सुप्रिया मां
मानिस सामाजिक प्राणी हो र साथसाथै ज्ञानको चाह गर्ने आध्यात्मिक प्राणी पनि हो । मानिसका आवश्यकताहरु धेरै र अनन्त छन् । आवश्यकताहरु धेरै भएकोले यस्ता आवश्यकताहरु पूरा गर्न मानिस त्यति नै सक्रिय पनि भइरहनु पर्दछ ।
हामीलाई थाहा भए पनि नभए पनि हाम्रो शरीर, मन र हृदयको तलबाट कुनै न कुनै कर्म भइरहेको हुन्छ । शारीरिक आवश्यकता पूरा गर्न शरीरिक कर्म, मन वा विचारको तलबाट मनन् वा विचार गर्ने कर्म र हृदयको तलबाट भावनात्मक आवश्यकता पूरा गर्न भाव गर्ने कर्म भइरहेको हुन्छ ।
यसरी हाम्रा शरीरका तीनवटै तलबाट हाम्रा आवश्यकताहरु पूरा हुने कर्म भइरहेका हुन्छन् र आवश्यकताहरु पनि पूरा भइरहेका हुन्छन् । शरीर, मन र हृदयको आवश्यकताहरु पूरा भएपछि मानिसका सबै आवश्यकताहरु पूरा हुन्छन् कि अरु पनि केही कुरा पूरा हुन बाँकी रहन्छ ? मानिसका दिव्य आवश्यकता भनेको के हो र त्यो कसरी पूरा हुन्छ ? यो हाम्रो आजको चिन्तन्को विषय हो ।
पश्चिमका प्रख्यात मनोविद अब्राहम मास्लोले मानिसका सबै आवश्यकताहरुलाई पाँच तहमा विभाजन गरेर पाँच किसिमका आवश्यकताहरुको शृंखला बनाएका छन् । त्यसमा शारीरिक, सुरक्षा, प्रेम वा सम्बन्ध, मानसम्मान र स्वतन्त्रताको आवश्यकताहरु पर्दछन् ।
मनोविद अब्राहम मास्लोले बताएका सबै आवश्यकताहरुलाई तीन भागमा विभाजन गरेर शारीरिक आवश्यकता, मन र हृदयको आवश्यकता र आत्माको आवश्यकता पनि भन्न सकिन्छ । हाम्रा ऋषि मुनिहरु, तत्वद्रष्टाहरु र सन्तहरुले पनि बारम्बार शरीरको आवश्यकता, मन र हृदयको आवश्यकता र आत्माको आवश्यकताको कुरा गर्नुभएको छ ।
अन्य प्राणीहरुभन्दा मानिस धेरै चेतनशील प्राणी भएकोले अन्य प्राणीहरुकोभन्दा मानिसका आवश्यकताहरु पनि भिन्न प्रकारका र धेरै छन् । मानिस चेतनशील प्राणी भएकोले चेतनाको आवश्यकता पनि छ, जस्तै म को हूँ ? भनेर आफूलाई जान्ने चाहना र परम स्वतन्त्र हुने चाहना पनि मानिसमा रहेको छ ।
तर अन्य प्राणीहरुमा त्यस्तो चाहना भएको पाइँदैन र मन र हृदयको आवश्यकता पनि मानिस बाहेक अन्य प्राणीहरुलाई हुँदैन । मानिस मात्र यस्तो एउटा प्राणी हो जसलाई उत्कृष्ट कर्म गर्ने चाहना, ज्ञान पाउने चाहना र आफू को हूँ ? भनेर आफूलाई जान्ने चाहना र प्यास बनिरहन्छ ।
पश्चिमका मनोविद्हरुले बताएका आवश्यकतामा शरीरदेखि लिएर हृदयसम्मको आवश्यकता पर्दछ । तर हाम्रा ऋषि मुनिहरु, तत्वद्रष्टाहरु र सन्तहरुले आत्माको आवश्यकतालाई पनि अति महत्वपूर्ण मानेका छन् ।
