भूवन पोख्रेल
बन्दुकबाट निस्केको गोली र मुखबाट निस्केको बोलीलाई फेरि टिप्न मिल्दैन । त्यसर्थ सबै व्यक्तिले आफ्नो वाणीमाथि लगाम लगाउन जरुरी छ । कार्यकारी प्रमुखका मुखबाट खसेको बोली सबैले टिप्छन् । हावादारी गफ दिँदा देश र जनताले दुःख पाउँछन् । ओलीको रामको जन्मस्थल अयोध्या नेपालमा पर्छ भन्ने वक्तव्यले सिङ्गो भारतको आस्थामाथि प्रहार गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर मात्रै यो कुरालार्य साम्य पार्न सकिन्न । यो भनाईले दुई देशबीचको अविश्वासको खाडल झनै फराकिलो हुन्छ । भारतले सीमामा निर्माण गरेका बाँधको विषयमा बोलेको भए अरु जनताले साथ दिने थिए । प्रधानमन्त्री मुख्य विषयमा केन्द्रित नभई राम नेपाली हुन् भन्ने अभिव्यक्ति दिनुले परिपक्वता देखिँदैन ।
प्रधानमन्त्रीको ठट्यौली बानी हट्नु पर्छ । हास्यव्यङ्ग्य कलाकारलाई माथ खुवाउने गरी सदियौँदेखिको मान्यतालाई व्यवास्ता गर्दै प्रधानमन्त्रीजस्तो व्यक्तिको हल्का टिप्पणी गर्नु निकै दुःखदायी ठान्नुपर्छ । उखानटुक्का भट्याउँदै लोकप्रियता टिक्दैनन् ।
सरकार प्रमुखले दिएको अभिव्यक्ति उहाँ व्यक्तिगत धारणा नभई सरकारको आधिकारिक धारणाको रुपमा परिणत भइदिन्छ, तसर्थ ओलीका अधिकांश अभिव्यक्तिको पार्टी भित्रबाटै विरोध भइदिन्छ । दुइतिहाईको सरकार भन्दैमा जनताले क्षमा दिन सक्दैनन् । आफू कुन ठाउँमा उभिएर बोल्दैछु भन्ने हेक्का प्रधानमन्त्री स्वयम्लाई हुनुपर्ने हो ।
देशको कार्यकारीको भुमिकामा रहेर सार्वजनिक मञ्चमा बोल्दा धेरै विषयमा ध्यान दिनु पर्छ । बन्द कोठामा दुई-चार जना हितैसीसँग बोलेझैँ अभिव्यक्ति सार्वजनिक मञ्चमा दिन थालेका छन् ।
राष्ट्रवादी नेताको रुपमा छवि बनाएका ओलीको छवि विस्तारै फिक्का बन्दै छ । आफ्नो राष्ट्रवादी चिनारीलाई उनले बचाइराख्न सकेनन् । असार १४ गते एक कार्यक्रममा भारतले सत्ता ढलाउन लागेको र त्यसलाई नेपालकै केही नेताले समेत साथ दिएको अभिव्यक्ति दिएपछि अरिंगाल बन्दै नेता कार्यकर्ता उनीमाथि खनिए ।
यस अभिव्यक्तिले पार्टीभित्र चर्किरहेको विवाद्मा घ्यू थप्ने काम गरेको छ । प्रधानमन्त्री ओलीले आफ्नो बोलीमा सुधार नगरे उनका पतनका दिन आउन ढिलो हुने छैन । आफूलाई सर्वेसर्वा हूँ भन्ने दम्भ पाल्ने हो भने बोलीमा बेलगामपन आउँछ ।
२०७५ साल बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा प्रधानमन्त्री केपी ओली जनकपुर पुगेर उनको भव्य स्वागत गे । राम-सीता र जनकपुरको ऐतिहासिक महत्व दर्शाउँदै भारत र नेपालको सांस्कृतिक, धार्मिक सम्बन्धको निकै चर्चा गरे । त्यही समारोहमा नेपालको प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीले जनकपुर-अयोध्यामैत्री बस सेवा सुरुवात गरे तर त्इसबेला त केपी ओलीले राम भगवान् नेपालमा जन्मेका हुन् भन्न सकेनन् ।
