तुलसीपुरमा चढेको त्यो रेल…

  •   
  •  

हाम्रो परिवार धार्मिक यात्रा जाँदै थियो । म पनि बुबाआमासँगै धार्मिक यात्रामा जाने अवसर पाएँ । भारतमा रहेका हिन्दुहरुको पवित्र धार्मिकस्थल अयोध्या, बनारस, इलाहवादलगायतका ठाउँहरुमा जाँदै थियौं ।

तर त्यो बेला अहिलेजस्तो सहज अवस्था थिएन । दाङको नेपाल-भारत सिमामा रहेको कोइलावाससम्म हिँडेर जानुपथ्र्यो । करिब तीन दिनको पैदल यात्रापछि हामी कोइलावास पुगेका थियौ ।

बुबाआमासँगै धार्मिक यात्रामा जाने अवसर पाएकाले मलाई कतिबेला रेल हेर्न र चढ्न पाइला भन्ने ठूलो रहर थियो । कोइलावास पुगेपछि मैले पहिलो पटक बस देखेर चढे पनि । त्यहाँबाट बस चढेर भारतको तुलसीपुर पुग्दा रेल देखियो ।

‘पहिलोपटक रेल देख्दाको खुशी नहुने कुरै भएन, त्यसैमा रेलमा चढ्दाको खुशी कति भयो होला, जुन खुशी मैले कहिल्यै भुल्न सक्दैन’, भारतको तुलसीपुरमा पहिलो पटक चढेको रेल मेरो खुसी हो, जुन अविस्मरणीय क्षण पनि । लेखिदिनुहोला अमरको खुसी तुलसीपुरको रेल……। मेरो मानसपटलमा के लाग्यो भने त्यो रेल एउटा सवारी साधनमात्र नभएर सिंगै गाउँ थियो । गाउँलेहरु त्यसमा भलाकुसारी गरिरहेका थिए ।

नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष अमरबहादुर खड्काले गोरक्षको साप्ताहिक खुशी स्तम्भका लागि आफ्नो अविस्मरणीय खुसीलाई यसरी सुनाए । त्यो खुसीलाई तीर्थयात्राबाट फर्केर धेरै वालसंगीहरुलाई पनि साटे । सायद त्यो सानो उमेरमा रेल चढ्ने र धार्मिक यात्रामा जाने साथीसंगीहरुका बीचमा उनै पहिलो व्यक्ति पनि थिए ।

बाल्यकालका धेरै कुराहरु याद छैनन् । मैले डायरीमा हरेक क्षणलाई बुँदागत रुपमा टिपोर्ट पनि गरेको छैन । मध्यमवर्गीय परिवारमा जन्मिएकाले मैले धेरै दुख पनि पाइन र धेरै सुख पनि मिलेन । तर म सन्तुष्ट छु, किनकि खुसी मेहनतको प्रतिफल हो, जुन पाएकै अनुभूति गरेको पनि छु । सामन्यरुपमै मेरो बाल्यकाल बितेको हो । जीवनका केही क्षण नबिसर्ने गरी मनमा बस्दा रहेछन् । त्यही क्षणमध्येको एउटा क्षण हो, पहिलोपटक रेल चढ्दाको क्षण ।

दाङमा बस पनि नचल्ने भएकाले त्यो समय रेल देख्ने कुरै भएन । चढ्ने सपनाजस्तै हुन्थ्यो । तर भारत गएर फर्किएकाहरुबाट रेलको बारेमा सुनाउने गर्थे । त्यही हुनाले पनि मनमा रेल हेर्ने र चढ्ने रहर जाग्थ्यो । त्यो रहर पूरा गर्ने अवसर मलाई २०३२ साल मिल्यो । जुन बेला म ११ बर्षको थिए ।

