लाग्यो साउन : हरियो रङ्गको बहार
देवराज भण्डारी
दाङ, १ साउन । साउने संक्रान्तिमा बजार कोरोनामुक्तजस्तो देखियो । भीडभाड तुलनात्मक रूपमा बढी नै थियो । तुलसी रोप्ने एकादशीदेखि हिन्दूहरूको पर्वको दिन शुरु भएको मानिन्छ । साउने संक्रान्तिलाई पनि त्यही पर्वको सूचिमा राखेर मनाउने प्रचलन रहेको छ ।
पछिल्लो समयमा यो पर्वलाई हरियो रङ्गसँग जोडेर मनाउने पनि गरिन्छ । असार मसान्तमा मेहंदी लगाउने र त्यही मेहन्दीबाट सिंगारिएको हातामा हरिया चुरा लगाई साउन भर निरन्तरता दिने गरिन्छ । साउने संक्रान्तिको दिनमा हरिया चुरा र हरिया लुगा किन्नेहरूको भीड बजारमा बाख्लो देखिएको हो ।
‘कोरोनासँग कति डराउनु अब ? पर्व त मनाउनु प¥यो नि’ घोराहीमा हरियो चुरा किन्दै गरेकी धर्नाकी सुनिता वलीले भनिन्– ‘गाउँबाट धेरै जना साथी–साथी भएर बजार खेल्न आएका छौं ।’ सुनिताले भनेझैं यसरी समूह नै बाँधेर ‘बजार खेल्न आउनेहरू’ले गर्दा बजार भरिभराउ देखियो । कपडा पसलहरूमा पनि हरियै कपडाको खोजी भयो भने चुरा पसलमा त पालो कुर्नैपर्ने अवस्था देखियो ।
‘साउनमा हरियो रङ्ग लगाउने हो भने श्रीमानको आयु बढ्छ भन्छन् क्यारे’, हापुर बिजौरीबाट घोराही आएकी लक्ष्मी न्यौपाने भनिन्– ‘आयु बढ्ने–नबढ्ने कुरामा विश्वासभन्दा पनि सधै साउनमा हरिया लुगा, चुरा र पोते लगाएर यसै गरी रमाउने गर्छौ ।’ व्यापारीहरूले पनि साउनमा हरियो रङ्गको खपत बढी हुने भएकाले त्यसको तयारी गरेका छन् ।
‘साउनका अरू रङ्गका चुरा पोते बिक्दैनन् त्यसैले यही नै अहिलेक बेच्दैछु’, ग्राहकहरूसँग व्यस्त देखिएका चुरा पोतेका व्यापारी गोबद्र्धन श्रेष्ठले भने– ‘कोही–कोहीले हरियोमा खुल्छ भनेर पहेलो रङगको चुरा पोते पनि अलि–अलि लिने गर्दछन् ।’
कोरोनाका कारण साउनमा हरियोको व्यापार अघिल्ला बर्षहरूमा जस्तो भने नहुने व्यापारीहरूको अनुमान छ । ‘बन्दका कारण हामिले धेरै आइटमका माल ल्याउन सकेनौं अनि मान्छेहरू पनि कोरोनाका कारण कमै आउलान्’, श्रेष्ठले भने– ‘त्यसकारण अघिल्लो बर्षको जत्तिको व्यापार हुँदैन होला ।’ त्यसो त साउनमा हरियो रङ्ग र धर्मको बीचमा खासै सम्बन्ध छैन ।
तर साउनलाई हरियो महिनाका रूपमा बुझ्दै आएका कारण हरियो रङ्गप्रतिको आकर्षण देखिएको हो । ‘अब यो संस्कृति बनिसक्यो’, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतम भन्छन्– ‘प्रेम, सद्भाव र प्रक्रितिको सम्मानका रूपमा हरियोप्रतिको आकर्षण बढेको हो ।’ घोराही मात्रै हैन, दाङका मात्र पनि हैन, देशभरका बजारहरूमा हरियो रङ्गको व्यापार व्यापकरूपमा भइरहेका तस्विरहरू सामाजिक सञ्जालमा समेत देखिइरहेका छन् ।
