घोराही-तुलसीपुर भाडा हजार
खेमराज रिजाल
तुलसीपुर, ३ साउन । बेमतलवको लकडाउन भन्दै यहाँ सर्वसाधारणलाई पनि पव्लिक यातायातको सुरुवात भएको छ । त्यसको भूमिका निजी प्रयोजनका लागि खरीद गरिएका कार, स्कार्पियो र अन्य त्यस्तै सवारी साधनले भूमिका निर्वाह गरिरहेका छन् ।
सरकार मूकदर्शक भइरहेको अवस्थामा सामाजिक दूरीको बेवास्ता गर्दै यी निजी प्रयोजनका सवारी साधनहरुले मान्छे ओसारिरहेका छन् । तुलसीपुर-घोराहीको भाडा एक हजार…। ‘अचम्मको सरकार ! बजार खुलाउने आदेश दियो तर यात्रुहरुलाई गाउँबाट आउने अवसरै भएन’, सिस्टमै छैन, के भरोसा ?’, तुलसीपुर उपमहानगरपालिका-१७ का स्थानीयबासी रामकुमार रिजालले भने ।
पछिल्लो समयमा लकडाउन खुकुलो भएपछि अटो व्यवसायी एवं निजी गाडीहरुले महंगो भाडा लिएर यात्रुहरुलाई ओसार-पसार गरिरहेको अवस्थामा पनि उजुरी गर्ने निकाय भने मौन छन् ।
राजनीतिक दल र नेताहरुको दबावमा केही शहरहरुमा सार्वजनिक यातायात चलेको अवस्था देखिए पनि तुलसीपुर-घोराहीमा यातायात सेवा दिन कुनै पनि प्रालि तयार छैनन्, किनकि सरकार पनि यातायात व्यवसायीसँगै यात्रुहरुलाई कहाँ चढाउने र कहाँ झार्ने सवालमा मौनप्रायः देखिएको छ ।
तर निजी गाडीहरुले भने मन मिल्ने र दिनेलाई आफ्नो पर्ता आउनेगरी यातायात सेवा दिइरहेका छन् । तर त्यो भाडा आम नागरिकको सहज यातायातका लागि भने उपयुक्त होइन ।
तुलसीपुरको मानसरोवर होटल अगाडि भाडाको बार्गेनिङ भइरहँदा स्थानीय प्रशासन, स्थानीय सरकार र सुरक्षा निकायसमेत बेखवर छ । केही दिनदेखि अटो रिक्साका तथा निजी स्कार्यियोले यात्रु ओसारिरहेको अवस्थामा पनि कहिँकतै चेकजाँच हुन सकेको छैन । किनकि सरकार पैसा हुनेहरुलाई सुविधा दिन मात्र उद्धत भएको यहाँका नागरिकहरुले बताएका छन् ।
‘तुलसीपुरबाट घोराहीको भाडा हजार भन्यो, पैसा नभएर चढिनँ’, तुलसीपुर उपमहानगरपालिका झिंगैका रवि शर्माले भने । उनको अभिव्यक्ति पैसा हुनेलाई जहाँ पनि यातायात सुविधा रहेको छ ।
यसैबीच पछिल्लो समयमा अटोरिक्सा एवं निजी गाडी पनि कमाईका लागि दौडधुप गरिरहेका छन् । सर्वसाधारणले समस्या भोगिरहे पनि पछिल्लो समयमा सरकारको नीति र नियमविपरीत जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर यात्रु ओसार्न तल्लिन छन् । तर सरकार अझै पनि सार्वजनिक यातायात सेवाका लागि अर्थपूणर् पहल गर्न सकेको छैन ।
यसैसाता सार्वजनिक यातायात : हमाल
यसैबीच यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार तथा त्रिशिद्धेश्वरी राप्ती समितिका अध्यक्ष सुरेश हमालले आउँदो साता सार्वजनिक यातायात सेवा चल्ने तयारी भइरहेको बताएका छन् । व्यवसायीको माग र चाहनाअनुसार नै यातायात व्यवसायीहरुको समन्वयमा आफूहरु लागेको बताउँदै सबै स्थानीय यात्रुहरुलाई समेत सम्बोधन गर्ने गरी यातायात सेवा सञ्चालनका लागि महासंघ तयारी रहेको बताए ।
आम यात्रुहरुलाई नियमितभन्दा बढी भाडा लिनेगरी यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरु तयार नरहेको भन्दै त्यसैका लागि सरकारसँग छलफल भइरहेको पनि उनले बताए । ‘सम्भवतः यही साउन दोस्रो सातादेखि सार्वजनिक यातायात चल्ने जस्तो छ, जुन यात्रुमैत्री गराउन र कोभिड संक्रमण न्यूनीकरणमा पनि पहल हुनेछ’, केन्द्रीय सल्लाहकार हमालले भने ।