हुन त म बस पनि पहिलोपटक चढ्ने अवसर पाएको थिएँ, तर बस चढ्दाको भन्दा मलाई रेल देख्दाको धेरै खुशी लागेको थियो । रेलभित्र मानिसहरु देख्दा मलाई रेलमा एउटा गाउँ छ कि भन्ने जस्तो लागेको थियो । त्यो क्षण मेरो जीवनको सबैभन्दा खुशीको क्षण हो, जुन क्षण कहिल्यै बिर्सन सक्दैन ।

म विद्यार्थी जीवनकालमा नेपाल विद्यार्थी संघको राजनीति गर्न थालेको थिए । त्यो समयमा बीपी कोइरालाले लेखेका पुस्तक खुव पढ्ने गरिन्थ्यो । उनको विचारबाट प्रभावित भएकाले म नेपाल विद्यार्थी संघमा लागेको थिए । २०३६ सालमा बीपी कोइराला दाङ आउने कार्यक्रम थियो । यता आफ्नो एसएलसीको परीक्षा चलिरहेको थियो । बीपी कोइराला आउने दिन गणितको परीक्षा थियो ।

परीक्षाभन्दा मलाई बीपी कोइरालालाई भेट्नु थियो । हाम्रो परिक्षा सेन्टर महेन्द्र माध्यमिक विद्यालय तुलसीपुरमा थियो । त्यसैले परीक्षा सकिनुभन्दा आधा घण्टा पहिले म उत्तरपुस्तिका सरलाई बुझाएर निस्किए । त्यहाँबाट निस्किएर म सरासर तुलसीपुरको टरिगाउँ एयरपोर्टमा पुगेको थिए ।

टरिगाउँ एयरपोर्टमा नेपाली कांग्रेसका नेता, आफ्ना आदर्शका नेता बीपी कोइरालालाई भेटेर हात मिलाउँदाको अर्को बिर्सन नसकिने क्षण हो । उनलाई भेटेर धेरै कुरा गर्ने अवसर मिलेको थियो । अर्को मेरो जीवनको खुसीको कुरा एसएलसी परीक्षा पास गर्दाका क्षण हो । २०३६ सालमा परीक्षा दिएर २०३७ सालमा परीक्षाफल प्रकाशित भएको थियो ।

त्यो समय मैले बालमितेरी माध्यामिक विद्यालय भोजपुरमा अध्ययन गर्ने गरेको थिए । आईरन गेटका रुपमा रहेको एसएलसी परीक्षामा हामी ३६ जना विद्यार्थीले परीक्षा दिएका थियौ । जसमा ७ जनाले एसएलसी पास गरेका थियौं । ‘एलएलसी पास गर्दाको त्यो क्षण मेरो जीवनको अर्को खुशीको क्षण हो’ खड्काले गोरक्षसँग भने । त्यो बेला पनि मैले साथीभाइलाई चक्लेट बाँडेको थिएँ ।

खड्का विद्यार्थी कालदेखि अहिलेसम्म लोकतन्त्र र पार्टीका लागि लड्दै आएका मान्छे हुन् । बहुदलीय व्यवस्थाका लागि २०४२ सालमा भएको सत्याग्रहमा जेल बसेको र निरन्तररुपमा बहुदलीय व्यवस्थाका लागि आन्दोलन भइरहँदा २०४६ सालको आन्दोलनपश्चात राजावाद बहुदलीय व्यवस्था घोषणा भएको क्षणलाई पनि उनी आफ्नो जीवनको खुशीको क्षणका रुपमा लिने गरेका छन् ।

‘जीवनमा खुशी र दुखका अनेक क्षणहरु आउने रहेछन्, तिनै क्षणहरु मध्यको एउटा खुशीको क्षण राजाले बहुदल घोषणा गर्दाको क्षण हो मेरो’, उनले भने-‘विद्यालय पढ्दादेखि नै बहुदलका लागि लडेको र त्यही क्रममा जेल समेत बसेको मान्छेलाई बहुदल घोषणा हँुदा खुशी नहुने कुरै भएन ।’
२०४० सालमा शिक्षण पेशामा प्रवेश गरेका खड्का २०६० सालमा शिक्षक सेवा आयोगबाट स्थायी नियुक्त पाएको थिएँ ।

