प्रविधिको विकाससँगै थारू हस्तकलालाई निरन्तरता

-नीता चौधरी

विज्ञान र प्रविधिको विकास सँगसँगै हामी निरन्तर अगाडि बढिरहेका छौँ । परिवर्तित समयसँगै अगाडि बढिरहँदा हामी आधुनिकतासँग पनि जोडिएका छौँ । त्यसैले आधुुनिकताको नाममा हामी कतै आफ्नो मौलिक पहिचान त बिर्सिरहेका छैनौँ ? हामी थारुहरुको मौलिक पहिचान के हो ? हाम्रो परिचय के हो ? हामी अहिले के गर्दै छौँ र पहिलेका हाम्रा पुस्ता (बुवाआमा, बाजेबराजु) हरुले के गर्नुहुन्थ्यो ? हामीले गर्नुपर्ने के हो ? यी र यस्ता प्रश्न हामीहरुले कहिले आफूले आफैँलाई सोध्ने र यसको सही जवाफको बारेमा गहिरिएर सोच्ने गरेका छौँ त ?

मलाई लाग्छ पक्कै पनि यसको बारेमा गहिरिएर सोचेका छैनौँ होला र सोच्दैनौँ पनि । यसलाई हल्का रुपमा लिदिन्छौँ तर जुन प्रश्न थारु समुदाय र स्वयम् व्यक्तिको लागि गम्भीर प्रश्न हो ।

समय धेरै परिवर्तनशील छ । समय कहाँदेखि कहाँ पुगिसकेको छ । समय र परिस्थिति अनुसार समयसँगै विभिन्न प्रविधिहरुको विकास भएको छ र अझैँ नयाँनयाँ प्रविधिहरुको विकास पनि भइरहेका छन्, जुन हाम्रो लागि सकारात्मक पक्ष हो ।

यसलाई नकारात्मक त हामीले कुनै पनि हालतमा लिन सक्दैनौँ र लिनु पनि हुँदैन । यही समय, परिस्थिति र प्रविधिको विकाससँगै हामी पनि परिवर्तन हुँदै गइरहेका छौँ । जुन निकै नै राम्रो पक्ष हो । अहिले सारा विश्व नै हाम्रै हातहातमा छ, त्यसैले हुनसक्छ सायद मेरो सोचाईमा यस कारण हामी कोहीलाई पनि केही र कसैको बारेमा सोच्ने फुर्सद छैन भनौँ भने अहिले सामाजिक सञ्जालको जमाना छ ।

सामाजिक सञ्जालहरु जस्तै युटुव, फेसवुक, भाइवर, ट्वीटर, इन्स्टाग्राम जस्ता थुपै्र सामाजिक सञ्जालहरु अहिले धेरै नै प्रयोगमा रहेका छन् र हामी पनि यसकै प्रयोग गर्छौँ । सामाजिक सञ्जालदेखि हामी कोही पनि अछुतो छैनौँ होला । हामी प्रायजसो यही सामाजिक सञ्जालमा व्यस्त हुने गर्छौँ ।

समय परिवर्तनसँगै हामी पनि परिवर्तन हुनुपर्छ परिवर्तन नहुने भन्न खोजेको होइन । परिवर्तन हुनुपर्छ तर सकारात्मक कुराको लागि । आधुनिकतासँगै परिवर्तन हुनुपर्छ भन्दैमा हामीले आफ्नो पहिचान नै धरापमा पारेर होइन ।

दुवैलाई सँगसँगै लिनुपर्ने आवश्यकता रहेको महसुस मलाई हुन्छ । अहिलेको अवस्थामा विश्व नै हाम्रो हातमा छ, त्यसैले हामीले मेहनत विज्ञान र प्रविधिको विकास अनि प्रयोगसँगै सिर्जनशीलतालाई पनि ध्यान दिनु आवश्यक छ जस्तो मलाई लाग्छ ।