दुई वर्षपछि भानुजयन्तीका अवसरमा भने प्रधानमन्त्री ओलीले राम र अयोध्याबारे अप्रमाणित कुरा बोलेर तरंगित तुल्याए । भारतको अयोध्याको अस्तित्वमाथि नै प्रश्न उठाइदिए । अयोध्या नेपालमै पर्छ भन्ने अभिव्यक्ति दिए । जुन अभिव्यक्तिले नेपाल र भारतको सांस्कृतिक, धार्मिक सम्बन्धको पुरानो मान्यतालाई नै विवादित तुल्याइदिएको छ ।
अयोध्याबारे भारतमै समेत चर्को विवाद भइरहने पृष्ठभूमिमा नेपालका प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिको कूटनीतिक अर्थ त हुन्छ नै ओली एक पछि अर्को विवादित वक्तव्यबाजीमा किन लागिरहेका छन् ? प्रशन पनि उब्जेको छ । पद र कुर्सीको मर्यादा नराखी जे पायो त्यही बोल्ने ओलीको बोलीमा नियन्त्रण नहुने हो भने देश र जनतालाई पनि असहज परिस्थितितर्फ लैजान सक्छ ।
प्रधानमन्त्री पद, देशको संस्कार, संविधान र संवेदनशीलताभन्दा पर व्यक्तिगत सनकको कैदी बन्न मिल्दैन । संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय अधिपत्य प्रधानमन्त्री पदको संविधानले परिकल्पना गरेको छैन ।
अतः प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र व्यवहार सम्पूणर् रुपले बदल्ने या प्रधानमन्त्री नै बदल्ने प्रधानमन्त्रीको दल नेकपाको विषय हो । प्रधानमन्त्रीबाट आएको त्यसतो अभिव्यक्ति संस्थागत हो कि होइन सार्वजनिक गर्नुपर्ने देखिन्छ । पछिल्ला समय देशमा देखिएका विविध परिदृश्यमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिले गम्भीर प्रश्न खडा गर्दै गएको छ ।
प्रधानमन्त्रीका अभिव्यक्तिले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद के व्यक्तिको जमिनदारी हो र ? प्रधानमन्त्री पद देशको जिम्मेवारी बन्नुपर्ने होइन र ? तर यसो नहुनु मुलुकै दुर्भाग्य ठान्नु पर्छ ।
बाढी पहिरोका कारण कैयौँ धनजनको क्षति भइरहेको छ तर प्रधानमन्त्रीबाट केवल संवेदनाको एक वक्तव्यको मात्र जनताले आशा राखेका हुन् त ? कालापानी र लिम्पियाधुरा समेटेर सरकारले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा देखिएको अभूतपूर्व एकता समेत भत्काउने काम प्रधानमन्त्रीबाट सत्ता राजनीतिको व्यक्तिगत हतियारका रुपमा प्रयोग गरेका कारण भएको छ ।
प्रधानमन्त्री ओलीलाई लगाम लगाउन राष्ट्रपति विद्यादेवी भण्डारीले पहलकदमी लिएको देखिएन । पार्टीभित्रको शक्ति संघर्षमा प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दा नेताहरुलाई शीतल निवास बोलाएर सक्रिय हुने राष्ट्रपति भण्डारीले राष्ट्र-राष्ट्रबीचकै सम्बन्धमै द्वन्द्व खडा गर्ने गरी प्रधानमन्त्री बेलगाम बन्दै जाँदा भने संवैधानिक दायित्व नै पूरा नगरेको ठहर्छ ।
राष्ट्रपतिका लागि संविधानले केही कर्तव्य निर्धारण गरेको छ । संविधानको संरक्षणकर्ताको हैसियतले प्रधानमन्त्रीबाट भइरहेका कामको जानकारी लिने र जनताको भावनाविपरित सरकारलाई हिड्न नदिन सल्लाह र सुझाव दिने काम राष्ट्रपतिको हो ।