साविक प्रावि लुहाडबराबाट शिक्षण पेशा शुरु गरेका खड्का आधारभूत विद्यालय दलजितपुर, मावि भोजपुर, मावि नारायणपुर र घोराही पद्मोदय पव्लिक नमूना माध्यमिक विद्यालय घोराहीसम्म आइपुग्दा करिब दुई दशकपछि स्थायी शिक्षकका रुपमा नियुक्ति पाउँदाको क्षण उनको अर्को खुशीको क्षण हो ।

नेपाल शिक्षकको सांगठनिक सुदृढीकरण र नेतृत्व गर्ने क्रममा दाङका शिक्षकहरुको माया र समर्थनमा २०६५ सालमा नेपाल शिक्षक संघको जिल्ला कार्यसमितिमा निर्वाचित हुँदाको क्षणलाई पनि उनी खुशीको क्षणका रुपमा लिने गरेका थिए । निर्वाचनमा सहमति हुन नसकेपछि त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो ।

त्रिपक्षीय प्रतिस्पर्धामा अत्यधिक मतले विजयी भएर शिक्षकहरुको संस्था नेपाल शिक्षक संघ दाङको नेतृत्वमा पुग्दाको त्यो क्षण साँच्चिकै जीवनको खुशीको अर्को क्षण हो । त्यस्तै खड्काले धार्मिक यात्रालाई पनि खुशीको क्षणका रुपमा लिने गरेका छन् । उनले जीवनका क्रममा घुमेका धेरै ठाउँहरुमध्ये २०७२ सालमा मुक्तिनाथ मन्दिरको दर्शन र सोही बर्ष भारतको माउन्ट आवु (मधुवन)को धार्मिक भ्रमणलाई खुशीको क्षणका रुपमा लिने गरेको बताए ।

‘नेपालको अग्लो ठाउँमा रहेको मुक्तिनाथ मन्दिरको धेरैबाट सुनेको र पढेको थिए तर पुग्न पाएको थिए, त्यस्तै ओम शान्तिको भारतको माउन्ट आवुमा धार्मिक ठाउँको पनि सुनको तर पुग्न सकेको थिए’, उनले भने- ‘२०७२ सालमा यी दुवै ठाउँमा पुग्ने अवसर मिल्यो, दुबै ठाउँको भौगोलिक बनावट, धर्मप्रतिको आस्था देख्दा निकै खुशी लाग्ने गरेको छ, माउण्ट आवुको त त्यो पहाडमा मानव निर्मित अन्त्यन्त सुन्दर र स्वच्छ ठाउँ हो । हजारौ हजारौ मानिसहरु अट्न सक्ने त्यो ठाउँ पुग्दाको क्षण अर्को खुशीको क्षण हो ।’

नेपाल शिक्षक संघको संघीय कार्यसमिति उपाध्यक्ष, नेपाल शिक्षक महासंघको जिल्ला अध्यक्षका रुपमा रहेको खड्का प्रजातान्त्रिक विचार समाज दाङको सल्लाहकार, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय प्रनितिधि हुन् ।

तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरा स्थायी घर भई हाल घोराही उपमहानगपालिका-१५ नवज्योति टोल निवासी अमरबहादुर खड्का २०२१ सालमा बुबा घनबहादुर खड्का र आमा बेदकुमारी खड्काका सात सन्तानमध्येका कान्छो छोरा हुन् । उनका तीन दाई र तीन दिदीहरु रहेका छन् । २०४२ सालमा गोल्टाकुरी निवासी शान्ता खड्कासँग बैबाहिक जीवनमा बाँधिएका खड्काका दुई छोरा र एक छोरी रहेका छन् ।

घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा आई.ए. र विद्यानीलकण्ठ क्याम्पसबाट बीएड् पास गरेका हुन् । भन्छन्- ‘खुसी जीवनका यात्राहरुको संगालो हो, सकारात्मक सोचको प्रतिफल हो ।’
प्रस्तुती  : लिलाधर वली