Goraksha

National Daily

भारी बर्षा हुने मौसमविद्को चेतावनी : तटिय क्षेत्रमा हाइ एलर्ट

खेमराज रिजाल
दाङ, ४ साउन । पछिल्लो बर्षात मध्यपश्चिम क्षेत्र अर्थात विशेषगरी ५ नं. प्रदेशमा बढी हुने र बर्षात निरन्तर तीन दिनसम्म रहने मौसमविद्हरुको भविष्यवाणीसँगै सुरक्षा निकाय उच्च सतर्कताको अवस्थामा रहेको छ । शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकसँगै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समेत सम्भावित बाढीको जोखिममा कसरी बस्तीलाई सुरक्षित बनाउने सन्दर्भमा विभिन्न निणर्यहरु गरेको हो ।

यसका लागि पूर्व मनसुन सूचना प्रणाली, बाढीको प्रवाहका विषयमा जानकारी दिन विभिन्न स्थानमा साइरन बजाइने तथा माइकिङ गर्नेसमेत तयारी भइसकेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् । आइतवारबाट विशेषरुपमा मनसुन सक्रिय रहने मौसमविद्हरुले बताए पनि आइतवार भने खासै भारी बर्षा भएको छैन ।

बर्षात नभैसके पनि सम्भावित जोखिमलाई न्यूनीकरण गर्न भने स्थानीय पालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तयारी अवस्थामा रहेका छन् । ‘स्थानीय पालिकाहरुले आफ्नै सूचना टिम र उद्धार टिम पनि बनाएका छन्, जिल्ला विपद् व्यवस्थापनले पनि आफ्नै तयारी गरिसकेको छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने- ‘आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने छ ।’

त्यसका लागि सबै सुरक्षा निकायमा सुरक्षाकर्मी र विशेष उद्धार टोली तयारी अवस्थामै रहेको पनि प्रमुख जिल्ला अधिकारी रिजालले भने । बाढी प्रभावित क्षेत्र तथा नदीतटीय क्षेत्रमा विशेष तयारी भएको छ । दाङ जिल्लामा पहिरोको डरभन्दा पनि बाढीकै समस्या भएकाले सबै सुरक्षा निकाय बाढी प्रभावित हुनसक्ने क्षेत्रमा केन्द्रित भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार उद्धारका लागि भालुवाङको सशस्त्र प्रहरी गणमा दर्जनजति डुंगा, आवश्यकताअनुसार लाइफज्याकेट, तथा अन्य उद्धार सामग्रीहरु तयारी अवस्थामा राखिएको छ । त्यसैगरी लमहीको सशस्त्र प्रहरी बलमा आवश्यक मात्रामा डुंगाहरु व्यवस्थापन गरिएका छन् भने राप्ती नदीकै नजिक रहेको इलाका प्रहरी कार्यालय गढवामा पनि आवश्यक उद्धार सामग्रीहरु राखिएको पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

साथै देउखुरी क्षेत्रमा विशेषगरी राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा राजपुर गाउँपालिका र लमही नगरपालिकाले पनि विपद् व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीलाई सक्रिय बनाउँदै उद्धार दस्ता पनि तयारी अवस्थामा रहेको ती पालिकाहरुले बताएका छन् । ‘हामीहरुले पूर्वसूचना प्रणालीलाई सक्रिय बनाउँदै उद्धार दस्तासमेत तयारी अवस्थामा राखेका छौं’, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

दाङ उपत्यकामा पनि विशेष गरी बबई नदीका तटीय क्षेत्रमा बाढीको बढी सम्भावना भएको भन्दै बबई नदी तटीय क्षेत्रमा आवश्यक तयारी स्थानीय पालिका एवं विपद् व्यवस्थापन समितिले गरिरहेको बताइएको छ । बबई नदीको बहाव बढी हुने तुलसीपुर उपमहानगरपालिकाका विभिन्न क्षेत्रसँगै दंगीशरणका बस्ती तथा बबई गाउँपालिकाका केही बस्तीमा समेत बाढी पूर्वतयारी संयन्त्र तयारी अवस्थामा राखिएको छ ।

कुइरेपानीदेखि बबई नदीको वहावलाई विश्लेषण गर्दै पश्चिमसम्म पनि त्यसको सूचना दिने र उद्धार गर्ने तयारी भएको सम्बन्धित पालिकाहरुले जनाएका छन् । नदी किनारामा करिब एक सयका हाराहारीमा डुंगा छन् । भालुवाङको सशस्त्र गणमा, गढवा प्रहरी चौकीमा र लमहीको सशस्त्र प्रहरी बल, बबई रेडक्रसको टोलीले उद्धार तयारीसँगै पूर्व सूचना र सचेतना जगाइरहेको बताइएको छ ।

‘हामी बाढीपूर्व तयारी एवं सूचना प्रणालीका विषयमा तयारी अवस्थामा छौं, सम्भावित जोखिम क्षेत्रमा सुरक्षाकर्मी खटाउनेदेखि राहतका लागि पनि तयार भइसकेका छौं’, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने । उनले बाढीपीडितका समस्यालाई समाधान गर्न दीर्घकालीन उपायको समेत खोजी भइरहेको उनले बताए ।

रेडक्रसको पनि पूर्वतयारी : सभापति आचार्य
यसैबीच नेपाल रेडक्रस सोसाइटी दाङले बाढी प्रभावित क्षेत्रमा पूर्वसूचना, बाढी आइसकेको अवस्थामा राहत व्यवस्थापनलगायतका समन्वयकारी भूमिकामा कर्मचारी तथा रेडक्रसका समुदाय परिचालन गरिसकेको जनाएको छ । नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष नारायणप्रसाद आचार्यले विपद् व्यवस्थापनका लागि समुदायमा तालिम दिने तथा उद्धार दस्ता निर्माणका काम समेत गरिरहेको बताउँदै सम्भावित बाढीको जोखिममा आफूहरु गम्भीर रहेको बताए ।

‘राहतका लागि ननफुड आइटम स्टक बैंकमा छन्, उद्धार कार्यमा पनि हाम्रा तालिमप्राप्त उद्धारकर्मीहरु पनि खट्ने छन्’, रेडक्रस सभापति आचार्यले बताए । विशेषगरी पश्चिम दाङको बबई कटान क्षेत्रमा आफूहरु खटिएको पनि उनको अभिव्यक्ति थियो ।

हामी परिचालित भैसक्यौं : जिल्ला प्रहरी
यसैबीच जिल्ला प्रहरी कार्यालयले पनि सम्भावित बाढी तथा पहिरो तथा अन्य विपद्का सन्दर्भमा आपतकालीन युनिट बनाएर सम्भावित क्षेत्रमा परिचालन गरिसकेको जनाएको छ । सो टोलीमा उद्धार सामग्रीदेखि व्यक्तिगत सुरक्षा सामग्रीहरुसमेत उपलव्ध गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुमित खड्काले बताए ।

‘डिओसीको निर्देशनबमोजिम हामीले तत्कालका लागि एक सय जना प्रहरीलाई आपतकालीन रेस्क्युमा खटाइसकेका छौं, उनीहरु चौबीसै घण्टा एलर्टको अवस्थामा रहनेछन्’, जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता खड्काले भने । थप आवश्यकता भएको अवस्थामा अन्य टोली पनि तयारी अवस्थामा रहेको पनि उनको अभिव्यक्ति थियो ।