पार्टीले सामाजिक र राजनीतिक आन्दोलन चलाउने बेला भयो : कांग्रेस नेता केसी
दाङ, ४ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननसिंह केसीले नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा कमजोर देखिएको कुरा नेतृत्वले स्वीकार गर्नैपर्ने बताएका छन् । कार्यकर्ताहरू तथा शुभेच्छुकहरूले प्रतिपक्षमा रहेको कांग्रेसबाट समेत ठूलो अपेक्षा गरेको महसुुस आफूलाई भएको र पार्टीका केन्द्रीय समितिका बैठकहरूमा आफूले कुरा पनि उठाइरहेको उनले बताए ।
प्रजातान्त्रिक बिचार समाज दाङले आयोजना गरेको भर्चुअल अन्तत्र्रिmयामा उनले भने– ‘सरकारसँगको नागरिकको विकर्षणलाई हामीसँगको आकर्षण बनाउन सकेनौ, यो पार्टीका कमजोरी नै हो ।’ सरकार भ्रष्टाचारको चाङमा उभिएको आरोप लगाउँदै उनले भने– ‘तर हामीले यसलाई एजेण्डा बनाउन सकेनौं ।’
नेपाल दक्षिण एशियामा धेरै कर तिर्ने नागरिकको देशका रूपमा चिनिएको सन्दर्भ उठाउँदै नेता केसीले भने– ‘यो मात्र हैन, हत्या, हिंसा बलात्कारका घटनाहरूलाई लिएर यो बेलामा पार्टीले सामाजिक र राजनीतिक आन्दोलन चलाउनपर्ने थियो ।’ उनले यस्तो आन्दोलन चलाउन पार्टीले सोच्नैपर्ने पनि बताए । महामानव बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा प्रजातान्त्रिक विचार समाज दाङले आयोजना गरेको सो अन्तत्र्रिmयामा बोल्दै उनले बीपी कोइराला नेपालमा लोकतान्त्रिक पद्धति, संस्कार र सभ्यताका स्थापनाका प्रबर्तक भएको चर्चा गरे ।
बीपी कोइराला ग्रामीण विकासको पक्षपाती भएको बताउँदै उनले विकसित मुलुकको ठाँटबाँटको नक्कलले हामी कहीँ पुग्न सक्दैनौ भन्ने बीपी कोइरालाको समाजवादको अनुशरण गर्न हामी कहीँ कतै चिप्लियौं कि ? भनेर समीक्षा गर्नुपर्ने बताए । ‘
हामीसँग भएको स्रोत साधनको अधिकतम् उपयोग गरेरै सामाजिक र आर्थिक परिवर्तनको पक्षमा उभिनुपर्ने उहाँको चिन्तन हो’, केसीले भने– ‘विदेशी सहयोग लिने कुरामा हामी हौसिएर कतै चिप्लियौंझै लाग्छ ।’ उनले राजनैतिक व्यवस्था परिवर्तन गरेर मात्र हुँदोरहेनछ भन्दै पद्धति, प्रक्रिया र मनस्थिति परिवर्तनका लागि सशक्त आन्दोलनको टड्कारो आवश्यकता खड्किसकेको समेत बताए ।
कार्यक्रममा विशिष्ट अतिथि कांग्रेका नेता डा. शेखर कोइरालाले कांग्रेसले बीपी कोइरालालाई नभुलेको भए तापनि आन्तरिक गुटमा भने नराम्रोसँग अलमलिएको चर्चा गरे । ‘सरकार भ्रष्टाचारमा लिप्त छ, बिलासी गाडी र जीवनशैलीको मोहमा फस्दै गएको छ’, डा. कोइरालाले भने– ‘संवैधानिक र स्वायत्त अंगहरूमा समेत प्रहार गर्दै सरकार निरंकुश बाटोमा हिँड्न थालेको छ, अख्तियार र अदालतप्रतिको जनविश्वास समेत खस्कँदो छ ।’
यस्तो परिस्थितिमा समाजवादीहरू चुप लागेर बस्न नहुने उनको तर्क थियो । भारतसँगको सीमा विवाद वार्ता र कुटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै उनले प्रधानमन्त्री दुई देशको सम्बन्ध खलबल्याउनतर्फ सक्रिय रहेको आरोप समेत लगाए । बीपीले सधै सत्यको पक्षमा उभिन भनेको स्मरण गर्दै उनले पार्टीभित्र र बाहिरका सवालहरूमा समेत आफू सधै सत्यको पक्षमा उभिने प्रतिबद्धता जनाए । ‘सत्यको पक्षमा उभिनु चुनौतीपूर्ण कुरा हो’, उनले भने– ‘तर पार्टी बनाउन, लोकतन्त्र बचाउन र देशलाई बलियो बनाउन सत्य बोल्ने संस्कारको विकास गरौं’, उनले भने ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसीले कांग्रेसका नेताहरूले बीपीको विचारका बारेमा मिठो प्रवचन दिन सके तापनि त्यो विचारको कार्यान्वयनमा सफलता हासिल गर्न नसकेको बताए । समाजका प्रदेश संयोजक शंकरदिवस मजगैयाँले बीपीको विचार कार्यान्वयनमा नेतृत्वपंक्ति चुकेको भन्दै प्रतिपक्षको भूमिकामा समेत कांग्रेस कमजोर देखिएको बताए ।
‘बीपीको प्रजातान्त्रिक समाजवाद र आजको सन्दर्भ’ बिषयमा केन्द्रित गरिएको त्यस कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले नेपाली समाजको शूक्ष्म विश्लेषण बीपी कोइरालाले गर्न सकेको चर्चा गर्दै गाउँ बनाउने बीपीको नीति नेपालको समाजको अध्ययनपश्चातको उनको निष्कर्ष भएको चर्चा गरे । प्रत्येक व्यक्तिको महत्व स्वीकार्दै र उसको विवेकपूर्ण निर्णय क्षमताको विकासले नै समाजवादी कार्यक्रम सम्भव हुने कुरामा बीपीको स्पष्ट दृष्टिकोण रहेको उनले बताए । समाजका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले स्वागत गरेको त्यस कार्यक्रमको सहजीकरण सचिव केशवराज पोख्रेलले गरेका थिए ।
