अमरराज आचार्य
दाङ, ७ साउन । जिल्लाको राप्ती गाउँपालिकामा समुदायमा नै पुगेर कक्षा सञ्चालन गर्ने थालिएको छ । कोरोना संक्रमणको जोखिमबाट जोगिनका लागि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन गरेपछि बन्द भएको पठन-पाठनलाई सुचारु गर्न या अभ्यास थालिएको छ ।
लकडाउन खुले पनि संक्रमणको जोखिम यथावत नै रहेको अवस्थामा विद्यार्थीहरुलाई समुदायमै पुगेर पठन-पाठनमा लगाउनुको विकल्प नरहेको भन्दै यो अभियानलाई थप क्रियाशील बनाउने गाउँपालिकाले जनाएको छ ।
क्लबका भवन, सामुदायिक भवन, मन्दिरका छेउछाउमा विद्यार्थीहरुलाई जम्मा गरेर यो अभ्यास शुरु गरिएको हो । आफ्नै समुदायमा रहेका यस्ता स्थानमा पठन-पाठनको अभ्यास शुरु भएपछि लामो समयसम्म पठन-पाठनको अवसर नपाएका विद्यार्थीहरु पनि हौसिएका छन् ।
सरकारले लकडाउन खुला गरेको घोषणा गरेसँगै बुधवारदेखि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न र भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न भने पनि पठन-पाठन कहिले गर्ने भन्ने सन्दर्भमा अन्तिम निणर्यमा पुग्न सकेको छैन । यो अवस्थाले पनि अन्योलमा रहेको विद्यार्थीको पठन-पाठनको वैकल्पिक शिक्षाको आवश्यकतालाई महसुस गर्दै समुदायस्तरमै पुगेर पठन-पाठन शुरु गरिएको हो । समुदायमा शिक्षकहरु पुगेपछि बालबालिकाहरुसमेत खुसी भएको मावि मौरीघाटका प्रअ सीता रिजालले जानकारी दिइन् ।
यही साउन १ गतेबाट उक्त क्षेत्रमा शिक्षकहरु समुदायमा पुग्न थालेका हुन् । ‘शिक्षकहरु आउने जानकारी पाएपछि विद्यार्थीहरु आफै आउने गरेका छन्’, रिजाललले भनिन् । विद्यार्थीहरुले आफू बस्ने चकटी, गुन्द्रासमेत ल्याएर आउने गरेका छन् । ‘समुदायमा पुग्दा विद्यार्थीहरु पनि आत्तिएको पाएका छौं’, रिजालले भनिन् ।
समुदायसम्म पुग्ने शिक्षक तथा विद्यार्थीहरुले स्वास्थ्य सुरक्षा अपनाएर सहभागिता जनाउने गरेको उनको भनाइ रहेको छ । समुदायमा रहेका सामुदायिक भवन, मन्दिर क्षेत्र, खुल्ला चौर, तथा छहारीमा बसेर अध्यापन गराउने गरिएको छ ।
शिक्षकहरु समुदायमा पुग्नको लागि विषयगत शिक्षकहरुको रुटिन नै निर्माण गरिएको छ । त्यसै अनुसार शिक्षकहरु पालैपालो जाने गरेको उनको भनाइ रहेको छ । शिक्षकहरु पालै पालो स्थान परिवर्तन गर्दै जाने गरेका छन् । एउटा गु्रपमा ४ जना शिक्षकहरु रहेको प्रअ रिजालले बताइन् ।
‘शिक्षकहरु समुदायमा पुगे पछि अभिभावकहरु समेत खुसी हुनुभएको छ’, प्रअ रिजालले भनिन् । विद्यालय जान नपाउँदा बालबालिकाहरुले शिक्षा लिन नपाएको हुँदा समुदायमा शिक्षक पुग्दा अभिभावकहरु खुसी हुने गरेका छन् ।