जसरी शरीर, मन र हृदयको आवश्यकता पूरा गर्न अत्यन्त आवश्यक छ त्यसैगरी आत्माको आवश्यकता पनि पूरा गर्न अत्यन्त आवश्यक छ । मानिसका सबै आवश्यकताहरुलाई तीन प्रकारमा विभाजन गरेर साधारण वा शारीरिक आवश्यकता, मानवीय आवश्यकता र दिव्य आवश्यकता पनि भन्न सकिन्छ ।
साधारण वा शारीरिक आवश्यकता
साधारण वा शारीरिक आवश्यकताभित्र भौतिक शरीरलाई चाहिने सबै कुराहरु पर्दछन् । जस्तै शरीरका लागि भोजन, शरीरले गर्ने भोग, शरीरले खोजेको सुरक्षा र प्रेम वा सम्बन्धका कुराहरु यसभित्र पर्दछन् र यस्तो भौतिक शरीरको आवश्यकता पूरा गर्न गरिने सबै कर्महरु साधारण कर्महरु हुन् ।
जस्तै खानेकुरा खोज्नु, सन्तान उत्पत्ति गर्नु, वासस्थान बनाउनु, परिवारको हेरचाह गर्नु जस्ता कर्महरु यसभित्र पर्दछन् । यस्ता कर्महरु मानिसलगायत अन्य प्राणीहरुले पनि गरिरहेका हुन्छन् । अन्य प्राणीहरुले पनि आफ्ना सन्तानलाई खानेकुरा खोजेर खुवाउने र वासस्थान बनाएर राख्ने काम गरेका हुन्छन् ।
कमिला, माहुरी, र चराहरुलगायत अन्य जनावर र किराहरुले पनि सुन्दर घर वा गुण बनाएर आफ्ना सन्तानहरुलाई राखेका हुन्छन् । कमिला, माहुरीजस्ता प्राणीले सुन्दर समाज पनि बनाएका हुन्छन् । यस्ता साधारण कर्महरु चेतनशील प्राणी मानिसहरुले गर्न नसक्ने त कुरै भएन ।
त्यसैले यस्ता भौतिक शरीरको आवश्यकता पूरा गर्न गरिने सबै कर्महरु साधारण कर्म मानिएको छ । तर यो साधारण कर्म पनि मानिसहरुले बाँच्नका लागि गर्नुपर्ने हुन्छ । साधारण चेतना भएका अन्य प्राणीहरुले पनि गर्नसक्ने र गरिरहेको कर्म भएकोले मानिसहरुले गरेको यो साधारण कर्मलाई ठूलो कर्म वा मानिसको पुरुषार्थ हाम्रो धर्मशास्त्र र ऋषि मुनिहरुले मानेका छैनन् ।
यस्ता भौतिक शरीरको आवश्यकतालाई पूरा गर्न गरिएको साधारण कर्मले हाम्रो चेतनालाई माथि लैजान सहयोग गर्दैन तर मानिसहरुले यस्ता कर्महरु पनि गर्नु नै पर्छ, किनकि मानिसको भौतिक शरीर छ र बाँच्नका लागि पनि मानिसले यस्ता साधारण कर्म पनि गर्नुपर्ने हुन्छ ।
धेरैजसो मानिसहरुको जीवन भौतिक शरीरको आवश्यकता पूरा गर्ने जस्ता साधारण कर्म मात्र गरेर बितेको हुन्छ । साधारण कर्मभन्दा माथि उठेर मानवीय र दिव्य कर्म गर्ने, अरु पनि मन र आत्माका आवश्यकताहरु पूरा गर्ने मौका जीवनमा आएको हुँदैन र मौका पाए पनि यस्ता मानवीय र दिव्य आवश्यकता पूरा गर्नेतिर ध्यान गएको हुँदैन ।
मानविय आवश्यकता वा मनको आवश्यकता
