लमही, ८ साउन । लमही नगरपालिका वडा नं. ८ निमुखुट्टी निवासी ७४ वर्षीय जुठी विश्वकर्माको घर जनता आवास कार्यक्रममार्फत् बनाउन थालिएको छ । विहीवार प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरको शिलान्याश गरेका हुन् ।
शर्माले वर्तमान सरकार लोक कल्याणकारी भएका कारण गरिब दुःखीको समस्या समाधानमा ध्यान केन्द्रित गरिएको बताए । दीन, दुःखीलाई सम्मान गर्ने, उनीहरुको जीवन सहज तुल्याउन योजना तथा कार्यक्रम वर्तमान सरकारले ल्याएको बताए । प्रदेश सभा सदस्य शर्माले लमही नगरपालिका वडा नं. ८ निमुखुट्टी र भौवानाकामा जनता आवासमार्फत् निर्माण हुन थालेको पक्की घरको शिलान्याश गरेका थिए ।
निमुखुट्टी निवासी विश्वकर्मा र भौवा निवासी सञ्जयकुमार नेपालीको घरको निर्माण काम अघि बढेको छ । दाङ निर्वाचन क्षेत्र नं. १(ख) मा ४४ वटा घर जनता आवास कार्यक्रममार्फत् बन्न थालेका छन् । घर शिलान्याश कार्यक्रममा पूर्व सतबरिया गाविसका अध्यक्ष डिल्लीबहादुर खड्का, निमुखुट्टीका सामाजिक अगुवा जनक बुढा, समाजसेवी ताराबहादुर नोपली, यादवनाथ योगीलगायतको उपस्थितिी थियो । जिल्लाका ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा दुई सय ६७ वटा घर बन्दै छन् ।
जसका लागि आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन भएको ८ करोड ९७ लाख १२ हजार रुपैयाँको बजेटमार्फत् जनता आवासको घर निर्माणको काम भइरहेको हो । टिनको छानो, पक्की इट्टाको गारो, दुई वटा कोठा, एउटा बरण्डा र शौचालय भएको पक्की घर बन्ने भएको छ ।