अहिले हाम्रो लागि फुर्सद हुन्छ कि हुँदैन तर पनि सामाजिक सञ्जालसँग जोडिन हतार हुन्छौँ । काम छोडेर खान छोडेर भए पनि सामाजिक सञ्जालमा घन्टौँ समय बिताउने गर्छौँ । यही सामाजिक सञ्जालमा व्यस्त रहने अहिलेका युवापुस्ताले घरपरिवासँग समय बिताउने, बुवाआमासँग बसेर कुराकानी गर्न सायद कमैले गरेको देखिन्छ र कम रुचाउँछौँ पनि ।

यसको बेफाइदा स्वयं आफूलाई नै हुने गर्छ र गरेको पनि छ । हाम्रा पुर्खाहरुबाट हामीले धेरै कुराहरु सिक्न सक्छौँ तर त्यही अवसरलाई हामीले कहिँकतै गुमाईरहेका पो छौँ कि ? थारु समुदाय सीपमा अत्यन्तै धनी मानिन्छ । साथै मेहनती पनि । त्यसैले होला थारु समुदायका महिला, पुरुष तथा बालबालिका सबै जना आ-आफ्नै काममा व्यस्त रहन्थे पहिले तर अहिले भने धेरै फरक देखिन्छ ।

किनभने अहिलेको समयलाई आधुनिकतासँग जोडिएको छ । पहिले थारु गाउँमा प्रवेश गर्ना साथ सबैजना आ-आफ्नै काममा व्यस्त देखिन्थे । थारु समुदाय खासगरी कृषि पेशासँग सम्बन्धित भएकाले सधैँ खेतबारीकै काममा व्यस्त रहन्छन् । अलिअलि फुर्सदिलो समय भनेको बैशाख, जेठको महिना मात्रै हो यही गर्मी समयको फुर्सदिलो समयमा पनि थारु समुदायका व्यक्तिहरु कहिल्यै पनि खाली बस्दैनथे ।

साँझ बिहान घरको काम सकेर दिउँसोको दुईचार घन्टाको समयलाई धेरै नै सदुपयोग गरेर बस्थे । थारु समुदायका महिलाहरु गर्मी समय भरी आफूले जानेका सीपहरुलाई प्रयोग गर्ने नजानेकाहरुलाई सिक्ने सिकाउने प्रक्रिया चलिरहन्थ्यो । गर्मी समयमा दिउँसोको फुर्सदिलो समयसँगै हस्तकला (ढकिया बुन्ने, गुन्द्री बुन्ने, बिरा बनाउने) जस्ता विभिन्न खालका सीपमूलक काममा व्यस्त हुने गर्थे ।

जानेका महिलाहरुले नजानेका आफ्ना सन्तानलाई सिकाउने गर्थे र नजानेका सिक्न इच्छुक बालकालिकाहरुले ध्यान दिएर सिक्ने गर्थे । त्यस्तै थारु समुदायका पुरुषहरु जेठमासको समयमा बर्षा आइरहेको हुन्छ त्यसकारण बर्षाको विशेष तयारीमा हुन्छन् । छत्री बुन्ने, हलोजुवाहरु बनाउँने, डोरीहरु बनाउनेलगायतका थुपै्र काममा व्यस्त रहन्थ्ये ।

तर आजभोलि यी र यस्ता कामहरु गरेको देखिँदैन । यी र यस्ता कामहरु सीपहरु अब कहाँ गए त ? हामीले कहिल्यै यसको बारेमा सोच्ने गरेका छौँ ? यसको बारेमा अब खोज्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

कहिँकतै कोही-कोहीले यस्ता खालका हस्तकलाका कामहरु गरेको देखिन्छ तर खोज्नुपर्छ । पहिलेको जस्तो घरघरमा भेटिँदैन र अब हस्तनिर्मित वस्तुहरु आवश्यकता पर्दा पनि खोज्दा पनि मुस्किलले कहीँकतै मात्रै भेटिन्छ । पहिले हस्तकलामा व्यस्त रहने थारु समुदायका व्यक्तिहरु आधुनिकतासँगै प्रविधिहरुको पनि विकास भयो त्यही विकास सँगसँगै सामाजिक सञ्जालमा व्यस्त देखिन्छन् ।

