Goraksha

National Daily

किन भत्किरहेको छ सडक ?

खेमराज रिजाल/बालाराम खड्का
तुलसीपुर, ३ साउन । एकपटक कालोपत्रे गरेको सडकले कम्तीमा पनि एक दशकपछि मात्र आफ्नो निश्चित सेप लिन्छ, त्यसैअनुसार बायो इन्जिनियरिङलाई पनि राज्यका निकायले प्राथमिकतामा राखेका थिए ।

तर सरकारको बायो इन्जिनियरिङलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले समेत बेवास्ता गर्दा निर्माण सम्पन्न भएका पक्की सडकहरु समेत धमाधम भत्कन थालेका छन् । भत्कनुमात्रै समस्या होइन, प्राविधिकको उपस्थिति हुनु पनि जरुरी रहेको छ । बायो इन्जिनियरिङ र पहिलो ट्रयाक खोलेकै भरमा निर्माण भएका सडकहरु अत्यन्तै उकालो र ओरालोको अवस्थामा पनि रहेका छन् । यस्ता सडकमा आवागमनमा समस्या त छँदैछ, यससँगै पहिरोको पनि ठूलो समस्या देखिएको छ ।

बर्षा सँगसँगै पूर्व-पश्चिम राजमार्गको कहिले धानखोला त कहिले अमेलियालगायत सडकको स्तरोन्नति भएका र हुँदै गरेका सबै सडकहरुमा बर्षातको पानीसँगै पहिरोले सडक अवरुद्ध हुनुका साथै सडक पनि कुरुप हुने गरेको छ । राज्यले सडक स्तरोन्नतिमा बर्षेनी करोडौं रकम विनियोजन गर्छ तर बर्षातको भेलले कालोपत्रे सडक कतै बगाउने गरेको छ भने नयाँ कटिङ गरेको स्थानमा पहिरो खस्दा सडक नै क्षतविक्षत हुने गरेको छ ।

उपभोक्ता समितिमार्फत निर्माण हुने पक्की सडक होस् वा तीनै तहका सरकारले अनुगमन गर्ने योजना सबैमा यो समस्या देखिएको छ । समथर भूभागमा नालाविहीन सडक तथा पहाडी क्षेत्रमा मनोमानी मापदण्डमा सडक निर्माण हुँदा सडक भत्कने र पहिरो जाने समस्या देखिएको छ । तुलसीपुर-७ गुल्मचोकदेखि खर्चवा जाने बाटोमा पनि कुलोले सडक भत्काएको अवस्था छ ।

जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्र छिल्लीकोटमा नेपाल सरकार उद्योग मन्त्रालयको बजेटमा सडकको स्तरोन्नति हुँदैछ तर ठेकेदार र डोजर इन्जिनियरिङकै कारण कालोपत्रे गरेकै शुरु विन्दु दूधरासमा पनि गतिलो बाटो बन्न सकेको छैन, छिल्लीकोटमा कति स्लोपमा बाटो लग्ने हो, प्राविधिक र बायो इन्जिनियरिङको पाटो गुमनाम छ ।

उकालो-ओरालोको समस्यामा स्लोप मिलाउन नसकेको अवस्थासँगै भूवनोटका आधारमा पनि केही समस्या भएको निर्माण व्यवसायीले बताएका छन् । तर सडक निर्माणको स्वीकृति दिने निकायको निरन्तर अनुगमन भने शून्यप्रायः रहेको छ । तुलसीपुर उपमहानगरपालिका १७-१८ हेमन्तपुरबाट वनकट्टी हुँदै तुलसीपुर टरिगाउँ सडक योजना पनि त्यस्तै छ । त्यसैले पक्की गरेको एक महिनामै सडकैभरी खाडल पर्ने गरेका छन् । संघीय सरकारको ठेक्का प्रदेश सरकारलाई दिइएपछि सो सडकको गुणस्तर मापन गर्ने निकाय प्यूठानको चकचकेमा छ, सडक निर्माणको काम निर्माण व्यवसायीले अघि बढाइरहेका छन् । तर सरकारको सडकको गुणस्तरका विषयमा कुनै खवरदारी छैन ।

तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा एकजना इन्जिनियर र ओभरसियरसमेत खटाएको अवस्थामा पनि सडकको गुणस्तरको अनुगमन र नियमन हुनुपर्ने आवाज उठिरहेको छ । यो पछिल्लो अवस्थाले जिल्लाका धेरै सडक आयोजनाहरु नै धरापको अवस्थामा छन् ।

तुलसीपुर-रुकुम सडकखण्ड होस् वा कोइलावास सडकखण्ड नयाँ कटिङ गरेको पहाडमा पहिरो खसेर सडकको संरचना नै धरापमा पर्ने गरेको छ । यो कुनै एकठाउँमो मात्र होइन सबै स्थानको समस्या हो । सडक फराकिलो गराउन डोरज तथा स्काभेटर लगाउनुपर्ने र स्काभेटरले आधा पहाड काट्ने र बाटो फराकिलो गराउनुपर्ने पहाडी भूभागमा हुँदै आएको छ तर तराई तथा समथर स्थानमा भने सडकलाई समथर गराउन माटो फिलिङ गर्ने गरिएको छ ।

तर सडक वरपर बनाएका नालाहरु पहिरोले पुरिँदा तथा समथरमा फिलिङ गरेको माटो र जाली बगाउँदा कालोपत्रे सडक अत्यधिक बर्षापछि धरापमा पर्ने देखिएको छ । भर्खर काटेको पहाडमा पहिरो खस्दा कालोपत्रे बाटो नै धराप पर्ने गरेको छ । अत्यधिक पानीको बहावलाई सडक वरपर निर्माण गरेको नालाले धान नसक्दा सो पानी ओभरफ्लो हुँदा सडक पनि बगाउने समस्या रहेको विज्ञहरु बताउँछन् ।

