अनलाइन कक्षा बन्द, वैकल्पिक वातावरण माग
संस्थागत विद्यालयको ध्यानाकर्षण
गोरक्ष समाचारदाता
तुलसीपुर, २ साउन । निजी विद्यालयहरुका छाता संगठन प्याब्सन र एनप्याब्सनले केन्द्रीय निर्देशन अनुरुप संस्थागत विद्यालयहरुमा केही दिनदेखि सुरु गरिएका अनलाइन कक्षा पूर्णरुपमा बन्द गरिएको घोषणा गर्दै नयाँ शैक्षिक वातावरण निर्माणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
कोभिड–१९ को विश्वव्यापी महामारीसँगै केही महिनादेखि सुरु गरिएको अनलाइन तथा भर्चुअल कक्षाले नेपालका सबै भू–भागका विद्यार्थीहरुलाई समेट्न नसकेको निष्कर्षसहित सम्पूर्ण अनलाइन कक्षाहरु बन्द गर्न आफूहरु बाध्य भएको उल्लेख गर्दै एन प्याब्सन तुलसीपुर र प्याब्सन तुलसीपुर ईकाईले तुलसीपुर उपमहानगरपालिकामा वैकल्पिक शिक्षाको वातावरण मिलाउन ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
प्वाब्सन तुलसीपुर ईकाई अध्यक्ष गिरिराज डाँगी र एनप्याब्सन तुलसीपुर ईकाई अध्यक्ष शालिकराम डाँगीद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा कोभिड—१९ को कारणले तहसनहस भएको विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तकलगायत शिक्षण समाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथाशीघ्र मिलाउन आग्रह गरिएको छ ।
अनलाइन कक्षा र भर्चुअल कक्षाहरु वैकल्पिक शिक्षण पद्धति मात्र भएको र नेपाली समाजमा अहिले नै यो पद्धतिको पहुँच सबै विद्यार्थीहरुमा हुन नसक्ने यथार्थलाई मनन् गर्दै यस पालिकाभित्र यथासम्भव विद्यालयमा आवश्यक पूर्वाधार व्यवस्थापन गरी जोरबिजोर र आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई पठनपाठनको व्यवस्था गर्न पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी क्वारेन्टाइनका लागि विद्यालयहरुको प्रयोग भएको भए अर्को स्थानमा स्थानान्तरण गर्न तथा निर्मलीकरणको व्यवस्थापन गर्न पनि सम्बन्धित पालिकाको ध्यानाकर्षण गराइएको छ । सार्वजनिक बिदाहरु समायोजन गरी नयाँ शैक्षिक क्यालेण्डर बनाएर पठनपाठनलाई अघि बढाउन तथा शैक्षिकसत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका आधारमा एक महिनाको मासिक पढाई शुल्क छुट गरी अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्थाका लागि पनि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।
यसैगरी गत शैक्षिकसत्रको वक्यौता रकम उठाउन नसकेको र वि.सं २०७७ सालको कुनै पनि शीर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा शिक्षक कर्मचारीको उचित व्यवस्थापन मिलाउन पनि ध्यानाकर्षण गराइएको छ । साथै ध्यानाकर्षण पत्रमा घरजग्गा वहाल कर, व्यावसायिक करलगायत अन्य महशुलहरुमा छुटको व्यवस्था गर्न समेत आग्रह गरिएको छ । यस्तै ज्ञापनपत्र जिल्लाका सबै पालिकाहरुमा बुझाइएको एनप्याब्सन दाङका अध्यक्ष विमल गौतमले बताएका छन् ।
