लकडाउन सहज भएसँगै जनजीवन सामान्य हुँदै छ । जिल्लाभित्र सवारी साधनसमेत चल्न थालेपछि अब लकडाउनको जस्तो अनुशासन आफैमा कमजोर हुँदैछ र पूर्ववत् अवस्थामा सबै कुरा अगाडि बढ्न थालेका छन् । तर, कोरोनाको संक्रमण भने सम्पूणर् रूपले उन्मुलन भइसकेको छैन । अझ भन्नुपर्दा कोरोना र मानव जीवन अब सँगसँगै अगाडि बढ्नुपर्ने अवस्था आएको छ । यो भनेको हामी सबैको ठूलो शत्रुको रूपमा एक्कासी उपस्थित हुन पुगेको र त्रासको विषय भनेको कोभिड-१९ लाई हामीले झेल्नसक्ने अवस्थामा आफूलाई उभ्याएका छौँ । अर्थात् अब हामी सबै रूपमा कोभिड-१९ सँग मित्रवत सम्बन्ध बनाउन मानसिक रूपमा तयार भएको अवस्था छ ।
अझै पनि नेपालमा साढेपाँच हजारभन्दा बढी संक्रमित रहेका छन् । परीक्षणको दायरा बढाउने हो भने यो संख्य अझै बढ्ने छ । काठमाडौंमा समुदायस्तरमा नै संक्रमण फैलिएको भनिँदै छ । काठमाडौं बाहिरको अवस्था पनि उस्तै हो । त्यसकारण लकडाउन सहज हुनु भनेको संक्रमण मुक्त हुनु होइन । लकडाउनले जनजीवनलाई पुर्याएको असुविधा, ठप्प पारेको आर्थिक गतिविधिहरू, रोकिएका निर्माणका कामहरू तथा दिनदिनै काम गरेर खानेवर्गले भोगेको सास्तीका कारण जनजीवन सहज बनाउने गरी लकडाउनको मोडेल परिवर्तन गर्न तथा हटाउन समेत नागरिक स्तरबाट माग हुँदै आएको थियो । सबै भोगाई र मानसिक रूपमा तयार भएर नै लकडाउन सहज बनाउन माग हुँदै आएको थियो ।
त्यही आवाजलाई सुनेर सरकारले लकडाउनलाई खुला गर्ने निणर्य गर्यो । यद्यपि कतिपय क्षेत्रहरू अझै सहज बनाउन सकिएको छैन । हाम्रो अनुभवले के देखायो भने व्यक्तिको अनुशासित जीवन र सतर्कताले कोभिड-१९ सँग जुझ्न सकिँदो रहेछ । अब लकडाउन खुल्यो भन्दैमा अनुशासनहीन भएर प्रस्तुत हुनु हुँदैन । नागरिकको सचेतता नै कोरोना विरुद्धको लडाईको सबैभन्दा ठूलो अस्त्र हो । त्यसकारण अब राज्यलाई दोष दिएरभन्दा पनि आफू सतर्क भएर जोगिने दायित्व हाम्रो हुन्छ ।
मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, धुन मिल्ने जुत्ता-चप्पललयागतका सामग्रीहरूको प्रयोग, भीडभाडमा रमाउने संस्कृतिको अन्त्य गर्ने, व्यायामको संस्कृतिको विकास गर्ने, रोग प्रतिरोधात्मक शक्ति बढाउनेतर्फ ध्यान दिने कुरामा हेलचक्राई गर्नु हुँदैन । यो ढङ्गलेको नवीन संस्कृतिको अपेक्षा समयले माग गरेको छ । यो संस्कृतिलाई बलियो बनाउनेतर्फ नागरिकको भूमिका महत्वपूणर् रहन्छ नै ।
यो बीचमा राज्यका लागि पनि धेरै सिकाई हासिल भएको छ । नागरिकले नयाँ संस्कृतिको विकासको सन्दर्भमा योगदान दिने क्रममा राज्य पनि सहयोगी भएर पेश हुन जरुरी छ । सचेतनाका कार्यक्रम सञ्चालन, कोभिड-१९ ले पारेको लथालिङ्गको अवस्थालाई सम्बोधन गर्ने पक्ष समेत राज्यको दायित्वभित्र पर्दछ । संक्रमण फैलन नदिनका लागि अपनाउने अन्य उपायहरू पनि सरकारको हो । रोगको उपचारका लागि भन्दा रोग लाग्न नदिनेतर्फ राज्यको तयारी बढी देखिनु पर्दछ । यतिमात्रै होइन, तत्काल स्तरीय उपचार गर्नका लागि तयारी अवस्थामा राज्य बस्नु पर्दछ । आ-आफ्नो भूमिका तथा सहकार्यका क्षेत्रहरू पहिचान गरेर कोभिडसँग जोगिने र जनजीवन सहज बनाउने सन्दर्भमा हातेमालो जरुरी छ ।