Goraksha

National Daily

‘राज्यलाई पारदर्शी बनाउन सूचनाको हक’

दाङ,५ साउन । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले सूचनाको हकलाई प्रचलनमा ल्याउन जिम्मेवार नागरिकहरु लाग्नुपर्ने बताएका छन् ।

फ्रिडम फोरमले सूचनाको हकका सम्वन्धमा आयोजना गरेको भर्चुअल मिटिङमा उनले राज्यले बिनियोजन गरेको बजेट पारदर्शी रुपमा खर्च गर्दै सुशासन युक्त समाज निर्माणका लागि हरेक नागरिकले सूचनाको प्रयोग गर्न आवश्यक रहेको बताएका हुन ।

सूचनाको हकको प्रयोग गर्दा राज्य उत्तरदायी बन्ने,राज्य र नागरिकविचको समन्ध राम्रो बन्न सक्ने र जनताले तिरेको करको दुरुपयोग नहुने चर्चा गर्दै उनले सुशासन युक्त समाज निर्माणका लागि हरेक नागरिकहरु सचेत बन्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा युवाहरुले सरकारी कार्यालयमा सूचना माग गर्दा झारा टार्ने गरि काम गर्ने गरेको, सूचनाअधिकारीले कार्यालयको सूचना नराख्ने गरेकोलगायत जिज्ञासाहरु राखेका थिए ।

उनीहरुले राखेका जिज्ञासाहरु नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष पोख्रेलले प्रस्टाउने काम गरेका थिए । कार्यक्रममा सूचनाको हकको बारेमा फ्रिडम फोरमका नानुमैया खड्का दाहालले प्रस्तुति राखेकी थिइन भने सहजीकरण फ्रिडम फोरमका प्रदेश नं. ५ का प्रतिनिधि सुदीप गौतमले गरेका थिए ।

कार्यक्रमका फ्रिडम फोरमका तर्फबाट लेखा प्रमुख अरुणा अधिकारीले सहभागीहरुलाई धन्यावाद दिएकी थिइन । कार्यक्रम सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहको सहकार्यमा भएको थियो ।