Goraksha

National Daily

नेकपा विवाद : स्पष्टीकरण दिनुपर्ने अवस्थामा पु¥याइए प्रचण्ड

दाङ, ४ साउन । सत्तारुढ नेकपाभित्रको विवादमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्पष्टीकरण दिने ठाउँमा पु¥याइएका छन् । अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली बिरुद्धको पार्टीभित्रको मोर्चाबन्दीको नेतृत्वकर्ता मानिएका प्रचण्डले पछिल्लो समयमा ओलीसँग गोप्य सम्झौता गरेर आफूहरूलाई धोका दिन थालेको आशंका माधव नेपाल सहितको पक्षले गर्न थालेको छ ।

ओलीले प्रस्ताव गरेको ‘अर्ली महाधिवेशन’लाई सहजै स्वीकारेको र ओलीसँगै गएर राष्ट्रपतिलाई भेटेको सन्दर्भपछि प्रचण्डलाई उनकै कित्ताका नेताहरूले अविश्वास गर्न शुरु गरेका हुन् । ‘अर्ली महाधिवेशन स्वीकारेर राष्ट्रपतिलाई भेट्न गएपछि केही सम्झौता भएको र राष्ट्रपतिलाई त्यसको साक्षीको रूपमा राखिएको हुनसक्ने आशंका अन्य नेताहरूले गर्नुभएको हो’, माधव नेपाल निकट एक नेताले गोरक्षसँगको कुराकानीका क्रममा भने ।

प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएको सन्दर्भमा स्पष्टीकरण दिन बाध्य पारिएका छन् । उनले शनिबार साँझ राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई ‘आकस्मिक’ भनेका छन् । आइतबार बिहान आफ्नै निवासमा भेला भएका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत १ दर्जन स्थायी समिति सदस्यलाई प्रचण्डले आफू परिबन्दमा परेर शितल निवासमा गएको बताउँदै त्यहाँ कुनै सहमति वा सम्झौता नभएको स्पष्टीकरण पटक–पटक दिएका थिए ।

‘सचिवालय बैठकलगत्तै मैले प्रधानमन्त्रीजीलाई भेट्न खोजेको थिएँ । त्यही बेला तपाईं राष्ट्रपति कार्यालय जानुप¥यो भनेर महासचिवले भन्नुभयो,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने– ‘दुई अध्यक्षलाई बोलाउनुभएको हो । एकजना अध्यक्ष गइसक्नुभयो अब तपाईं पनि जानुप¥यो भनेपछि म जादिनँ भन्न पनि मिलेन । म अचानक गएको हो, कुनै योजना थिएन ।’ उनले राष्ट्रपतिसँग पार्टी एकताको विषयमा कुराकानी भएको भने नेताहरूसँग स्वीकार गरेका थिए । पार्टी फुट्न दिन्नौं भनेर सार्वजनिकरूपमा बोलेकै मात्र आफूले त्यहाँ बोलेको उनको स्पष्ट पारेका थिए ।

शनिबार सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास पुगेका थिए । सचिवालय बैठक बस्नु अगाडि प्रधानमन्त्री ओली र प्रचण्डबीच छफलफल भएको थियो । प्रचण्डको त्यो छलफललाई पनि नेताहरूले शंकास्पद रूपमा हेरेका छन् । त्यो भेटबारे पनि प्रष्टीकरण दिन प्रचण्ड बाध्य पारिए ।

उनले त्यस बिषयमा पनि प्रष्ट्याउँदै नेताहरूलाई भनेका थिए– ‘आफूलाई पाँच वर्षे कार्यकालभरि सरकार चलाउन सहयोग गरेमा ‘अर्ली’ महाधिवेशनबाट एकल अध्यक्ष बनाउन तयार रहेको प्रस्ताव प्रधानमन्त्री ओलीबाट आएको थियो, तर मैले त्यो कुरा पार्टीको बैठकमा छलफल हुनुपर्ने भनेर जवाफ दिएको थिएँ ।’

शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले पनि साथ दिएका थिए । बैठकमा ‘दुई अध्यक्षको चोचोमोचो नमान्ने’ भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका थिए ।