कर्तव्य बाहिर पार्टी भित्रको आन्तरिक विवादमा हात हाल्ने तर एकपछि अर्को बोलीले राष्ट्रलाई अप्ठ्यारो पार्दा समेत राष्ट्रपति कुनै ध्यान नजानुलाई दुःखद् मान्नु पर्छ ।
वि.सं. २०७२ सालमा संविधान जारी हुनेबेलादेखि नै ओलीको भारतीय संस्थापनसँगको सम्बन्ध तीतो भएको थियो । उनको पहिलो शासनकाल भारतले नेपाल विरुद्ध नाकाबन्दी लगाएकै बेला सुरु भएको थियो ।
यसै पनि भूकम्पले मुलुक थला परेकोबेला छिमेकी मुलुक भारतले नेपालमाथि गरेको नाकाबन्दीको प्रहार र दुव्र्यवहार कसैले पनि बिर्सन सक्दैनन् । दक्षिणी सीमानाकामा नेपाली नागरिकले भारतीय पक्षबाट व्यहोर्ने दुःख, हप्कीदप्की र सीमा सुरक्षा बलको ज्यादतीको त सीमा नै छैन ।
कालापानीमा बसेको भारतीय फौद वर्षौंदेखि हटेको छैन । सुस्तादेखि लिम्पियाधुरासम्म भारतले मिचेको नेपाली भूमि फिर्ताका लागि उल्लेख्य कूटनीतिक पहल भएकै छैन । यस्तो बेला भारतीय हेपाहा प्रवृत्तिका विरुद्ध बोल्न प्रधानमन्त्री ओलीसित जति पनि विषय थिए । अयोध्या र रामको काल्पनिक चरित्रबारे बोलेर विवादमाथि विवाद सिर्जना गर्न खोजेको देखिन्छ ।
ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्ता भनाई राखदा विचार पुर्याउनु पर्छ । उनका जस्ता अभिव्यक्तिमा पनि जनताले साथ दिँदैनन् । उडन्ते गफले हुँदैन । खोज अनुसन्धान र प्रमाणका आधारमा पुष्टि गर्नु पर्छ । कुनै तथ्य प्रस्तुत नगरी अप्रमाणित कुरा फ्याट्ट बोलिदिँदा पार्टीभित्रकै नेताहरुलाई अप्ठ्यारो पर्छ ।
संसद्को रोष्टममै ‘सत्यमेव जयते हो कि सिंहमेव जेयते हो ?’ भनेर प्रश्न गरेका थिए प्रधानमन्त्रीले तर यस्ता कुरा बोल्दा संवेदनशीलता के हुन्छ ? प्रधानमन्त्रीको कुर्सीबाट बोल्न मिल्छ कि मिल्दैन भन्ने ख्याल अवशय राख्नु पर्छ । परराष्ट्र मामिलामा शान्त कूटनीतिक सम्बन्ध अपनाउँदा नै देश र जनतालाई फाइदा पुग्दछ । परराष्ट्र मामिलामा कम बोल्नुपर्छ तर नेपालमा भने ठीक उल्छो छ । पुत्ला जलाउने, नारा लगाउने, होहल्ला गर्ने प्रवृत्तिमा विश्वास गरिन्छ ।
प्रधानमन्त्री ओली के बोल्ने, के नबोल्ने ख्याल राख्दैनन् । राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी भइरहेको यस बीचमा बताए । संसदमा कोरोना जस्तो महामारीलाई सामान्य रुघाखोकीझैँ हो, बेसारपानीले ठीक हुन्छ भन्ने अभिव्यक्तिले स्वास्थ्य क्षेत्रमै तरंग मच्चियो । मेडिकल क्षेत्रमा उनको चर्को आलोचना भयो ।
उनका विवादास्प्रद अभिव्यक्ति सिलसिलावार ढङ्गले आएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिलाई सुरु-सुरुमा नागरिकले मजाकका रुपमा लिन्थे । अब प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिका अभिव्यक्तिलाई विस्तारै गम्भीर रुपमा लिएर त्यसबारे प्रतिक्रिया जनाउन थालेका छन् ।