मानवीय आवश्यकताहरु मन र हृदयको भावसँग जोडिएको हुन्छ । मानवीय आवश्यकता भनेको मानिसको मन र हृदयको आवश्यकता हो, यो आवश्यकता मन र भावनाबाट सुरु हुन्छ । जब हामीले गर्ने सबै कर्महरुमा राम्रो भन्ने कुरा जोडिन्छ तब मानवीय आवश्यकताको कुरा आउँछ । मानिसको मन र हृदय छ त्यसकारणले कुनै पनि कर्मलाई राम्रो बनाएर गर्ने चाहना मानिसमा रहेको हुन्छ ।
राम्रा कामहरु गर्दा वा आफूले गरेको कामलाई राम्रोसँग गर्दा हाम्रो मन रमाउँछ, खुशी हुन्छ, उत्साहित र प्रफुल्लित हुन्छ र हृदय आलादित हुन्छ । जस्तै कुनै नयाँ सिर्जनाका कार्यहरु गर्नु, नयाँ-नयाँ वैज्ञानिक खोजहरु गर्नु, राम्रा संगीत र कविताहरु रच्नु, राम्रा पेन्टिङहरु बनाउनु, राम्रा वस्तुहरु बनाउनु, राम्रा मठ मन्दिरहरु र घरहरु बनाउनु, गरिब-दुःखीहरुको सेवा र समाज सेवा गर्नु आदि ।
यस्ता कर्महरु अन्य प्राणीहरुले गर्दैनन् र मानिसहरुले मात्र गर्ने भएकोले यसलाई मानवीय कर्म भनिएको हो । यस्ता कर्महरु मानिसको आवश्यकतामा पर्दछ तर अन्य प्राणीहरुको आवश्यकतामा पर्दैन । नयाँ सिर्जनाका कार्य गर्दा र सबैको कल्याण हुने कार्य गर्दा हामीलाई रमाइलो लाग्छ । हाम्रो मन र हृदयको आवश्यकता पूरा हुन थाल्छ ।
यस्ता मन र हृदयलाई सन्तुष्ट पार्न गरिएका सिर्जनात्मक कर्मले हाम्रो भौतिक समृद्धि हुँदै आउँछ र हामी अनन्त प्रतिभाका धनी बन्दछौँ । हामीले गरेको उत्कृष्ट सिर्जनाहरु विश्वसम्पदाको रुपमा पनि रहन सक्छ र यस्ता कर्मले हामीलाई सिर्जनशील बनाउँछ । यस्ता कर्महरुलाई पश्चिमका मनोविद् स्टिफन आरकोभेले बी प्रोएक्टिभ (Be Proactive) भनेका छन् । यस्ता कर्मले थोरै भए पनि हाम्रो चेतनालाई माथि लैजान सहयोग गर्दछ । त्यसकारणले यस्ता कर्महरु मानिसले गर्नु नै पर्दछ ।
यस्ता मानवीय कर्मकै माध्यमबाट हामी भौतिक जगतमा सफल, समृद्ध र प्रख्यात बन्दछौँ । यसरी भौतिक जगतमा सफल, समृद्ध र प्रख्यात हुँदा हाम्रो मन र हृदयको आवश्यकता पूरा हुन्छ र मन र हृदय सन्तुष्ट र रमाएको हुन्छ । भौतिक जगतको नाम र दामले हामीलाई सुखी बनाउँछ, मन र हृदय रमाएको र खुशी हुन्छ तर अझै पनि आत्माको आवश्यकता पूरा भएको हुँदैन ।
हामीले अरु पनि केही कर्म गर्न बाँकी नै रहन्छ । संसारका सबैभन्दा सफल भनेका व्यक्तिहरुले पनि मन र हृदयको आवश्यकता पूरा हुनेसम्मका कार्य गरेका हुन्छन् तर उनीहरुको पनि आत्माको आवश्यकता पूरा भएको हुँदैन । उनीहरुको भित्र आफ्नो केन्द्रमा एउटा प्यास अझै पनि बाँकी नै रहेको हुन्छ ।
