माग पूरा नभए सवारी साधनको चाबी बुझाउने
दाङ, १ साउन । साउन ७ गतेसम्म आफ्ना माग पूरा नभए यातायात व्यवसायीहरुले सवारीका साधनका चावी राज्यलाई बुझाउने बताएका छन् । यसअघि साउन १ गतेदेखि भनिए पनि बन्दा–बन्दीको समय साउन ७ गतेसम्म रहेकाले साउन ७ गतेसम्म आफ्ना माग पूरा नभएमा ८ गतेदेखि सवारी साधनका चावीहरु जिल्ला प्रशासन कार्यालय दाङमा बुझाउने जनाएका छन् ।
जिल्लामा रहेका १४ वटा यातायात प्रालिहरु तथा जिल्ला समन्वय प्रदेश केन्द्रीय सदस्य मजदुर संघ, संगठनले संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्रसमेत बुझाउँदै यस्तो चेतवानी दिएका हुन् । लकडाउनको कारण आफूहरुले बैंकबाट ऋण लिएको किस्ता तथा व्याजको रकम समयभित्र बुझाउन नसकिएको भन्दै लकडाउनको समयको व्याज मिनाहा गरी किस्ता तिर्ने समय, जति लकडाउन भयो त्यति समय थपिदिनुपर्ने, बन्दाबन्दीमा थन्किएका गाडीहरु सुचारु गरी सञ्चालनमा ल्याउनका लागि प्रत्येक सवारी साधनका धनीहरुलाई करिब २ लाख रुपैयाँ सहुलियत दरमा ऋण दिन ज्ञापन–पत्रमा माग गरिएको छ ।
सार्वजनिक यातायातका सवारी साधनमा काम गर्ने मजदुरहरुलाई बन्दाबन्दीको समयको लागि मासिकरुपमा उचित रकमको व्यवस्था गरिनुपर्ने माग राखेका छन् । अहिलेको अवस्थामा गाडी सञ्चालन गर्नु पर्दा भौतिक दूरी कायम गर्नुपर्ने, गाडी सेनिटाइजर गर्ने, श्रमिकहरुलाई स्वास्थ्य सुरक्षा सामग्री र श्रमिक बीमासमेत गरी हाल गाडीका पाटपूर्जाको अत्यधिक मूल्य वृद्धि भएकाले गाडी सञ्चालन गर्नुपर्ने भएकाले यसको समुचित व्यवस्था मिलाउन सकारसँग माग गरेका छन्् ।
अहिलेको कोभिड–१९ ले भन्दा पनि भोकमारीको कारणले मर्नुपर्ने अवस्था आएको ज्ञापन–पत्रमा उल्लेख छ । ज्ञापनपत्र वुझाउनेहरुमा जिल्ला समन्वय अध्यक्ष भरतनाथ योगी, नेपाल यातायात व्यवसायीका प्रदेश नं ५ का केन्द्रीय सदस्य ज्ञानबहादुर बस्नेतलगायत जिल्लामा रहेका १४ वटा यातायात प्रालि तथा जिल्ला समन्वय, प्रदेश केन्द्रीय सदस्य मजदुर संघ, संगठनको सहभागिता थियो ।
