काठमाडौं, ८ साउन । कक्षा १२ को परीक्षा दशैँ अघि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोजमा कक्षा १२ को परीक्षा लिने निणर्य गरेको हो । बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ ।
कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निणर्य गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । असोज लागेलगत्तै कक्षा १२ को परीक्षा गर्ने तयारी बोर्ड गरिरहेको छ ।
उनकाअनुसार विद्यालयले कक्षा ११ को परीक्षा लिँदा बोर्डले यस अघि लिएकोजस्तै गरी लिनुपर्ने र प्रमाणीकरण एवं मूल्याङ्कन पनि विद्यालयले गर्नुपर्ने छ । बोर्डले पारित गरेको कार्यविधि अनुसार कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्याङ्कन विद्यालयले नै गर्ने, कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ सोही अनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रम अनुसारै प्रश्नपत्र निकाल्नुपर्ने छ ।
कार्यविधि अनुसार कक्षा ११ मा डी-प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन् । बोर्डकाअनुसार विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्नेछन् ।