चले सार्वजनिक यातायातका साधन

दाङ, ८ साउन । सरकारले लकडाउन घोषणा गरेपछि चैतको ११ गतेदेखि बन्द रहेका यातायातका साधनहरु आजदेखि चल्न सुरु गरेका छन् । सरकार र यातायात व्यवसायीको सम्झौता अनुसार जिल्लाभित्र यातायातको साधनहरु सञ्चालन गर्ने सहमति अनुसार आजदेखि छोटो दुरीका यातायातका साधनहरु चल्न थालेका हुन ।

सार्वजनिक यातायातका साधनहरु सञ्चालनसँगै बजारमा चहलपहल समेत बढेको छ । आज विहानैदेखि जिल्लामा घोराही–तुलसीपुर तथा घोराही –लमही सडक खण्डलगायतका विभिन्न स्थानहरुमा सार्वजनिक यातायातका साधनहरु सञ्चालन भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रम्ुख प्रेमप्रसाद रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार दाङ तथा देउखुरी उपत्यकामा सवारीसाधनहरु सञ्चालन आएको हुन ।

त्रिशिद्धेश्वरी राप्ती यातायात, अम्विकेश्वरी यातायात, रोयल देउखुरी यातायात प्रालिलगायतका कम्पनीहरुका बसहरु सञ्चालनमा आएको ट्राफिक प्रहरी प्रमुख रेग्मीले बताए । ‘लकडाउनपछिको पहिलो दिन आजदेखि सवारीसाधनहरु चल्न सुरु गरेका छन’–ट्राफिक प्रहरी प्रमुख रेग्मीले भने–‘ उनीहरुलाई हामीले सामाजिक दुरी काम राखेर यात्रुहरु राख्न आग्रह गरेका छौ ।’ उनले यात्रुहरु पहिलेको तुलनामा अत्यन्त न्यून देखिएको समेत बताए ।