अपराधमुक्त समाजका लागि मदिरा निषेधित

दिप्तीशिखा चौधरी
दंगीशरण, ७ असार । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले दुव्यर्सन र अपराधमुक्त गाउँपालिका निर्माणका लागि घरेलु मादक पदार्थ सेवनलाई रोक लगाउँनुपर्ने बताएका छन् ।

समाजमा अपराधजन्य घटना घट्नुको मुख्य कारण लागुऔषध र मादकपदार्थ सेवन रहेको भन्दै यसलाई पूर्ण रुपमा रोक लगाउँनु पर्ने प्रहरी नायव उपरिक्षक सिंहले बताए । तुलसीपुर उपमहानगरपालिकाको नगर सभाबाट पास भईसकेको र नेपाल अधिराज्यमा पहिलो पटक तुलसीपुर उपमहानगरपालिका घरेलु मदिरा निषेधित क्षेत्र घोषणा भईसकेको बताउदै प्रहरी नायव उपरिक्षक सिंहले जनप्रतिनिधिले साथ दिएमा दंगीशरण गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र बनाउँन सकिने बताए ।

सभ्य समाज , अपराधमुक्त समाज निर्माणका लागि मदिरा निषेधित क्षेत्र हुनुपर्छ डिएसपी सिंहले भने । निकट भविष्यमा यो कार्यक्रमले सफलता पाउन सक्नेछ । दंगीशरण गाउँपालिकाका राजनैतिक दल ,नागरीक समाज, जनप्रतिनिधि, समाजसेवि बुद्धिजिवि, प्रधानाध्यापक र स्थानीयहरुसंगको टोल सुरक्षा, लागु औषध, मादक पदार्थ उत्पादन विक्रीवितरण, सेवन तथा शान्ति सुरक्षा ब्यवस्था सम्वन्धि अन्तरक्रियात्मक कार्यक्रममा प्रहरी नायव उपरिक्षक सिंहले यस्तो बताएका हुन् ।
जनता र प्रहरीबिचको सम्बन्ध विश्वासीलो बनाउँनुपर्ने भन्दै दुई बिचको आपसी सहकार्य हुन जरुरी रहेको उनको भनाई थियो । एक अर्कालाई दोषारोपन गर्नुभन्दा पहिले अभिभावक स्वयम जिम्मेवार भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले बालबालीकाको पहिलो पाठशाला भनेको घर र अभिभावक रहेको भनदै आफनो छोराछोरीको रेखदेख अभिभावकले गर्नुपर्ने बताईन् । उपाध्यक्ष खड्काले दंगीशरणमा सुरक्षा दृष्टिकोणले पछिल्लो समयमा सहज भएको भन्दै टोल सुरक्षा समिति गठन कार्यले अझै सहज वातावरण बनेको बताई ।

प्रहरी प्रशासनलाई गाउँपालिकाबाट हुने सहयोग भईरहेको भन्दै जनप्रतिनिधि,हरेक तहका नागरीक, प्रहरी प्रसासन सधैँ हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताईन् । कार्यक्रममा नेकपा गाउँ कमिटी सदस्य खड्कविर चौधरी, नेपाली कांग्रेसका शोभाकर न्योपाने, सुकदेवाका मटावाँ जगतराम चौधरी, नागरीक विरवल चौधरी,पार्वता कँडेल लगाएतले प्रहरीले टोल सुरक्षा समिती गठन गर्दा समाजमा सुरक्षाको दृष्टिकोणले सहज वातावरण निर्माण गरेको बताए ।

एनसीसी बैँक शाखा प्रमुख विशाल देवकोटाले प्रहरी कार्यालय बैँक कार्यालय नजिक रहेकाले पनि राम्रो सुरक्षाको दृष्टिकोणले राम्रो भएको बताए । कार्यक्रमको शहजीकरण ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक कमल थापाले गरेका थिए ।