Goraksha

National Daily

हरियो चुराको माग अत्यधिक

बालाराम खड्का
तुलसीपुर, १ साउन । साउन महिला हिन्दु नारीहरुका लागि विशेष महिनाको रुपमा लिइन् छ । यो महिनामा अधिकांश नारीहरु हातभरी हरिया चुरा, हत्केलामा मेहन्दी र गलामा हरियो पोते लगाएर हिँड्ने गरेको देखिन्छ । साउनको पहिलो दिन बजारमा पनि हरिया चुरा र हल्केलामा मेहन्दी लगाएका धेरै नारीहरु देखिएका थिए ।

त्यस्तै केही नारीहरुले भने बजारका चुरा पसलहरु र श्रृंगार पसलहरुमा किनमेल गरिरहेका थिए । पतिको दीर्घायुको कामनासहित साउनका सोमबार नारीहरु शिवजीलाई प्रशन्न बनाउन पानी समेत नखाई व्रत बस्ने गर्छन् । प्रेम, वर्षा र झरीको संगम साउन महिना धार्मिक हिसाबले पनि हिन्दु नारीहरुको लागि अर्को महत्व महिनाको रुपमा पनि लिने चलन छ । त्यस्तै साउनको पहिलो दिन बिहीवार कस्मेटिक पसल, चुरा पसलहरुमा मेहन्दी, हरियो तथा पहेलो चुरा लगाउनेको भीड नै थियो ।

हरियो वस्त्र, हरियो चुरा, हरियो पोते, हत्केलामा मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दू संस्कार, संस्कृतिप्रतिको विश्वास अझ जिवितै रहेको जानकारहरु बताउँछन् । ‘हरिया चुरा लगाउनुका धार्मिक एवं संस्कृतिका महत्व थाहा छैन् तर हामीहरुले बाल्यकालदेखि लगाउँदै आएका छौं’, स्थानीय अधुना खड्काले भनिन्– ‘ आफूजस्तै अन्य धेरै महिलाहरुले साउन महिना भरि हरिया चुरा र मेहन्दी लगाउने गरेका छन् ।’ यो महिना ब्रत बस्नाले विवाहित नारीले आफ्नो श्रीमानको दीर्घायुको कामना र अविबाहित नारीले असल श्रीमान प्राप्त गर्ने विश्वास छ ।

अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने नारीहरुले महत्व दिएर चुरा र कपडा लाउने गरेको चन्दा वलीले बताइन् । त्यस्तै यस बर्ष अन्य बर्षभन्दा धेरै हरियो चुरा र पोते बिक्री भएको गोल्डेन श्रृंगार पसलका सञ्चालक वहिद सिद्धिकीले जानकारी दिए ।

लकडाउनका कारण सबै महिलाहरु जिल्लामा भएका कारण गत बर्षको भन्दा धेरै चुरा बिक्री भएको उनले बताए । उनले मागअनुसार चुरा पु¥याउन नसकेको बताए । ‘हिजोसम्म बिहानदेखि बेलुकीसम्मै फुर्सद थिएन यो समय त चुरा व्यापारीलाई तिहार जत्तिकै हुन्छ, महिलाहरुको भीड नै लाग्छ’, उनले भने ।

उनले लकडाउनका कारण भारतबाट चुरा नआएका कारण हाल बजारमा हरियो चुराको अभाव भने देखिएको बताए । ‘मसँग हरियो चुरा अभाव छ, यहीँबाट थोकमा लिएर अरुले पनि बिक्री गर्ने गरेका थिए तर चुरा छैन्’, उनले भने । त्यसैगरी कस्मेटिक पसल सञ्चालन गर्दै आएकी शारदा केसीले पनि यस बर्ष हरियो चुराको माग अत्यधिक भएको र पु¥याउनै नसकिएको बताइन् । मागअनुसार हरियो चुरा अभाव भएको बताइन् । ‘लकडाउनले होला चुराको अभाव देखिएको छ, माग धेरै थियो, पु¥याउनै सकिएन’, उनले भनिन् ।

सामान्य अवस्थामा चुराको व्यापारमा घाटा हुने गरे पनि यो समयमा धेरै बिक्री हुनाले केही नाफा हुने व्यवसायीहरु बताउँछन् । साउनमा हरियो चुराका साथमा रातो र पहेँलो चुरा मात्र भएर पोते, मेहन्दीहरुको पनि प्रशस्त माग भएको व्यापारीहरु बताउँछन् । रातो, पहेँलो, हरियो रंग मिसिएका पोतेहरु र अन्य कस्मेटिकका सामान विशेषगरी किन्न आउने र चुरा अभाव भए पनि मेहन्दी र अन्य चुराहरु भने प्राप्त रहेको व्यवसायीहरु बताउँछन् ।