पार्टीभित्रका नेताहरु त पहिलेदेखि नै उनको बोल्ने शैलीले रुष्ट छन् । स्वास्थ्य लाभको शुभकामना माधव नेपालले दिँदा समेत ओलीले तपाईँ मलाई ‘भरोषा भन्ने कामना गरिरहनु भएको छ’ भन्ने अप्रिय वचन लगाए, त्यसता कटु प्रहारबाट उनको पार्टीभित्रको आन्तरिक समबन्ध चिसिएका कारण अब ओलीको छाडा प्रवृत्ति नरोक्न खतर्नाक हुने भन्दै पार्टी र सरकार दुवै पदबाट उनको राजिनामा मागिएको छ ।
वचन लगाएका कारण आफ्नै क्याविनेटका मन्त्री समेत उनीसँग कोल्न सक्दैनन् । मान्छे कि दबाबमा धेरै परेर जथाभावी बोल्न थाल्छ कि म सबैभन्दा माथि छु, मैले बोलेको अन्तिम सत्य हो भन्ने दम्भबाट जथाभावी बोल्न थाल्छ । अहिले दुवै मनोविज्ञान प्रधानमन्त्री ओलीसँग मिलेको देखिन्छ । व्यक्तिगत जीवन र सार्वजनिक पदलाई एकै ठाउँमा राख्न मिल्दैन, सोचविचार गरेर मात्र सार्वजनिक अभिव्यक्ति दिनु पर्छ ।
सार्वजनिक रुपमा कार्यकारी प्रमुखबाट आएका विवादास्प्रद अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध चिसिने मात्र नभई थप जटिलतातर्फ धकेलिन्छ । नयाँ नक्सा अनुसारकोअतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्नेमा ध्यान अन्यत्र मोड्न अयोध्या काण्डको फण्डा अघि सारेझैँ देखिन्छ ।
प्रधानमन्त्री सामू अहिले दुई कर्तव्य कोरोना नियन्त्रण र कालापानी छन् । त्यसैमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । अयोध्यातिर ध्यान नमोडी संसद्बाट पारित नक्सामा हक कायम गर्न गम्भीर कूटनीतिक पहल थाल्नुपर्ने देखिन्छ ।
धर्म र आस्थालाई राजनीतिक तथा कूटनीतिकहतियार बनाएर प्रधानमन्त्री ओलीले सत्ताको मलजल गर्न थालेका छन् । अप्रमाणित, विवादास्प्रद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कूटनीतिक खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम उद्धत हुनु राम्रो होइन ।
जसरी गौतम बुद्ध र लुम्बिनीको विषय हामी नेपालीले कसैसँग सम्झौता गर्न सक्दैनौा । भारतले गौतम बुद्ध भारतमा जन्मेको भन्ने अप्रमाणित र अपुष्ट कुरा मिडियामा ल्याउँदा आक्रोशित बन्न पुग्दछौँ त्यसैगरी भगवान् राम र अयोध्या भारतको मात्रनभएर समग्र हिन्दूहरुको आस्थाको केन्द्र वा धरोहर हो ।
यस विषयमा कसैले पनि केही कुरा सुन्न चाहँदैनन् । त्यसर्थ प्रधानमन्त्रीको स्तरबाट उट्पट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु उपयुक्त हुँदैन । यस्तो अभिव्यक्ति भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ अघि बढ्छ । नक्सा प्रकाशित गेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद् सिर्जना गर्नु राम्रो होइन ।
पार्टीभित्रको विवाद मिलाउने प्रयास गर्नु राष्ट्रपतिको क्षेत्राधिकारभित्र पर्ने हो भने उहाँ अन्य पार्टीकोविवादमा पनि सहयोग गर्नुपर्यो नत्र नेकपाभित्रको विवादमा मात्रै संलग्न हुने हो भने उहाँ नेकपाको सल्लाहकार जस्तो हुनुभयो ।
संविधानका संरक्षकले नै संविधानको धज्जी उडाउन थालेपछि देशभित्र कस्तो परिस्थिति आउँछ ? मनलाग्दो पार्टीका नेता र प्रधानमन्त्री पालो-पालो शीतलनिवास धाउने पक्कै प्रजातान्त्रिक अभ्यास होइन ।