त्यसकारणले भौतिक जगतमा सफल, समृद्ध र प्रख्यात भएका मानिसहरु केही सन्तुष्ट देखिए पनि पूणर् सन्तुष्ट भएको पाइँदैन । किनकि आत्माको आवश्यकता पूरा हुन बाँकी रहेको हुन्छ ।
दिव्य आवश्यकता
मानिसलाई साधारण आवश्यकता र मानवीय आवश्यकता बाहेक दिव्य कुराको आवश्यकता पनि पर्दछ । शरीर र मनको मात्र आवश्यकता पूरा भएर पुग्दैन आत्माको पनि आवश्यकता पूरा हुनु पर्दछ । हामीमध्ये अधिकांश मानिसहरुलाई पूर्ण सन्तुष्ट बन्नका लागि मानिसको जीवनमा दिव्य आवश्यकता पनि पूरा हुनु पर्दछ भन्ने कुरा थाहा नहुन पनि सक्छ ।
हाम्रो आत्माले परम स्वतन्त्रता खोजेको छ । आत्माले परमात्मा तत्वलाई खोजिरहेको छ र परमानन्द हुन चाहन्छ । हाम्रो आत्मा जीवात्माबाट मुक्त भएर परमात्मामा एकाकार हुन चाहन्छ । हाम्रा धर्मशास्त्र, हाम्रा ऋषिमुनिहरु र हाम्रा गुरुहरु बारम्बार यही कुरा हामीलाई भनिरहनुभएको छ । हाम्रो जन्म त्यसैका लागि भएको हो ।
आत्माले आनन्द र परमशान्तिको अनुभव गर्न चाहन्छ, हामीभित्र त्यसको प्यास छ । आत्मज्ञान हुनेबित्तिकै आत्माका आवश्यकताहरु स्वतः पूरा हुन्छन् । जबसम्म आत्माको आवश्यकता पूरा हुँदैन तबसम्म मानिस भित्रबाट प्यासी, निराश र दुःखी भइ नै रहन्छ । बाहिरको सफलता, समृद्धि र प्रख्यातले खुशी र सुखी बनाउँछ तर आनन्दित बनाउँदैन । किनकि आत्माको आवश्यकता पूरा हुन बाँकी रहेको हुन्छ ।
त्यसकारणले मानिसलाई आध्यात्मिक ज्ञानको ठूलो महत्व छ र अति नै आवश्यक छ । भगवत् तङ्खवको अनुभूति गर्नु, परम स्वतन्त्र हुनु, आत्मज्ञानी हुनु, आनन्दित हुनु आदि कुराको आवश्यकता दिव्य आवश्यकता हो र त्यसका लागि गरिने सबै कर्महरु दिव्य कर्महरु हुन् ।
जस्तै ध्यान गर्नु, सत्संङ्ग गर्नु, सन्तहरुको संगत गर्नु र आत्मज्ञान लिनु, भक्ति गर्नु, निःस्वार्थ भावले सेवा गर्नु आदि दिव्य कर्महरु हुन् । यस्ता कर्महरुले हामीलाई दिव्यतातिर लैजान्छ ।
दिव्य आवश्यकता पूरा भएको मानिसको मन र हृदयको आवश्यकताहरु पनि स्वतः पूरा भएको हुन्छ । दिव्य आवश्यकता पूरा भएको मानिसले आफ्नो कल्याण हुने कार्यहरु गर्दै अरु सबैको कल्याण हुने कार्य पनि गर्दछ ।
त्यसकारणले हामी सुख, समृद्ध र आनन्दित जीवन बाँच्नका लागि साधारण कर्मबाट समय निकालेर मानवीय कर्म वा सिर्जनात्मक कर्म र साथसाथै दिव्य कर्महरु पनि गर्न अत्यन्त आवश्यक छ । आजलाई यत्ति नै, हरि ॐ !
सुप्रिया माँ आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।