बालबालिकाहरुको पढाइ बिग्रने हो कि भन्ने चिन्तामा रहेका अभिभावकहरु समुदायमा पुगेपछि खुसी भएको उनको भनाइ रहेको छ । शिक्षकहरु नजाँदा बालबालिकाहरु मोबाइल तथा खेलमा नै भुल्ने गरेको अभिभावकहरुले बताउने गरेको प्रअ रिजालले बताइन् ।
‘लामो समय विद्यालय बन्द भएको कारण विद्यार्थीसम्म पुग्न शिक्षकहरु पनि उत्साहित हुनुहुन्छ’, रिजाले भनिन् । समुदायमा पुग्ने शिक्षकहरुले विद्यार्थीहरुसँग छलफल गर्ने, विद्यार्थीहरुलाई सक्रिय बनाउने गरेका छन् ।
जसले गर्दा बालबालिकाहरु सिकाइमा समेत सहयोग पुग्ने उनले बताइन् । गाउँपालिकाले विद्यार्थीहरुलाई विद्यालयसम्म ल्याउन र बालबालिकाहरुको सिकाइमा निरन्तरताका लागि समुदायमा कक्षा सञ्चालन गरिएको राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास बिकले जानकारी दिए ।
‘अहिले विद्यालय खोलेर पढाइ सञ्चालन गर्ने अवस्था नभएकाले यस प्रकारको कार्य शुरु गरिएको हो’, प्रमुख विकले भने । अहिले कक्षा १ देखि १२ कक्षासम्मका बालबालिकाहरुका लागि कक्षा सञ्चालन गरिएको उनले बताए ।
गाउँपालिकामा रहेका विद्यालयका प्रअहरुसँगको छलफलपछि यस्तो कार्यको सुरुवात गरिएको उनले बताए । यसमा शिक्षकहरुले सक्रियरुपमा सहयोग गरेको उनको भनाइ रहेको छ । समुदायसम्म पुग्न कठिन भए पनि शिक्षकहरु पुग्ने गरेको विक बताउँछन् । समुदायमा सञ्चालन गरिको कक्षामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागिता हुने गरेका छन् । ‘जो विद्यार्थीहरु पनि सहभागिता पाउने छन् विद्यार्थीहरुलाई विभेद गरिएको छैन’, प्रमुख विकले भने ।
समुदायमा पुगेर अध्यापन गराउँदा बालबालिकाको पारिवारिक अवस्थाको समेत जानकारी लिन सकिने छ । जसले गर्दा उनीहरुको सिकाइ उपलब्धिमा समेत सहयोग गर्न सकिने उनको भनाइ रहेको छ । अभिभावकले बालबालिकालाई गर्ने व्यवहार, दिने समयको बारेमा समेत जानकारी लिन सकिने उनले बताए ।
समस्या भए त्यसलाई सुधार गरेर अगाडि बढ्न सहयोग मिल्ने उनको भनाइ रहेको छ । ‘बालबालिकाहरुलाई वातावरणले पनि सिकाईमा धेरै असर गर्दछ’, प्रमुख विकले भने । गाउँपालिकाले असार महिनामा वैकल्पिक शिक्षाका लागि रेडियो तथा टिभीमार्फत पनि अध्यापन गराएको थियो ।
त्यसको प्रभावकारिताका बारेमा बालबालिकाहरुसँग जानकारी लिइने उनको भनाइ रहेको छ । गाउँपालिकामा सामुदायिक तथा संस्थागत गरी ४७ वटा विद्यालय रहेका छन् भने करिब १५ हजार बढी बालबालिका रहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई दाङले स्थानिय निकायहरुले आ-आफ्नो तर्फबाट वैकल्पिक माध्यमको प्रयोग गर्न सक्ने बताएको छ । तर त्यसका बारेमा हालसम्म कुनै पनि जानकारी नआएको शिक्षा विकास तथा समन्वय इकाईका निमित प्रमुख देवमणि चौधरीले जानकारी दिए ।