Goraksha

National Daily

क्वारेन्टाइन व्यवस्थापन र राहत वितरणमा खट्नेलाई सम्मान

दाङ, ३ साउन । घोराही उपमहानगरपालिका वडा नं. ४ ले क्वारेन्टाइन व्यवस्थापन, राहत वितरणमा खटिएका युवा, स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाहरुलाई कदर एवं सम्मान गरेको छ । वडा कार्यालयले कोरोना संक्रमण रोकथामका लागि सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापन एवं राहत वितरणमा खटिएका ८१ जना युवाहरु र १२ जना स्वास्थ्य स्वंयसेविकालाई कदर-पत्र र ७ वटा टोल विकास संस्थाहरुलाई सम्मान-पत्र प्रदान गरेको हो । वडाध्यक्ष भीमबहादुर सार्कीले कोरोना रोकथामका लागि गरिएका प्रयासमा रातदिन खट्ने र विपन्न परिवारहरुको घर-घरमा राहत पुराउने युवाहरुलाई कदर-पत्र र सहजीकरण गर्ने टोल विकास संस्थाहरुलाई सम्मान-पत्र प्रदान गरेका हुन् ।
लकडाउनको अवधिमा भारतबाट आई मावि गोग्ली, आधारभूत विद्यालय सुनपुर, आधारभूत विद्यालय सवारीकोट र प्रावि पालुथानमा सञ्चालन गरिएको क्वारेन्टाइनमा बसेका वडाबासीहरुलाई खाना तथा बसाई व्यवस्थापनमा युवा तथा टोल विकास संस्थाहरुले अहोरात्र खटेर सहयोग गरेका थिए । त्यसैगरी, लकडाउनमा दैनिक छाक बसेका विपन्न एवं मजदुरहरुलाई घरमै राहत पुराउन वडा कार्यालयलाई युवाहरु सहयोग समेत गरेका थिए । सम्मानित हुने टोल विकास संस्थाहरुमा सवारीकोटका पौरखी, मनकामना, जसपुरकोट, मूलगाउँ, कुशे, भदौरे र तारकेनी टोल विकास संस्थाहरु रहेका छन् । वडाध्यक्ष सार्कीले विपद्को समयमा भौतिक, नैतिक, खाद्य तथा आर्थिक सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिएका छन् । विपद्को सामना सबै मिलेरै गर्न सके मात्रै जीत हासिल हुने भन्दै उनले विकासमा पनि एकजुट भएर अघि बढ्न आह्वान समेत गरे । कदर तथा सम्मान-पत्र वितरण कार्यक्रममा तत्कालीन स्थानीय निर्वाचनमा वडाध्यक्षमा प्रतिस्पर्धी रहेका दामोदर शर्माले विपद्को समयमा पार्टीभन्दा माथि उठेर विपद्को सामना गर्नपर्ने दायित्व भएको बताए । साथै युवाहरु परिचालन गरी नमूना ढंगले क्वारेन्टाइन व्यवस्थापन र राहत वितरण भएकोमा आफू निकै खुशी भएको समेत उल्लेख गरे । वडा सदस्यहरु भीमबहादुर कुँवर, रचनी चौधरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नं. ४ का अध्यक्ष मुनाल घिमिरे, नेपाल कांग्रेस वडा नं. ४ का सभापति युवराज आचार्य, युवाहरु गिरबहादुर महरा, निरज पाण्डेलगायतले सहकार्य र एकताबाटै हरेक समस्याको व्यवस्थापन गर्न सकिने बताए । विपद्को घडीमा सबै मिलेर काम गर्दा समाजलाई सुरक्षित बनाउन सकेको भन्दै वक्ताहरुले आगामी दिनमा पनि एकताबाटै वडाको विकास गर्न सकिने उदाहरणको पुष्टि भएको बताए । वडाध्यक्ष भीमबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लिला गोतामेले स्वागत मन्तव्य राखेकी थिइन् भने सहजीकरण सामाजिक परिचालक हेमराज पौडेलले गरेका थिए ।