अबको थुपै्र समय सामाजिक सञ्जालमै बिताउने गरेको देखिन्छ । मैले यसो भनिरहँदा सामाजिक सञ्जालप्रति नकारात्मक भन्न खोजेको त होइन तर हामीले नयाँ-नयाँ प्रविधिहरुमा समय दिनुको साथसाथै थारुहरुको पहिचान बचाउने हस्तकलामा पनि समय दिन सक्यौँ भने पक्कै पनि हाम्रो पहिचान ओझेलमा पर्ने छैन भन्ने विश्वाश लिन सकिन्छ ।

थारुहरू नेपालको तराई क्षेत्रको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मका विभिन्न २० जिल्लामा विशेषतः भित्री मधेशमा छरिएर बसोबास गरेको पाइन्छ । यस जाति नेपालका आदिवासी जनजातिमध्ये बढी जनसंख्या भएको जाति पनि मानिन्छ । २०६८ सालको जनगणनाअनुसार नेपालमा थारू जातिको जनसंख्या १७,३७,४७० छ ।

थारू समुदायको आफ्नै भाषा, संस्कृति, रहनसहन, रीतिरिवाज, लिपि तथा इतिहास रहेको छ । सोहीअनुसार हस्तकलामा पनि थारु समुदाय धेरै अगाडि रहेको छ तर पछिल्लो समय थारु समुदायले निर्माण गर्ने हस्तकला र हस्तकलाबाट निर्मित सामग्रीहरु लोप हुन थालिसकेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-१९ अर्थात कोरोना भाइरसको सन्त्रास सबै आम नागरिकहरुमा छ ।

नेपाललगायत विभिन्न देशहरुमा सयौँ, हजारौँ, लाखौँको ज्यान समेत गइसकेको छ भने लाखौँको संख्यामा कोरोना संक्रमितहरु छन् । कोही उपचारपछि निको भएर घर फर्किसकेका छन् भने कोही उपचाररत नै छन् । यसको सन्त्रासमा एउटा मात्र देश नभई विश्व नै त्रसित छ । विश्वका शक्तिशाली अमेरिका जस्तो राज्यमा नै सबैभन्दा भयावह अवस्था सिर्जना भएपछि आम नागरिकहरु त्रसित भएका हुन तर कोरोनादेखि डराउनुभन्दा पनि सचेत भएर सुरक्षित तरिकाले बस्नु नै उचित छ ।

तर हामीले कोरोनाले महामारीको रुप लिन थालेको छ भनेर हामीले नै लापरबाही गर्‍र्यौँ, बेवास्ता गर्‍यौँ भने झनै भयावह स्थिति नआउला भन्न सकिँदैन । त्यस कारण समयमै सचेत रहन आवश्यक छ ।

यस महामारीका कारण विश्व भरीका लाखौँ मानिसहरुको अकालमै ज्यान गइसकेको छ । यही कोरोना महामारीका कारण अहिले विश्वका अधिकांश राज्यमा लकडाउन अर्थात बन्दाबन्दीको अवस्था छ भने कतै केही खुकुलो भइसकेको छ । कतिपय ठाउँमा नागरिकहरु घरबाहिर निस्कन पाउँदैनन् । दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु मजदुरी गर्न नपाइरहेको अवस्था छ ।

कति दैनिक मजदुरी गर्ने मजदुरहरुको छोराछोरी अहिले भोकभोकै रोइरहेका छन् होला । सरकारले केही राहत त दिइरहेको छ तर पनि सरकारले दिएको राहत कति दिनसम्म पुग्ला र ? हामी जहाँ जुन अवस्थामा छौँ त्यही अवस्थामा सावधानीपूर्वक बसौँ, घरमै बसेर अभिभावकहरुसँग केही सीपहरु सिकौँ, सिर्जनशील बनौँ, हामी जो जहाँ रहे तापनि सुरक्षित रहाँै भन्नुबाहेक यो कोरोनाको कहर देखेर केही भन्न सकिने अवस्था छैन ।