त्यसलाई बचाउन बायो इन्जिनियरिङ गर्नुपर्ने भए पनि सोतर्फ कुनै पनि निकायको ध्यान जान सकेको छैन् । जसले गर्दा राज्य तथा स्वयं निर्माणको जिम्मा पाएको निर्माण कम्पनीलाई आर्थिक नोक्सानी हुने गरेको छ । दाङको कोइलावास सडकखण्डको पहाडमा दुई किलोमिटर बाटोमा पनि अहिले सो समस्या आएको छ । सडकको कटिङ गरेको पहाडबाट माटो खस्दा तथा जाली र नालासमेत बगाउँदा निर्माण कम्पनीलाई आर्थिक भार थपिनुका साथै कालोपत्रे सडक पनि धरापमा परेको छ ।

बर्षातअघि चिटिक्क परेको कालोपत्रे सडकभरी हाल माटो र ठूला-ठूला ढुंगाहरु खसेका छन् भने पानीले कालोपत्रे सडक नै बिगारेको छ । ‘अन्यत्र त्यस्तो समस्या छैन कोइलावासको बाटोमा पहाडी क्षेत्रमा अत्यधिक बर्षापछि पानीले पहिरो खस्दा नाला नै पुरिने र कतैकतै नाला नै बगाएको छ, निर्माणको जिम्मा पाएको कम्पनीका इन्जिनियर राजेन्द्र श्रेष्ठले भने ।

‘उनले अत्यधिक बर्षाका कारण यस्तो समस्या आएको बताए । उनले करिब दुई किलोमिटर कालोपत्रे सडकमा बर्षातको भेलले क्षति पुर्‍याएको बताए । त्यस्तै सोही सडकमा बर्षा शुरु हुनुअगाडि यात्रा गरेका स्थानीय आकाश वलीले बर्षातअघि बाटो धेरै राम्रो र आकर्षक देखिए पनि बर्षाले सबै बगाएको देख्दा आफू चकित भएको बताए ।

‘यति मेहनत गरेर गराएको सडक अहिले हेर्दा यस्तो देखियो’, उनले भने । त्यस्तै सडक निर्माणको काम गुनस्तरीय भए पनि नेपालमा सडक स्तरोन्नतिसँगै त्यसलाई बेलैमा बायो इन्जिनियरिङतर्फ ध्यान नदिँदा यस्तो हुने गरेको जानकारहरु बताउँछन् । राज्यले पनि सडक कसरी बनाउने भन्नेमात्र योजना बनाउँदा समस्या हुने गरेको बताएको छ । भविष्यमा आउन सक्ने जोखिमलाई मूल्यांकन गर्न नसक्दा राज्यको लगानी बालुवामा पानी हाले जस्तै हुने गरेको छ ।

बायो इन्जिनियरिङका लागि बजेटै छैनः सडक प्रमुख
थोरै रकमले धेरै काम गर्नुपर्ने बाध्यता भएका कारण यस्तो समस्या आउने गरेको बताएको छ । सडक निभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले थोरै रकममा धेरै काम गर्नुपर्ने बाध्यताले यस्तो समस्या आउने गरेको बताए । सरकारले बायो इन्जिनियरिङलाई सम्बोधन गर्नेगरी बजेट पठाएको अवस्थामा मात्र यो सम्भव हुने उनको अभिव्यक्ति थियो ।

धेरै योजनाहरुमा आफूहरुको नियमित अनुगमन र स्पटमै काम गर्ने कर्मचारी रहेको अवस्थामा पनि सडककको भविष्यलाई कसरी सुनिश्चित गर्ने सवालमा सरकारले भिन्नै बजेट नपठाएको पनि उनको अभिव्यक्ति थियो । मुलुक भूक्षयको संकटमा परिरहँदा सडकको भविष्य पनि त्यस्तै हो, तर सरकारले हामीलाई यस विषयमा भिन्नै बजेट नै दिएको छैन’, सडक डिभिजन प्रमुख निरजले भने ।

‘थोरै रकमले धेरै विकास गर्नुपर्ने हाम्रो परम्परा छ, बायो इन्जिनियरिङको कुरा त छँदैछ’, उनले भने । शाक्यले बायो इन्जिनियरिङमात्र गरेर नहुने भन्दै धेरै कुराको विचार पुर्‍याउनुपर्ने बताए । ‘तपाईहरुले भनेजस्तै यो पनि एउटा विकल्प हो तर यसमा धेरै कुराहरु छन्, त्यसमा बजेट पर्याप्त हँुदैन’, उनले भने । सीमित साधन स्रोतले मात्र बाटोको विकास गर्नुपर्ने भएकाले यस्तो समस्या आउने गरेको उनको भनाइ छ ।

उनले कृष्णभीरमा यस्तै समस्या आउने भए पनि त्यहाँ विभिन्न विधिहरु अपनाएर पहिरो नियन्त्रण भएको भन्दै अन्य स्थानमा पनि सो प्रविधिको विकास हुन जरुरी रहेकोे बताए । ‘रुख विरुवा रोपेरमात्र हुँदैन् सडकमा आउने पानी कसरी सडक बाहिर फाल्नेलगायत बायोसँगै सिभिल पनि आवश्यक छ’, प्रमुख शाक्यले भने ।

त्यस्तै तराईमा भने सबै पानी बाटोमै बग्ने समस्या रहेको बताए । ‘तपाईहरुले देख्नुभएको छ सबै पानी सडकमा बगेको हुन्छ सडक वरपर घरहरु निर्माण गर्नाले पनि सडक धरापमा परेको छ’, उनले भने- ‘यस्तो समस्या राजमार्गमा भएको छ ।’