आन्तरिक पर्यटनजस्तै रंगशाला
बन्दै स्विमिङ पुल र फुटबल स्टेडियम
राकेश बस्नेत
बेलझुण्डी, २ साउन । जग्गा स्वामित्व पाएको तीन दशकसम्म बेवारिसे अवस्थामा रहेको बेलझुण्डी रङ्गशालाको अहिले भने स्वरुप नै फेरिएको छ । अहिले बेलझुण्डी पुग्दा खेलप्रेमीहरुका आँखा रङ्गशालामा टक्क अडिन्छन् । स्थानीयवासीका लागि गाईबाख्रा चराउने थलो बनेको बेलझुण्डी रङ्गशाला भने अब साच्चिकै रङ्गशालाजस्तै देखिनथालेको छ ।
चारैतिर पर्खालले घेरिएको क्षेत्रबीचमा बनेको फुटबल खेल मैदान, मैदानको बीचौबीच छेऊ भागमा भिआइपी प्याराफिट, मैदानमा हरियो दुवो यो मनमोहक दृश्य हो, रङ्गशालाको । घोराही तुलसीपुर सडकखण्डको बेलझुण्डीमा रहेको रङ्गशालामा अचेल खेलाडीभन्दा तस्वीर खिच्नेको भीड नै लाग्ने गर्छ । दुई वर्ष अघि कसैको नजर नपुग्ने ठाउँमा अचेल धेरैको नजर पुग्ने गरेको छ ।
४ सय ६२ सिट क्षमता रहेको भिआइपी प्याराफिट निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका इञ्जिनियर आशकुमार रायले बताए । एथ्लेक्टिस ट्रयाक सहितको फुटबल मैदानमा भने आठौँ राष्ट्रिय खेलकुदका विभिन्न खेलहरु सम्पन्न भएका थिए ।
२४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँको लागतमा सेन्थेटिक एथ्लेक्टिस ट्रयाक, फुटबल मैदान, नाली निर्माण, भिआइपि प्याराफिट, मिडिया घर निर्माण र साधारण प्याराफिट निर्माण भएका ह्न् । वि.सं २०७५ असार ७ गते सम्झौता भई सम्झौताको ८ महिनाभित्र निर्माण कम्पनीले काम सम्पन्न गर्ने भए पनि राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रदेश एक्सपोका कारण काममा ढिलाई भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
असार महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरी राष्ट्रिय खेलकुद परिषद्लाई हस्तान्तरण गरिने निर्माण कम्पनी दिवा एमए प्रतिष्ठान कन्स्ट्रक्सन जेभी काठमाडौंका इञ्जिनियर रायले बताए । १५ विगाह क्षेत्रफल रहेको खेलकुद विकास समितिको जग्गामा गुरुयोजनाअनुसार अब फुटबल मैदान र स्विमिङ पुल निर्माण कार्य बाँकी रहेको कार्यालय प्रमुख शान्ति सोमईले बताइन् ।
निर्माण गरिएका संरचना हस्तान्तरणपश्चात विकास समितिले व्यावसायिक रुपमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि समेत शुल्क लिएर उपलब्ध गराउन सकिने कार्यांलय प्रमुख सोमईको भनाई छ । नेपाल संस्कृत विश्वविद्यालयले खेलकुद विकास समितिलाई २०४५ सालमा १५ विगाह जग्गा हस्तान्तरण गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा रहेको रङ्गशालाको जग्गा स्थानीयले अतिक्रमण गर्न थालेपछि दाङ जिल्ला खेलकुद विकास समितिले अतिक्रमण हटाउन पहल सुरु गरेको तत्कालीन खेलकुद विकास समितिका उपाध्यक्ष हिमबहादुर डाँगीले बताए । यता खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष डिल्ली डाँगीले गुरुयोजनाअनुसार बेलझुण्डी रङ्गशालामा स्विमिङ पुल र फुटबल स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले बजेट विनियोजन गर्न नसक्दा दाङको खेल क्षेत्रमाथि नै खेलवाड गर्न खोजेको आरोप लगाए ।
आफ्नो कार्यकालमा खेलकुद विकास समितिको जग्गा अतिक्रमण गरी बसेका २८ वटा घर, टहरा हटाइएको दाबी गरे । डाँगीले भने ‘जग्गा अतिक्रमण गरी बसेका घर, टहरा हटाएर चारैतिर पर्खाल लगाएका छौँ, अब कसैले अतिक्रमण गर्नसक्ने छैनन् ।’
अतिक्रमण हटाउन पहलै भएन
अतिक्रमित जग्गा हटाउने क्रममा स्थानीयबाट असहयोग भएका कारण काम गर्न निकै कठिनाई उत्पन्न भएको डाँगीले बताए । घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरमा रहेको खेलकुद विकासको ४५ बिगाह जग्गामा भएको अतिक्रमण हटाउने प्रयास गरे पनि सार्थकता प्राप्त गर्न नसकिएको बताए । रामपुरमा रहेको जग्गा अतिक्रमण हटाउनका लागि राष्ट्रिय खेलकुद परिषद्का योजना प्रमुख, मन्त्रालयबाट सहसचिव सहितको टोलीलाई पु¥याउँदा पनि कुनै पहल नगरिएको डाँगीले बताए ।
अतिक्रमित जग्गामा पक्की घर, टहरा बनाएर बसेका छन् भने प्लटिङ गरेर जग्गा विक्री गरेको प्रमाण फेला परेको छ । अतिक्रमित क्षेत्रमा ३० घर बनेका छन् । पटक–पटक राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वसँग अतिक्रमित जग्गामा खेलकुद ग्राम बनाउन र खेल प्रशिक्षण केन्द्रका रुपमा विकास गर्नका लागि पहल गरिएको डाँगीले बताए ।
यता दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जिल्लामा खेलका भौतिक संरचना बन्नु राम्रो कार्य भएको बताए । ‘ऐलानी, पर्ती जग्गा अतिक्रमणको चपेटामा परेका छन्, यो अवस्थामा ती जग्गा खेल मैदान हुनु खेलाडीका लागि सुखद् कुरो हो’ पुनले भने ।
