि, दलानमा, आँगनमा भनेको जसरी कार्यकर्ताको, यसरी वेइजत गर्दै छन्, अहिले पुष्लालले नेतृत्व गरेका पार्टीका नेताहरु । त्यतिमात्र कहाँ हो र कम्युनिष्ट पार्टीको तर्फबाट संस्थागत रुपमा आन्दोलन गर्ने र नेपाली राजनीतिलाई मार्गदर्शन गर्ने नेताको रुपमा व्याख्या गर्ने कम्युनिष्ट नेताहरु समृद्धि र विकासको नारा लगाउँदा पुष्पलाललाई बिर्सन्छन् । वीपीका अनुयायीका त झन के कुरा गर्नु ?
वीवीले बनाएको कांग्रेस नामको घर चुहिने हुँदा त यिनले हेरेनन्, हेरेनन् अहिले आएर घरको गारो भत्किएर इट्टा खस्न लाग्दा समेत यिनको घैँटोमा घाम लागेको छैन । बरु त्यो भत्किएको इट्टा पनि बाँडेर खालान् जस्तो पो गर्छन्, वीपीको समाजवादको नाममा । त्यो सजिलो हुञ्जेल हो । अप्ठेरो परे फेरि वीपीकै मेलमिलापलाई गुहार्छन् । अन्त्यमा दुवै प्रणेताहरुमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछौा । साथै सत्ताधारी तथा प्रतिपक्षी सबै राजनैतिक दलहरुलाई नेपाली जनताको एउटा मात्र आग्रह के छ भने अप्ठेरोमा मात्र मेलमिलापलाई नसम्झ सजिलो अवस्थामा मेलमिलापले कसैलाई बिगार्दैन ।